सोलुखुम्बुमा मंगलबार दिउँसो १ बजेबाट मतगणना
![सोलुखुम्बुमा मंगलबार दिउँसो १ बजेबाट मतगणना](https://annapurnapost.prixacdn.net/media/albums/MatpetikaSoluSUbashOK_20221121215514_NCEI1ku1S1.jpg)
सोलुखुम्बु : सोलुखुम्बुमा भोली (मंगलबार) दिउँसो १ बजेबाट मात्रै मतगणना सुरु हुने भएको छ। मतपेटिका संकलन पश्चात सोमबार सल्लेरीमा भएको सर्वदलीय बैठकले सो निर्णय गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
सहायक निर्वाचन अधिकृत नगेन्द्र कुमार कालाखेतीका अनुसार मतपेटिका ढुवानीका कारण आइतबारदेखि कर्मचारीहरू अनिँदो रहेकाले आज (सोमबार) आराम गरी मंगलबार दिउँसोबाट मात्रै मतगणना सुरु गर्ने निर्णय गरिएको हो।
जिल्लाको आठ स्थानीय तहमध्ये लिखुपिके र खुम्बु पासाङ ल्हामु गाउँपालिकाबाट आज मतपत्र सल्लेरी आइपुगेको हो भने त्यस बाहेकका पालिकाहरुबाट हिजो राति नै गाडीमार्फत सल्लेरी ल्याइएको अधिकृत कालाखेतीले बताए।
खुम्बु पासाङ ल्हामुबाट ३६ थान मतपेटिका नेपाली सेनाको हेलिकोप्टरमार्फत दिउँसो सल्लेरी ल्याइएको हो।
लिखुपिकेबाट २८ थान मतपेटिका लामाजुरा हुँदै ट्याक्टरमार्फत सोमबार साँझ सल्लेरी ल्याइएको छ। उक्त मतपेटिकाहरू मिलाएर भण्डारण गर्ने काम सकिएकाले भोली बिहान १० बजेबाट उम्मेदवारहरूको उपस्थितिमा सिल रुजु गरी दिउँसोबाट गणना थालिने छ।
८१ हजार ५ सय २ जना मतदाता रहेको जिल्लामा ३९ हजार ४ सय ३३ मत अर्थात ४८.३८ प्रतिशत मत खसेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)