जनताको विश्वास खेर जान दिँदैनौं

जनताको विश्वास खेर जान दिँदैनौं

विकासप्रेमी नेताको राष्ट्रिय छवि बनाएका गुल्मीका एमाले नेता गोकर्ण विष्टको यो चौथो विजयी हो। उनी गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। २०५४, २०७०, २०७४ र २०७९ मा उनले चुनाव जिते। २०६४ को पहिलो संविधानसभा निर्वाचनबाहेक गुल्मी २ को नतिजा उनकै पोल्टामा परेको छ।

विगतको तुलनामा उनलाई यसपालि चुनाव जित्न त्यति सहज भएन। पाँच दलीय गठबन्धनको चौतर्फी घेरा तोड्दै उनी २ हजार ४४ मतान्तरले विजयी भएका छन्। समृद्ध गुल्मी बनाउन उनले बुनेका सपना, चुनावी अूनभूति र समग्र राष्ट्रिय राजनीतिको सेरोफेरोमा केन्द्रित रहेर गोकर्ण विष्टसँग अन्नपूर्ण पोस्ट्की गंगा खड्काले गरेको कुराकानी :

विगतको तुलनामा तपाईंलाई यसपालि चुनाव जित्न निकै चुनौती देखियो नि किन ?   

अहिले एमालेकाविरुद्ध अरू सवै पार्टीहरू एकजुट भए। जसरी पनि एमालेलाई सिध्याउनुपर्छ भन्ने मनसायले विपक्ष दलका साथीहरू लागेका थिए। हाम्रोविरुद्ध चौतर्फी घेराबन्दी भयो। तर, त्यो घेराबन्दी गुल्मीका जनताले मन पराएनन्। यहाँका आमनागरिकले हामीलाई साथ, समर्थन गर्नुभयो। यो चुनौतीका बीच जनताले आशा भरोसाका साथ हामीलाई विजयी गराउनुभएको छ। यस क्षणमा सबै गुल्मीका मतदाताहरूलाई धन्यवाद दिन्छु।
 
गठबन्धनको चौतर्फी घेराबाट चुनाव जित्दा कस्तो अनूभूति भइरहेको छ ?   

यो  गठबन्धन देशभित्रका पार्टीहरूको भन्दा पनि देशविदेशका कम्युनिष्ट शक्तिहरूको हो भन्ने मलाई लाग्छ। ग्रान्ड डिजाइनका साथ गठबन्धन गरिएको थियो। मलाई यहाँका नागरिकहरूले चौथोपटक निर्वाचित गराउनुभएको छ। उहाँहरूले जुन आस्था र विश्वासले मलाई मतदान गर्दै आइरहनुभएको छ। म त्यो विश्वास कहिल्यै टुट्न दिने छैन। यसपालि निर्वाचित हुँदा म थप गम्भीर र भावुक पनि भएको छु। विगतका तुलनामा अझ धेरै मैले आमनागरिकका समस्यालाई समाधान गर्नु पर्नेछ। युगौंयुगसम्म सम्झना हुने खालका कामहरू गर्नु पर्नेछ। म यहाँका नागरिकहरूको दुःख–सुखको सारथि बनेर काम गरेको छु र गरिरहन चाहन्छु। 
 
चुनावका बेला गरिएका प्रतिबद्धता कसरी पूरा गर्ने योजनामा हुनुहुन्छ ?  

भौतिक पूर्वाधार, खानेपानी, सिँचाइ, विद्यालय, अस्पताललगायतका योजनाहरू मैले अघि सारेको छु। हामीले अगाडि सारेका पूर्वाधारका योजनाको निर्माणलाई पूर्णता दिने योजना मेरो हुन्छ। सामाजिक सुरक्षा, सामाजिक न्याय, जनताको जीवनलाई सुखी बनाउने कुरालगायतलाई केन्द्रित गरेर मैले काम गर्नेछु। केन्द्रबाट समावेश गर्ने योजनालाई गुल्मीमा उच्च प्राथमिकतामा राखेर काम गर्छौं। विगतको तुलनामा अझ बढी देखिने र प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्नेछु। जनताको जीवनस्तरमा सुधार ल्याउनका लागि सम्पूर्ण हिसाबले मेरो ध्यान केन्द्रित हुनेछ।
 
गुल्मी २ लाई समृद्ध बनाउने तपाईंको खास योजना के हो ?   

