सिम्तामा आज पुन: मतदान

सिम्तामा आज पुन: मतदान

सुर्खेत : सुर्खेतको सिम्तामा मंगलबार पुनः निर्वाचन हुने भएको छ। प्रतिनिधि तथा प्रदेशसभाका लागि आइतबार भएको निर्वाचन विवादका कारण स्थगित भएको थियो। आइतबार निर्वाचन हुन नसकेपछि उक्त स्थानमा मंगलबार पुनः मतदान हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो। सिम्ता गाउँपालिका–६ को सिम्ता बहुमुखी क्याम्पसमा रहेको मतदान स्थलको क, ख र ग मतदान केन्द्रको निर्वाचन मंगलबार हुने भएको छ। सुर्खेतको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ अन्तर्गतको सिम्तामा स्थगित निर्वाचन मंगलबार हुने निर्वाचन अधिकृतको कार्यालयले सोमबार एक सूचना जारी गरी जनाएको हो। आइतबार यो मतदान केन्द्रमा प्रतिनिधिसभातर्फको मतपत्र प्रदेशसभाको मतपेटिका खसेपछि विवाद भएको थियो।

स्थानीय राजनीतिक दलहरूबीच सहमति हुन नसक्दा आइतबार निर्वाचन नै स्थगित गरिएको थियो। पुनः निर्वाचनका लागि सोमबार सर्वपक्षीय बैठक बसेको थियो। उक्त बैठकमा सहमति जुटेपछि उक्त मतदान केन्द्रमा मंगलबार निर्वाचन हुने भएको हो। निर्वाचन अधिकृत उपेन्द्रकेशर खनालद्वारा हस्ताक्षरित सूचनामा मतदान मंगलबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुने उल्लेख छ। सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले दलहरूबीच सहमति हुन नसकेपछि आइतबार निर्वाचन स्थगित गर्नुपरेको बताए।

उनका अनुसार सो मतदान केन्द्रमा पुनः निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। निर्वाचनलाई सफल बनाउन दलहरूसँग बैठक सम्पन्न भएको र सुरक्षा व्यवस्था पनि कडा पारिएको उनले बताए। मतदान सकिएर सबै मतपेटिका मेहेलकुनामा ल्याएपछि क्षेत्र नं. १ को मतगणना सुरु हुनेछ। क्षेत्र नं. १ को मतगणना गुर्भाकोट नगरपालिकाको सिटी हलमा हुनेछ। गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा पनि सिम्ताको एउटा मतदान केन्द्रमा निर्वाचन स्थगित भएको थियो। सिम्ता गाउँपालिका–१ को खनेटा केन्द्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र फेला परेपछि स्थगित भएको थियो। त्यसबेला त्यहाँ तीन दिनपछि पुनः निर्वाचन गरिएको थियो।

प्रहरी र स्थानीय प्रशासनले यसअघि नै सिम्तामा रहेका मतदान केन्द्रहरूलाई संवेदनशील रहेको बताएका थिए। संवेदनशील भनिएका ती मतदान केन्द्रहरूको सुरक्षा संयन्त्रले अनुगमन पनि गरेको थियो। सुरक्षा व्यवस्था राम्रो हुँदाहुँदै पनि कर्मचारीको लापरबाहीका कारण यसपालि एउटा मतपत्र अर्कै मतपेटिकमा खस्दा पुनः निर्वाचन गर्नुपर्ने अवस्था आएको स्थानीय राजनीतिक दलका नेताहरूको भनाइ छ। सुर्खेत क्षेत्र नं १ को प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र नेकपा एमालेको तर्फबाट ध्रुवकुमार शाही उम्मेदवार छन्। यसपालि उनीहरूबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.