विजयोत्सव मनाउन जस्तापाता बोकेर मतदाता कहाँ पुगे सांसद
बेनी : म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)बाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित रेशमबहादुर जुग्जालीले मतदातालाई धन्यवाद दिन र जितको खुसी साट्न फरक शैली अपनाएका छन्।
पाँच दलीय गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित नेकपा (माओवादी केन्द्र)का म्याग्दी जिल्ला संयोजक जुग्जालीले रचनात्मक काम गरेर विजयोत्सव मनाएका हुन्। मंसिर ४ गते भएको निर्वाचनमा जुग्जालीले ८ हजार ७२३ मत ल्याएर प्रदेश सांसदमा निर्वाचित भएका थिए।
भोजभतेरको खर्च कटाएर विपन्न मतदातालाई सहयोग पुग्ने किसिमको काम गरेर विजयोत्सव मनाएको जुग्जालीले बताए। मंगला गाउँपालिका–१ कुहुँको भिरकटेराका फाले र रतिकला फगामीको जीर्ण घर मर्मतका लागि जुग्जाली जस्तापाटा बोकेर बिहीबार त्यहाँ पुगे। फगामी दम्पत्तीलाई जीर्ण घर मर्मतका लागि जुग्जालीले फगामी दम्पत्तीलाई ३६ थान ८ फुटको जस्तापाटा उपलब्ध गराएका हुन्।
७६ वर्षका फाले बोल्न नसक्ने अपाङ्ग हुन्। उनकी ७७ वर्षीया श्रीमती रतिकला पनि लडेर हिँडडुल गर्न सक्दिनन्। उनीहरूको ढुंगा, माटो र काठले बनेको दुई तले घर जीर्ण बनेर भत्कने अवस्थामा छ। खरले छाएको छानो चुहिने भएपछि बाहिर प्लास्टिक राखेका छन्।
फगामी दम्पतीलाई छोरी तिलकुमारी पुनले स्याहार सुसार गर्दै आएकी छिन्। तिलकुमारी उनीहरूका एक मात्र सन्तान हुन्। आफ्नै जग्गा जमिन नभएका उनीहरूको आम्दानीको स्रोत सामाजिक सुरक्षा भत्ता मात्रै हो। आर्थिक अभावका कारण घर मर्मत गर्न सकेका थिएनन्। जीर्ण घरमा जोखिम मोलेर बस्दै आएका छन्।
‘भोज, भतेर गर्ने खर्चले केही रचनात्मक काम गरेर विजयोत्सव मनाउनुपर्छ भन्ने सुझाव र मेरो विचार अनुसार दुःख पाएका नागरिकलाई सहयोग गर्ने कार्यक्रम बनाएको छु,’ सांसद जुग्जालीले भने ‘साथी भाइ र आफन्तले उपलब्ध गराएको सहयोग सामाजिक क्षेत्रमा खर्चीएको हो।’
मंगला, मालिका र धवलागिरी गाउँपालिकामा एकेक कार्यक्रम गर्ने जुग्जालीले बताए। फगामीका छोरी तिलकुमारीले जीर्ण घर मर्मतका लागि सांसद नै जस्तापाता बोकेर घर आएकामा अचम्म लागेको बताइन्।
‘सांसदले चुनाव जितेपछि गाउँमा मुख देखाउँदैनन भन्ने सुनेको थिए,’ तिलकुमारीले भनिन् ‘उहाँ (रेशम जुग्जाली) त सांसद भएर पनि आफैं जस्तापाटा बोकेर हाम्रै घरमा आएको देख्दा अचम्म लाग्यो।’
नेपाली कांग्रेस र माओवादी स्थानीय कार्यकर्ताहरूले श्रमदान गरेर जस्तापाटा फेरिदिने कांग्रेसका स्थानीय नेता रिप्रसाद पुन (रविन)ले बताए। फाले फगामी र रिमतिले जीर्ण घर मर्मत हुन लागेकोमा खुसी व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस !