झापामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु
झापा : झापामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका-२ निवासी २१ वर्षीय सुकलाल राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार हल्दिबारी पारखोपी सडक खण्ड अन्तरगत हल्दिबारी-२ स्थित रामलाल चोक नजिकै आइतबार साँझ ६:१५ मिनेटमा मे ५ प २१६१ नम्बरको मोटरसाइकलले मे ६ प ४१०३ नम्बरको मोटरसाइकललाई पछाडिमा ठक्कर दिएको थियो। दुवै मोटरसाइकल पाराखोपीदेखि हल्दिबारी बजारतर्फ गइरहेका थिए।
तीव्र गतिमा रहेको मे ५ प २१६१ नम्बरको मोटरसाइकलको पछाडि सवार राजवंशीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
सो मोटरसाइकलमा दुई जना सवार थिए, भने अर्को मोटरसाइकलमा तीन जना सवार थिए। यता हल्दिबारी प्रहरी चौकीले दुवै मोटरसाइकलसहित अन्य चार जनालाई नियन्त्रणमा लिएर घटनाका बारेमा अनुसन्धान गरिरहेको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस !