दुर्गममा पुग्दै कर्मचारी र निर्वाचन सामग्री
संखुवासभा : प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको संखुवासभामा मतदान केन्द्रमा कर्मचारी जान सुरु गरेका छन्। आइतबारबाट मुख्य निर्वाचन अधिकृतको कार्यालय संखुवासभाले मतदान सामग्रीसहित कर्मचारी मतदान केन्द्रमा पठाउन सुरु गरेको मुख्य निर्वाचन अधिकृत टेकनाथ गौतमले बताए।
जिल्लाको सबैभन्दा दुर्गम र विकट भोटखोला गाउँपालिकाको दूधपोखरी आधारभूत विद्यालय थुदाम, हिमालय आधारभूत विद्यालय किमाथाङ््का र ज्योति आधारभूत विद्यालय रिदाकमा मतदान सामग्रीसहित कर्मचारी, निर्वाचन सामग्री र सुरक्षाकर्मी पठाइएको मुख्य निर्वाचन अधिकृत गौतमले बताए। थुदाम, किमाथांका र रिदाक मतदान केन्द्रहरूमा पुग्न सदरमुकामबाट चारदेखि पाँच दिन लाग्ने मुख्य निर्वाचन अधिकृत गौतमले बताए।
भोटखोला गाउँपालिकासम्म पुग्न एक दिन गाडी र बाँकी पैदल हिँड्नुपर्ने भएकाले आवश्यक कपडा, औषधी, खानपिनलगायतका सामग्री आफैं लिएर जानुपर्ने बाध्यता छ। भोटखोला क्षेत्रमा फोन समस्या हुन सक्ने र निर्वाचनको अवधिमा समस्या आए तत्काल कुनै माध्यमबाट भए सम्पर्क गर्न मतदान अधिकृतलाई मुख्य निर्वाचन अधिकृत गौतमले निर्देशन दिए।