यसरी शताब्दी पुरुष

यसरी शताब्दी पुरुष

डा. सत्यमोहन जोशी हाम्रा गौरव थिए। सकारात्मक शैली उनको जीवनको सबैभन्दा महत्त्वपूर्ण पाटो थियो। उनी जे कुरा पनि सहज पाराले अवलम्बन गर्थे। उनको जीवनमा जतिसुकै हुरीबतास आए र जतिसुकै खुसीयाली छाए पनि ती बेहोरालाई सजिलो पारामा ग्रहण गर्ने उनमा नैसर्गिक शक्ति रहेको थियो।

शताब्दी पुरुष किन ?

जोशी कर्मवीर, ज्ञानवीर र धर्मवीर थिए। जतिसुकै हावाहुरीले पनि उनलाई उडाएन। जतिसुकै गहिरो पानीले पनि उनलाई डुबाएन। जतिसुकै आँधीबेहरी र भुमरीले पनि उनलाई छोपेन। अन्ततः १०३ वर्षसम्मको जोशीको नेपाली धरामा लगानी सधैंका लागि सुरक्षित भइरह्यो। नेपाली वाग्देवीमा उनले समर्पण गरेको सुकीर्तिले नै उनी नेपाली वाङ्मयका अक्षरमा सधैं, सधैं र सधैं अटल भइरहे।

जोशी कट्टर नेपालवादी थिए। उनको दिगो संसार नै नेपाल मात्र मानिन्थ्यो। नेपालले चाहिँ उनको सही मूल्यांकन गरेको थिएन। अनि तिनै महान् व्यक्तिका लागि ‘शताब्दी पुरुष’को परिकल्पना गरेको थिएँ। जोशीलाई ‘शताब्दी पुरुष’का लागि रोज्नुपर्ने अनेक कारण थिए। त्यस उपाधिका लागि उनको चयन गर्नुपर्ने मुख्य कारण के थियो भने– ‘उन्नाइसौं शताब्दीबाट आरम्भ भएको नेपाली भाषासाहित्यको लेखनयात्राले दुई शताब्दीको सेरोफेरो ढाकेको सन्दर्भमा वाङ्मयिक संस्कृतिको सुकीर्ति फैलाउने, नेपाली संस्कृतिका धरोहर र यस शताब्दीका शीर्षस्थ स्रष्टा जोशीको सफल यात्राको हार्दिक कदर गर्दै ‘वाङ्मय शताब्दी पुरुष’को उपाधि समर्पण गर्न वाञ्छनीय थियो। यस कदमप्रति नइ जागरूक भइरह्यौं। अनि यस अभियानलाई पार नलगाइन्जेल यसैमा केन्द्रित पनि भयौं।

सरकारले पत्याउनैपर्ने शताब्दी पुरुष 

जोशीले नेपाली वाङ्मयका लागि अनगिन्ती काम गरे। उनी नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको सहसदस्य र सदस्यसचिवसमेत भए। उनी त्यहाँ रहँदा उनले इतिहासमा नै कसैले नगरेको अनेक कार्य गरे। राजा महेन्द्र बाँचुन्जेल जोशीले आफ्नो सिर्जनात्मक र संगठनात्मक शक्ति देखाइरहे।

राजा महेन्द्रको निधनपछि जोशीकै सम्पादनमा एक हजार पृष्ठको ‘महेन्द्र स्मृति ग्रन्थ’ नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानले प्रकाशनमा ल्यायो। राजा महेन्द्रलाई सग्लो रूपमा चिनाउने किताब नै त्यही भयो। राजाका लागि जनताले त्योभन्दा थप अरू गर्ने ठाउँ केही थिएन। तर, राजा वीरेन्द्रले उनलाई कहिल्यै हेरेनन्। उनलाई जतिसुकै कष्ट भए तापनि राजाका कानमा त्यो बेहोरा कहिल्यै पुगेन। उनी आर्थिक कारणले डुब्न लाग्दा पनि राजाले त्यो देख्तै देखेनन्।
जोशी कट्टर नेपालवादी थिए। उनको दिगो संसार नै नेपाल मात्र मानिन्थ्यो। नेपालले चाहिँ उनको सही मूल्यांकन गरेको थिएन।

