झापामा विद्यार्थीले गरे नमुना मतदान
झापा : झापामा गरिएको नमुना मतदान अभ्यासमा विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका छन्।
आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी जिल्ला निर्वाचन कार्यालय झापाले बिहीबार भद्रपुर- ७ स्थित वीरेन्द्र माविमा नमुना मतदान अभ्यास गरेको हो।
मतदानमा सोही विद्यालयमा अध्ययनरत कक्षा १० का छात्रछात्राले नमुना मतदान गरेका थिए।
'पहिलो पटक यसरी मतदान गर्न पाउँदा खुसी छु, यसले केही कुरा सिक्ने अवसर मिल्यो,' विद्यार्थी विक्रम राजवंशीले भने, 'अहिले त म विद्यार्थी हो, 'मतदाता नामावलीमा नाम छैन, मतदाता भएपछि भोट दिन अब सहज हुन्छ।'
निर्वाचनको बेला तयार गरिने सोही अनुसारको सुरक्षित मतदान केन्द्र निर्माण गरी विद्यार्थीहरूलाई नमुना मतदान गराइएको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए।
नमुना मतदानमा विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाउँदै उनले भने, 'यस नमुना मतदानले आम मतदाताहरूलाई सन्देश मूलक सूचना प्रवाह हुने विश्वास लिएको छु।'
बिहीदेखि सुरु गरिएको नमुना मतदान अभ्यास जिल्लाका १५ वटै पालिकामा सञ्चालन गरिने उनले बताए।
शुक्रबारदेखि जिल्लाका १३१ वटै वडामा महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरी मतदाता शिक्षा कार्यक्रम समेत सञ्चालन गर्न लागेको उनले बताए।
निर्वाचनमा खटाइने कर्मचारीको नामावली तयार भइसकेको बताउँदै उनले भने, 'अबको केही दिनभित्रै छनौटमा परेका कर्मचारीहरूलाई तालिम दिइनेछ।'
प्रतिक्रिया दिनुहोस !