अछाम १ को मतगणना दिउँसो ३ बजेबाट हुने

अछाम : अछामको निर्वाचन क्षेत्र नम्बर १ को मतगणना दिउँसो ३ बजेबाट सुरु हुने भएको छ । निर्वाचन अधिकृतको कार्यालय साँफेबगरमा सम्पन्न सर्वदलीय बैठकले दिउँसो ३ बजेबाट सुरु गर्ने निर्णय गरेको हो ।
सुरुमा प्रतिनिधि सभा तर्फको मतगणना गरिने निर्वाचन कार्यालय साँफेबगरका सूचना अधिकारी खेमराज पुन मगरले जानकारी दिए । मगरका अनुसार पहिलो प्रतिनिधि सभाको मत गणना गर्ने र त्यसपछिको अवस्था हेरेर प्रदेश सभाको पनि गणना गर्ने भन्ने सहमति बैठकमा भएको छ ।
अछाममा ५२.६० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत पिताम्बर शर्माका अनुसार दुई निर्वाचन क्षेत्र रहेको अछाममा ५२.६० प्रतिशत मत खसेको छ । जिल्लाको २ सय ११ मतदानकेन्द्रबाट ८३ हजार ४५४ मत खसेको छ ।
स्थानीय तहको निर्वाचनमा अछाममा ६५ प्रतिशत मत खसेको थियो । स्थानीय तहको भन्दा यस पटक १३ प्रतिशत मत कम खसेको छ ।अछाम निर्वाचन क्षेत्र नं १ मा ७९ हजार ३६ मतदाता सख्या रहेकोमा ४१ हजार ६४३ मत खसेको छ भने क्षेत्र नम्बर २ मा ७९ हजार ६ सय २१ मतदाता संख्यामा४१ हजार ८११ मत खसेको छ ।
अछाममा दुई प्रतिनिधि सभा र ४ प्रदेश सभा सदस्य गरी ६ सिटका लागि २० जना उम्मेदवार चुनावी मैदानमा छन् ।
प्रतिक्रिया दिनुहोस !
