२८ सरकारका नालीबेली

काठमाडौं : ०४६ सालको जनआन्दोलनले ३० बर्से पञ्चायती शासन ढालेर प्रजातन्त्र पुनस्र्थापना भएपछि शासन व्यवस्था जनप्रतिनिधिका हातमा आएपछि दलीय दाउपेच र अन्तरद्वन्द्वले मुलुक दिशाहीन मात्र बनेन् अस्थिरताको दलदलमा पनि फस्यो।
०४८ सालको निर्वाचनदेखि ०७८ सालसम्मको ३० वर्षको अवधिमा २८ सरकार बने। यिनै २८ सरकारको नालिबेली बताउने पुस्तक ‘सत्ता संघर्ष ः ३० वर्षमा २८ सरकारका नालीबेली’ प्रकाशित भएको छ। पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित पुस्तक सांग्रिला बुक्सले बजारमा ल्याएको हो।
पुस्तकमा पत्रकार भण्डारीले २८ सरकारका प्रधानमन्त्रीलगायत महत्वपूर्ण राजनीतिक व्यक्तिसँग विभिन्न घटनाक्रमलाई लिएर प्रत्यक्ष कुराकानी गरेर प्राथमिक स्रोतलाई महत्व दिएका छन्। रोचक र तथ्यपरक शैलीमा लेखिएको यो पुस्तक नेता, राजनीतिशास्त्रका विद्यार्थी, अध्ययन–अनुसन्धानकर्ता, पत्रकार तथा आमपाठकसमेतलाई नेपालको सरकार गठन, विग्रह र सञ्चालन बुझ्ने ह्यान्डबुक हुने विश्वास गरिएको छ।
पुस्तकमा प्रस्तुत अनेकौं दृष्टान्तले पठनीय मात्र बनाएको छैन, दल तथा तिनका नेताको सत्तामोहमा घनिभूत विमर्श हुनुपर्ने आवश्यकता पनि पहिल्याएको छ।
पुस्तकले प्रजातन्त्र पुनर्बहालीका लागि ज्यानको बाजी लगाएका दल तथा तिनका नेतृत्व अन्ततः कसरी सत्तामा पुग्न र टिक्न मात्र लागिपरे भनेर समकालीन समयलाई फर्केर हेर्न प्रशस्त खुराक पस्केको छ। नयाँ सरकार निर्माणको संघारमा आएको यो पुस्तकले आम पाठकलाई सुसुचित गर्ने विश्वास सांग्रिला बुक्सले लिएको छ।
प्रतिक्रिया दिनुहोस !
