तेस्रो प्रयासमा संसद छिरे खम्बिर
बेनी: नेपाली कांग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजाको संसद छिर्ने तेस्रो पटकको प्रयास सफल भएको छ ।
यसअघिको दुई वटा चुनावमा हार ब्यहोरेका गर्बुजालाई यसपटकको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले सघाएका थिए ।प्रतिनिधि सभा सहित म्याग्दीका तीन वटै क्षेत्रमा गठबन्धनका उमेद्वार विजयी भएका छन् ।
प्रदेश सभाको क्षेत्र (१) मा माओवादीका हरिबहादुर भण्डारी र क्षेत्र (२) मा माओवादीका रेशमबहादुर जुग्जाली निर्वाचित भएका छन् ।
खम्बिरको जितसँगै २३ वर्ष पछि देशमा नीति निर्माण र सुशासन कायम गराउने थलो संसदमा म्याग्दी कांग्रेसको प्रतिनिधित्व भएको छ । २०५६ साल पछि अहिले म्याग्दीमा कांग्रेसले चुनाव जितेको हो ।
२०५६ सालमा नेपाली कांग्रेसको तर्फबाट नेपाली सेनाका सेवा निवृत्त कर्नेल स्व.नारायणसिं पुन विजयी भएका थिए ।
गर्वुजा यस अघि ०७० को संविधान सभाको दोस्रो चुनावमा नेकपा एमालेका नवराज शर्मा र ०७४ मा एमालेकै भुपेन्द्रबहादुर थापासँग पराजित भएका थिए । ०६४ सालमा समानुपातिकतर्फ नाम सिफारिस भएपनि संविधान सभा सदस्य बनेनन् ।
आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा गर्बुजाले २४ हजार २१ मत पाएर विजयी भएका हुन् । गर्बुजाका प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले २० हजार १८९ मत पाए ।
एमालेका श्रेष्ठले भन्दा ३ हजार ८३२ मत बढी ल्याएर कांग्रेसका गर्बुजा निर्वाचित भएका हुन् ।
जिल्लाभरी ८६ हजार १२० मतदाता रहेकोमा ५० हजार ६२५ मत खसेको थियो । गर्बुजाले यो आफ्नो, कांग्रेस र गठबन्धनको मात्रै नभएर समग्र म्याग्दीबासीको जित भएको प्रतिक्रिया दिए । ‘म जनताको शासक होइन सेवक भएर काम गर्ने छु, मेरो बुद्धी, वर्गत र सामर्थ्यले भ्याएसम्म म्याग्दीलाई विकासको मीठो फल चखाउने प्रयास गर्ने छु,’ उनले भने ‘कतै म अल्मलिएँ वा लर्बरिएँ भने मलाई सचेत बनाउनुहोला ।’
रघुगंगा गाउँपालिका ४ दग्नामका गर्बुजा बेलायती सेनाबाट अवकाश लिई २०५४ सालमा नेपाली कांग्रेसमा आवद्ध भएका थिए ।
गर्बुजा २०६७ सालमा सम्पन्न नेपाली कांग्रेस म्याग्दीको पाँचौ जिल्ला अधिवेशनबाट जिल्ला कार्यसमितिको उपसभापति, २०७२ सालमा सम्पन्न छैठौं जिल्ला अधिवेशन र २०७८ सालमा सम्पन्न सातौं जिल्ला अधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए ।
प्रतिक्रिया दिनुहोस !