रक्तदानबाटै समाजसेवा
काठमाडौं : अधिकांश युवाको चाहना हुन्छ– १२ कक्षा पास गरेपछि उच्च शिक्षाका लागि विदेश जाने। स्वदेशमा रोजगारी र भविष्य नभएको भन्दै युवाको रोजाइमा विदेश नै हुने गर्छ। पर्वत कुश्माका सन्देश सुवेदीको सोच भने अलि भिन्न छ। स्वदेशमैै बसेर समाजसेवा गर्ने उनले योजना छ। उनले रक्तदान गरेर समाजसेवाको अभियान सुरु गरेका छन्।
२०६९/०७० सालतिर सुवेदी कक्षा ६ मा पढ्थे। आमालाई ब्रेन ट्युमर भयो। उपचारका लागि रगत चाहियो। तर खोज्दा रगत भेटेनन्। रगतको अभाव थियो। त्यसपछि उनलाई रगतको महत्त्वबारे बोध भयो। केही समयपछि आमाको निधन भयो। आमाकै सम्झनामा उनले रक्तदानबाट समाजसेवा गर्ने योजना बनाए।
‘ममी (आमा) को ब्रेन ट्युमरको अपरेसन गर्न अत्यधिक रगत चाहिएको कुरा त्यसबेला बाबाले बताउनु भएको थियो,’ सुवेदी भन्छन्, ‘रगतको व्यवस्थापन गर्न निकै गाह्रो भएको थियो।’ त्यो घटनाले नै आफूलाई रक्तदान गर्न प्रेरणा मिलेको उनले सुनाए। रक्तदानलाई उनले साइकल यात्रासँग जोडेर अघि बढाएका छन्।
विश्व साइकलयात्री अजित बरालसँगको भेटपछि साइकल यात्रासँगै रक्तदान कार्यक्रम गर्ने सोचको विकास भएको उनी बताउँछन्। स्वास्थ्यका दृष्टिकोणले पनि साइकल फाइदाजनक रहेको र केही नयाँ तरिकाले मानिसलाई रक्तदानमा आकर्षित गर्न यसो गरेको उनको भनाइ छ। रक्तदान नगर्दैमा शरीरमा धेरै रगत हुन्छ भन्ने पनि हुँदैन। न त दान गरेर सकिन्छ नै। एक पटकमा ३५० मिलिलिटर रगत दान गर्न सकिने चिकित्सकहरू बताउँछन्। दान भएको रगत ३/४ हप्तासम्म सुरक्षित राख्न सकिन्छ। आवश्यक परेको व्यक्तिले लैजान पाउँछन्। रक्तदानले शरीरलाई कुनै हानि हुँदैन। रक्तदानको २४ घण्टाभित्र शरीरको विभिन्न भागले दान गरेको रगतको परिपूर्ति गरिसक्छ।
कम्तीमा १८ देखि ६० वर्षसम्मकाले रक्तदान गर्न सक्ने चिकित्सकहरू बताउँछन्। रोग भएका र औषधि सेवन गरिरहेकाले भने रक्तदान गर्नु हुँदैन भन्छन्, चिकित्सकहरू। ४५ किलोग्राम तौल भएका, स्वस्थ र दीर्घ रोग नलागेका सबै व्यक्तिले रगत दान गर्न सक्ने चिकित्सकहरू बताउँछन्।
एक पटक रगत दिएको तीन महिनापछि फेरि दिन सकिन्छ। शरीरमा पुरानो रगत नष्ट हुने र नयाँ बन्ने प्रक्रिया निरन्तर चलिरहन्छ। ‘साइकल यात्राको क्रममा यस विषयमा राम्रो सन्देश दिएको उनको भनाइ छ। ‘त्यत्तिकै नष्ट हुने रगत नै दान गर्ने हो,’ सुवेदी भन्छन्, ‘रक्तदानबाट कसैको ज्यान जोगिन्छ वा उसले नयाँ जीवन पाउँछ भने किन नदिने ?’ रगत दिँदा कमजोर भइन्छ भन्ने भ्रम समाजमा कायम रहेकाले रगत दिन मान्छेहरू तयार नहुने र रक्त अभावका कारण बर्सेनि हजारौंको ज्यान गइरहेको विज्ञ बताउँछन्।
यही भ्रमलाई चिर्नका लागि सुवेदीले गत वैशाखमा मेची–महाकाली साइकल यात्रा गरे। रक्तदान कार्यक्रमसँगै यससम्बन्धी जनचेतना फैलाउनु पनि उनको यात्राको उद्देश्य थियो। १ हजार २८ किलोमिटर यात्राको क्रममा ५ सय ५८ जनालाई रक्तदानमा समावेश गराउन सफल भएको उनले बताए।
यस क्रममा उनी रेडक्रस र नेपाल स्वयंसेवी रक्तदाता समाजको आजीवन सदस्य पनि भए। यी संस्थाबाट यात्राको क्रममा सहयोग र प्रोत्साहन मिलेको उनले बताए। धेरै ठाउँमा सहज भए पनि थोरै ठाउँमा मात्र असहज भएको उनले बताए।