नेपालमा बहुदल र गणतन्त्र आए पनि जोशीको मूल्यांकन गरिदिने कोही देखा परेनन्। सरकार हाँक्नेले जोशीको साक्षात् उचाइको चाल नै पाएनन्। कतिसम्म भने २०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री थिए। डा. मोदनाथ प्रश्रित र म जोशीको विषय लिएर नेपाललाई भेट्न गयौं। जोशीलाई नेपाल प्रज्ञाप्रतिष्ठानको कुलपति बनाइदिन अनेक तर्क दिएर नेपालसँग आग्रह गर्‍यौं। त्यसै बेला प्रधानमन्त्रीले जवाफ दिएका थिए– ‘संस्कृतिमन्त्री नेपाली कांग्रेस दलका मिनेन्द्र रिजाल हुनुहुन्छ, त्यसैले कुलपति कांग्रेसका भागमा परेको छ।

वैरागी काइँलाको नाम आइसकेको छ।’ त्यसपछि तुरुन्तै रघु पन्त बोले– ‘हाम्रो कोटामा उपकुलपतिको पद परेको छ, त्यसमा हामीले गंगाप्रसाद उप्रेतीलाई छानिसकेका छौं।’ भोलिपल्ट जोशीलाई प्रधानमन्त्रीसँग भएका सबै कुरा बताइदिएँ। त्यसबेला जोशीले उत्तर दिए– ‘भैगो अब यस्तो काममा तपाईंहरू नलाग्नुहोस् ! यहाँ यसरी नै पार्टीका मान्छे नै आउँछन्, जान्छन्।’

त्रिमूर्ति निकेतनबाट शताब्दी पुरुष

जोशीलाई राजतन्त्रदेखि गणतन्त्रसम्मले त्यति भाउ दिएको थिएन। त्यही कारणसमेत जोडेर उनलाई सिंगो हीरा, मोती र जुहारतले सिँगार्न खोजेको थिएँ। अनि मेरो धेरै वर्षको चिन्तनको निष्कर्ष नै ‘वाङ्मय शताब्दी पुरुष’ थियो। २०७१ सालमा नइको संयोजनमा त्रिमूर्ति निकेतनबाट एउटा विशेष कार्यक्रम भयो। त्यही समारोहमा उपप्रधानमन्त्री वामदेव गौतमको प्रमुख आतिथ्यमा पाँच लाख रुपैयाँ खामेर 
जोशीकै उचाइको ताम्रपत्रसहित जोशीलाई ‘शताब्दी पुरुष’को उपाधि समर्पण गरेका थियौं।

‘शताब्दी पुरुषको उपाधिबाट जोशी अति नै खुसी भए। मैले ‘शताब्दी पुरुष सत्यमोहन जोशी’ नामक उनको जीवनीकृति पनि लेखेको थिएँ। त्यस कृतिमा उनी आफैंले भूमिका लेखे– ‘जीवनी लेखनमा सिद्धहस्त नरेन्द्रराज प्रसाईद्वारा मेरो जीवनीबारे लेखिएको ‘शताब्दी पुरुष सत्यमोहन जोशी’ नामक कृति स्वयं मेरै निमित्त एकातिर शाब्दिक अर्थमा आफ्नो अनुहार आफैंले नियालेर हेर्न सकिने ‘ऐना’ भइदिएको छ भने अर्कातिर लाक्षणिक अर्थमा मेरै अनुहारभित्रको आफूलाई उतारेर देखाइदिने ‘एक्स–रे’ नै बनेको छ।’ मैले लेखेको यस कृतिलाई जोशीले जीवनको औपचारिक अभिलेखका रूपमा ग्रहण गरे। सोही जीवनीकृति उनका जेठा छोरा अणुराज जोशीले ‘सेन्चुरी पर्सन’ लेखेर अंग्रेजी भाषामा अनुवाद गरे। उक्त कृति शताब्दी पुरुषबाटै लोकार्पण भएको थियो।

