हिमाली भेषभुषामा सजिएर गोरखामा चुनाव प्रचारप्रसार गर्दै प्रचण्ड
गोरखा : पूर्वप्रधानमन्त्री तथा गोरखा २ का उम्मेदवार प्रचण्ड चुनाव प्रचारप्रसारको क्रममा चीनसितको सीमा क्षेत्र छेकम्पार र सामागाउँ पुगेका छन् ।
गोरखा १ का गठबन्धनका उम्मेदवार राजेन्द्र बजगाई र गोरखा १ प्रदेशसभा निर्वाचन क्षेत्र २ का उम्मेदवार नन्दप्रसाद न्यौपानेका लागि भोट माग्न हिमाल पारिका गाउँमा पुगेका हुन् ।
उनी हेलिकोप्टरमा बिहान ११ बजे छेकम्पार र साँढे ११ बजे सामागाउँ पुगेका हुन् । हिमाली भेगमा पुगेका प्रचण्ड, बजगाई र न्यौपानेलाई स्थानीयबासीले स्थानीय भोटेलामा भेषभुषामा सजाएर स्वागत गरेका थिए ।

उनलाई स्थानीयबासीले विभिन्न समस्या समाधान गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । छेकम्पारमा चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामा, वडा नं. ७ का वडाअध्यक्ष टासी दोर्जे लामा, नेपाली कांग्रेसका वडासभापति पासाङ फुञ्जो लामा र माओवादीका वडा अध्यक्ष पेमा छेवाङ लामाले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् ।
त्यस्तै, सामागाउँमा गाउँपालिकाकी उपप्रमुख लक्ष्मी गुरुङ, वडाअध्यक्ष कर्मा छेवाङ लामालगायतले ज्ञापनपत्र पेश गरेका हुन् । ‘बेनिघाट, आरुघाट, सिर्दिबास, चुम्चेत, छेकम्पार, मुलाढाजेन नाका उत्तर दक्षिण लोकमार्ग निर्माणको काम अघि बढाउन यसैबर्ष बजेट समावेश गर्नका लागि माग गरिएको छ,' गाउँपालिकाका अध्यक्ष लामाले भने, ‘तीन वर्षदेखि बन्द रहेको मुलाढाजेन नाका बाह्रै महिना खुल्ला गर्न पनि माग गरिएको छ ।’ ज्ञापनपत्र बुझ्दै प्रचण्डले जनताको माग पूरा गर्ने विषयमा आफू प्रतिवद्ध रहेको बताएका थिए ।
त्यस्तै, सामागाउँका बासिन्दाले पेश गरेको ज्ञापनपत्रमा ३५ नम्बर सीमास्तम्भ रहेको रुइला नाका खुलाउन, विगत चालिसौं वर्षदेखिका यहाँका अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिएर व्यवस्थित गर्न, पर्यटक निषेधित क्षेत्र खुल्ला गरिदिन माग गरेका छन् ।
त्यस्तै, निषेधित क्षेत्रका कारण घाइते, बिरामी तथा सुत्केरी उद्धारमा समेत समस्या आएकाले विद्यमान झञ्झटिलो व्यवस्था हटाइदिन, यहाँको बेनिघाट, आरुघाट, लार्के सडक निर्माणको कामलाई तीव्रता दिन यथेष्ट बजेट बिनियोजन गरिदिन, सडक निर्माणपछि संकटमा पर्ने पर्यटक पदमार्गको विकल्प तयार गर्न मद्दत गर्न, यहाँको तीनसय रोपनीमा फैलिएको गुम्बा क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गरिदिन माग गरिएको स्थानीय वीरबहादुर लामाले जानकारी दिए ।
राज्यका सबै खालका सेवा सुविधाको न्यायोचित वितरणका लागि चुमनुब्री गाउँपालिकालाई छुट्टै जिल्ला वा विशेष क्षेत्र घोषणा गर्न, पालिकाको सेवा लिन तीन दिन पैदल हिँड्नु पर्ने बाध्यताबाट मुक्त गर्न दुई अलग अलग गाउँपालिकामा पुनसंरचना गर्न पनि माग गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रचण्ड, उम्मेदवारहरु बजगाई र न्यौपानेले जनताको माग पूरा गर्न आ–आफ्नो ठाउँबाट लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।उनीहरु आइतबार एकैदिन हेलिकोप्टर चार्टर गरी छेकम्पार, सामागाउँ, सिर्दिबास, माछाखोला, बारपाक र घैरुङमा आयोजित चुनावी कार्यक्रममा सहभागी भएका थिए ।
प्रतिक्रिया दिनुहोस !