गुल्मीका प्रत्येक वडामा पुग्ने सडकलाई कालोपत्रे गर्ने हाम्रो प्रमुख एजेण्डा छ। अझै पनि जिल्लामा भरपूर्ण विद्युत् नभएकाले त्यसलाई पूर्णता दिन्छौं। प्रत्येक घरधुरीमा स्वच्छ खानेपानी, प्रत्येक पालिकामा १५ शैयाको अस्पताल निर्माणलाई पूर्णता, जिल्ला अस्पताललाई थप गुणस्तरीयता बनाउने, किसानहरूको जिन्दगीमा गुणात्मक परितर्वन गर्ने खालका नीति तथा कार्यक्रम हामीले अघि सारेका छौं।

आफ्नै गाउँ ठाउँमा युवाहरूले श्रम, सीपको प्रयोग गर्ने विषयमा गम्भीरताका साथ ध्यान दिनुपर्ने छ। वैदेशिक रोजगारीबाट फर्किएका यूवाहरूलाई समाजमा पुनः स्थापित गर्ने सवालमा पनि हामीले काम गर्छौैं। तर, यो राष्ट्रिय स्तरको चुनौतीको विषय छ। नेपाली युवाहरूमा अवसरको खोजीकै कारण निराशा भएको पाइन्छ। युवाहरूमा आशा जगाउने, भविष्यका लागि शिक्षा, खेलकुद, स्वास्थ्यको ग्यारेन्टी, आय आर्जन र स्वरोजगारका कार्यक्रम र जनताको जीवनमा परिवर्तन ल्याउने गरी हामी अगाडि बढ्छौं।
 
जिल्लामा पार्टीको संगठन सुदृढीकरण गर्नुपर्ने स्थिति देखियो वा देखिएन ?   
पार्टी संगठनको कामलाई राजनीतिक र वैचारिक रूपमा दुरुस्त बनाउनुपर्छ। यो देशभरी नै सोच्नु पर्नेछ। केही समय हामी पार्टीभित्रको आन्तरिक समस्यामा अल्झियौं। माओवादी र एमालेभित्रको एकीकरण पछि वैचारिक रूपमा विचलन आयो। अब सांगठनिक  र वैचारिक रूपमा पार्टीलाई सुदृढीकरण गर्नुपर्छ। पार्टीको आन्तरिक जीवन बलियो नहुँदासम्म कुनै पनि पार्टीले प्रभावकारी कार्यसम्पादन गर्न सक्दैनन्। 
 
यस निर्वाचनमा एमालेले जुन नतिजा ल्यायो, यसलाई कसरी लिनुभएको छ ?   
एक प्रकारले भन्ने हो भने एमालेलाई समाप्त गर्ने योजनासहित डिजाइन बनेको थियो। चौतर्फी घेरा तोडेर भए पनि हामी नेपालको दोस्रो पार्टी भयांै। पहिलो पार्टी बन्ने हाम्रो सपना पूरा हुन सकेन। तर, जुन चुनौती र कठिनाइबीच नतिजा आएको छ। यो पनि समानान्तर हैसियतका रूपमा हामीले लिएका छौं।

संसदभत्र होस् वा बाहिर हामी जहाँ हुँदा पनि जनताको सर्वोपरी हितमा काम गर्छौं। यो उपलब्धीलाई थप प्रभावकारी बनाउने गरी हामी विगतको भूमिकालाई अझ गुणस्तरीय बनाउँछौं।
 