शताब्दी पुरुषमाथि बक्रीसोच 

नेपाल भाषा एकेडेमीद्वारा २०७२ सालमा जोशीकृत ‘अरनिकोकृत श्वेत चैत्य’ महाकाव्य लोकार्पण भयो। त्यतिखेर प्रमुख अतिथि प्रधानमन्त्री केपी (खड्गप्रसाद) शर्मा ओलीले त्यहीँ छेउमा बसेका जोशीलाई हेर्दै भाषण गरेका थिए– ‘शताब्दी पुरुष भनेको के हो ? यो शब्द कहाँबाट आयो ? मैले शताब्दी पुरुषको अर्थ बुझेको छैन।’ प्रधानमन्त्रीले यस्ता शब्द ओकलेर जोशीलाई पनि लाजमर्दो पार्न खोजेका थिए। प्रधानमन्त्रीको भाषण सुनेर त्यसबेला मञ्चमा बसिरहेका जोशी केही खिस्रिक्कै देखिन्थे भने म पनि थुक निलिरहेको थिएँ।

म घरीघरी जोशीलाई भनिरहन्थें– ‘हेर्दै जानु नि दाइ ! म तपाईंलाई राज्यस्तरबाटै ‘शताब्दी पुरुष’ नबनाई मर्दिनँ। तर यति हो यो उपाधि लिन तपाईंले बाँच्नु चाहिँ पर्छ।’ उनलाई मेरो कुरामा पूर्ण विश्वास पनि थियो। किनभने नइकै पहलमा माधव घिमिरेले राज्यबाट ‘राष्ट्रकवि’को उपाधि पाएका थिए।

शताब्दी पुरुषलाई सरकारी संरक्षण

जोशीलाई त्रिमूर्ति निकेतनले ‘शताब्दी पुरुष’को उपाधि समर्पण गरेपछि उनी बिरामी परे। उनी बयोधा अस्पतालमा भर्ना भए। उनी भर्ना भएकै साँझ नइ त्यहाँ पुग्यौं। उनी जनरल वार्डमा पल्टिरहेका थिए। त्यसै घडी अस्पतालबाटै उपप्रधानमन्त्री वामदेव गौतमलाई फोन गरें। केहीबेरमै गौतम अस्पताल आइपुगे। उनले भने– ‘शताब्दी पुरुषको उपचारका लागि लाग्ने सम्पूर्ण खर्च सरकारले बेहोर्छ।’ त्यसपछि जोशीको भीआईपी उपचार सुरु भएको थियो। सरकारले सम्पूर्ण खर्च पनि बेहोरिदियो।

वाङ्मय शताब्दी पुरुषको घोषणा

नइ प्रकाशन र त्रिमूर्ति निकेतनको पहलमा जोशीलाई ‘वाङ्मय शताब्दी पुरुष’ घोषणा गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पुग्योे। ‘सत्यमोहन जोशी शताब्दी महोत्सव’का संयोजक प्रा.डा. उषा ठाकुरका साथै त्रिमूर्ति निकेतन र नइका पदाधिकारी यस कार्यलाई सफल पार्न दौडधुपमा थियौं। यस अभियानमा मोदनाथ प्रश्रितदेखि दिनानाथ शर्मासम्मको भूमिका थियो। अन्ततः जोशीलाई ‘वाङ्मय शताब्दी पुरुष’ घोषणा गर्नेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि मञ्जुर भए। अनि मन्त्रिपरिषद्बाट जोशीलाई ‘वाङ्मय शताब्दी पुरुष’को उपाधि प्राप्त भयो।

२०७४ वैशाख २१ गते डा. सत्यमोहन जोशी सरकारी लाहाछापद्वारा ‘वाङ्मय शताब्दी पुरुष’को उपाधिबाट विभूषित भए। त्यसपछि उनले सार्वजनिक सभामा भन्न थाले– ‘नइ नभए म बाँच्ने थिइनँ। नइले मेरो शरीरलाई पनि बचायो। कर्मलाई पनि बचायो। यस जुनीमा फेरि मलाई अब केही चाहिँदैन। म वाङ्मय शताब्दी पुरुष भएँ, अब मलाई पुग्यो।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.