अझै टहरामा विद्यालय
![अझै टहरामा विद्यालय](https://annapurnapost.prixacdn.net/media/albums/dolakha-school_20221115084012_NuYoOPJtto.jpg)
दोलखा : भूकम्प गएको आठ वर्ष बितिसक्दा पनि दोलखाको कालिञ्चोक गाउँपालिका–२ बाँबरे स्यारबाराङमा रहेको निको भगवती प्रावि टहरामै सञ्चालन हुँदै आएको छ। भूकम्पका कारण पक्की भवनमा क्षति पुगेपछि टहरामा कक्षा सञ्चालन हुँदै आएको विद्यालयका लागि अझै पक्की भवन बनाउन नसकिएको वडा नम्बर–२ का वडाध्यक्ष हेमबहादुर पाण्डेले बताए।
२०७२ सालको भूकम्पअघि तीन कक्षासम्म सञ्चालनमा रहेको उक्त विद्यालयका भवनहरू भूकम्पले क्षति पु¥याएपछि बन्द भएको थियो। यस विद्यालयका विद्यार्थी नजिकको निकोभूमि माध्यमिक विद्यालयमा भर्ना भएका थिए।
वडा नम्बर–२ को सानोबाटा, ठूलोबाटा, कुटिस्याङ, स्यारबाराङ, डम्फासहितका टोलका बालकक्षामा अध्ययन गर्ने विद्यार्थीलाई समस्या भएपछि टहरा बनाएर पहिले विद्यालय रहेको ठाँउभन्दा केही तल निको भगवती प्राविलाई पुनः सञ्चालन गरिएको वडाध्यक्ष हेमबहादुर पाण्डेले बताए। स्थानीयको जग्गा भाडामा लिएर टहरा बनाई सञ्चालन गरिएको विद्यालयमा अहिले बालकक्षा मात्रै सञ्चालनमा रहेको र कक्षा १ सञ्चालनको तयारी गरिएको वडाध्यक्ष पाण्डेको भनाइ छ।
विद्यालयमा ३० जना विद्यार्थी अध्ययनरत छन्। अहिले वडाको पहलमा सडकछेउमा विद्यालयको नाममा जग्गा उपलब्ध भएको र बागमती प्रदेश सरकारले दुईकोठे भवन निर्माणका लागि २५ लाख रुपैयाँ उपलब्ध गराएको छ। चाँडै विद्यालयको आफ्नै भवन निर्माण गरी कक्षा सञ्चालन हुने पनि वडाध्यक्ष पाण्डेले बताए।
झन्डै ७ सय जनसंख्या रहेको वडामा पाँच वटा टोलको पायक पर्ने विद्यालय भएकाले निको भगवती प्राविमा कक्षा ३ सम्मै सञ्चालन गर्नुपर्ने आवश्यकता छ । थप भवन निर्माण, शिक्षकको दरबन्दी र खेल मैदान निर्माणका लागि वडाले सरोकारवालासँग पहल गरिरहेको पाण्डेले जानकारी दिए। अहिले विद्यालयमा एकजना बालकक्षा शिक्षकको मात्र दरबन्दी छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)