सर्वसाधारणलाई ठगी गर्ने 'सत्या लकी ड्र' का सञ्चालक प्रहरीको फन्दामा
महोत्तरी : चिट्ठामार्फत हजारौलाई ठगी गर्ने गौशाला नगरपालिका-४ का ३५ वर्षीय लालबाबु साहलाई प्रहरीले पक्राउ गरेको छ।
साह लगायतले गौशालामा 'सत्या लक्की ड्र' सञ्चालन गरेर हजारौ सर्वसाधारणलाई प्रत्यक्ष रूपमा ठगी गरेको भन्दै साहलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो।
प्रहरी प्रशासनको अनुमतिबिना चिट्ठाको नतिजा खोल्ने क्रममा हुल भएको थियो। सोही क्रममा अवस्था अनियन्त्रित भएपछि घटनास्थलमा पुगेको प्रहरीको टोलीले साहलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।
निर्धारित समयमा गौशालाको कबर्ड हल समयमै प्रहरी पुगेर अवस्था समान्य बनाउनुको साथै सञ्चालक साहलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक रन्जन मिश्रले बताए।
२५१ रूपैयाँमै चिट्ठाको रसिद कटाएपछि मोटरसाइकल, मोबाइल लगायतका घरायसी सामान उपहारको लोभ देखाएर ती समूहले दश हजार बराबरको रसिद बिक्री गरिएको प्रहरीले जनाएको छ।
प्रहरीको नियन्त्रणमा रहेका साहउपर कानुन अनुसार कारवाही प्रक्रिया सुरु भएकाले सर्वसधारणहरूले न्याय पाउनेमा मिश्रले विश्वास दिलाएका छन्।
सो कार्यमा संलग्न अन्य दुई जना फरार रहेकाले उनीहरूलाई पनि कानुनी दायरामा ल्याएर कारवाही गरिने प्रहरी निरीक्षक मिश्रले जानकारी दिए।
इलाका प्रहरी कार्यालय घेराउ
ठगीमा परिएकोहरूले न्यायको माग गर्दै इलाका प्रहरी कार्यालय गौशाला घेराउ गरेका छन्। उनीहरूले ती समूहबाट न्याय दिलाइदिनका लागि माग गर्दै केही बेर प्रहरी कार्यालय घेराउ गरेका थिए।
प्रहरीले उनीहरूलाई सम्झाएर पठाएपछि अहिले अवस्था सामान्य रहेको छ।
प्रतिक्रिया दिनुहोस !