वामगठबन्धनको कुरा नेताहरूले गरेका छन्। त्यो कत्तिको सम्भव होला ?   
पार्टी एकताको सम्भावना त म तत्काल देख्दिनँ। पार्टी एकताको तीतो अनुभव हामीले गरिसकेका छौं। पार्टी बन्ने, फेरि भत्किने खालको नेपालको राजनीतिमा जुन प्रकारका समीकरण देखिएका छन यसले सरकार कस्तो बन्ने भन्नेमा चुनौती देखिन्छ।

हामीलाई सरकारमा जान कुनै हतारो छैन। मुख्य कुरा त संविधानका मर्म, जनताका चाहाना, देशमा परेका संकटहरूलाई समाधान गर्न, जनतामा पैदा भएको निराशालाई चिर्न हामी गम्भीर भएर लाग्छौं। विगतका कमजोरीलाई सच्च्याएर एमाले नयाँ ढंगले जानुपर्छ भन्ने विषयमा हामी सचेत छौं। 

अबको सरकार कसरी बन्ला ?   

जनताले दिएको म्यान्डेड भनेको फेरि पनि मिलेर जाउँ भन्ने नै छ। लोकतान्त्रिक अभ्यास र एकल बहुमत नभएको अवस्थामा न्यूनतम मूल्य, मान्यतामा टेकेर अगाडि बढ्नुपर्छ। हामी जस्तो प्रकारको निर्वाचन प्रणाली अपनाएका छौं। यो प्रकारको निर्वाचनले एउटा पार्टीको बहुमत आउने कुरा ज्यादै कठीन छ।

  • युगौंयुगसम्म सम्झना हुने खालका कामहरू गर्नु पर्नेछ
  •     भौतिक पूर्वाधार, खानेपानी, सिँचाइ, विद्यालय, अस्पताललगायतका योजनाहरू मैले अघि सारेको छु 
  •     केन्द्रबाट समावेश गर्ने योजनालाई गुल्मीमा उच्च प्राथमिकतामा राख्छौं
  •     गुल्मीका प्रत्येक वडामा पुग्ने सडकलाई कालोपत्रे गर्ने हाम्रो प्रमुख एजेण्डा छ

एमालेले जनताको बीचमा सार्वजनकि गरेका वाचाहरू पूरा गर्छ। राष्ट्रका सामू आएका चुनौतीलाई मध्यनजर गरेर लोकतन्त्रलाई जन आकर्षित, देशको समृद्धि, जनताको खुसी बनाउने गरी नै यो परिणामलाई लैजानुपर्ने छ। फेरि हुने निर्वाचनले पनि एउटा पार्टीको मात्र बहुमत आउँछ भन्ने छैन। जस्तो परिणाम आएको छ त्यसैलाई टेकेर जनताको हितमा सरकार बन्नुपर्छ।  

 एमालेले सरकार बनाउन पहल गर्छ कि गर्दैन ?   

हामी सरकार बनाउन पहलै गर्दैनौं भन्ने होइन। नेकपा एमालेले जनताको बीचमा सार्वजनकि गरेका वाचाहरू पूरा गर्छ। संसदीय मर्यादा, लोकतान्त्रिक अभ्यास, जनताका  चाहानाविपरीत जान हामीलाई मिल्दैन।

स्वस्थ मर्यादामा रहेर हामी भूमिका निर्वाह गर्छौं। हाम्रा भूमिकाहरू जनताप्रति जवाफदेही भएर अघि बढ्छन्। लोकतन्त्रलाई समृद्ध बनाउने गरी हाम्रा प्रयासहरू हुनेछन्। हामी गलत अभ्यासमा लाग्दैनौं। कसैले गलत अभ्यास गर्‍यो भने जनताको बल र सहयोगमार्फत हामी लोकतन्त्रलाई बोलियो बनाउन लाग्छौं।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.