समावेशी र सद्भावको ‘मोडर्न आर्ट’

जनकपुरधाम : सामाजिक रूपान्तरणका लागि मिथिला कलालाई आधुनिक ढंगले प्रस्तुत गर्नुपर्ने र कला सौख मात्र नभएर चित्रमार्फत समाज रूपान्तरणमा चेतना जगाउने माध्यम बनोस् भन्ने चाहन्छिन् मनिषा।
‘अब मिथिलाको जीवनशैली मात्र हैन, त्यहाँका नारीले भोगेका दुःख र पीडा पनि कलामार्फत व्यक्त गर्ने समय आइसक्यो,’ उनले भनिन्, ‘त्यही कामलाई नयाँ ढंगले पस्कने प्रयास नै मोडर्न मिथिला हो।’
अमेरिकी कलाकार अलेहान्द्रो पोली जुनियर ‘म्यान वन’ले जनकपुरधाममा सडक कला प्रदर्शनी गर्ने कार्यशालामा उनले बनाएका चित्रमा दाइजो, भ्रूण हत्या, घुम्टो प्रथा, सामाजिक तथा सांस्कृतिकलगायतका सामाजिक समस्या मात्र हैन, सामाजिक विकृति र उच्छृंखलता पनि चित्रित छन्। घुम्टो लगाएकी परम्परागत महिला मात्र हैन, घुम्टो खोलेकी आधुनिक महिला पनि अपराधको चपेटामा परेकाले उनको आवाज पनि चित्रमा उतारिनुपर्ने कलाकार मनिषाले बताइन्। उनको चित्रले जतिसुकै ठूला कुरा गरे पनि महिला अझै सामाजिक बन्धनमा रहेको तथ्य उजागर गर्छ।
‘न त उनीहरूले स्वतन्त्र ढंगले सोच्न र विचार पोख्न पाउँछन्,’ चित्रबारे वर्णन गर्दै उनले भनिन् ।
मनिषा मधेसमा देखिएका यी नराम्रा पाटा मात्र हैन, त्यहाँका सुन्दर घटनालाई पनि आकर्षक ढंगले देखाउने गर्छिन्। मयूरको साथमा नाच्दै गरेकी युवती हुन् या राधाकृष्णको मनमोहक जोडी उनी यी सबैलाई आकर्षक ढंगले बनाउँछिन्।
मिथिलामा घरेलु हिंसा र सामाजिक विभेदमात्र हैन, सुन्दर जनजीवन र हँसिला अनुहार पनि रहेको उनले चित्रमार्फत अभिव्यक्त गर्छिन्। ‘क्यानभासमा सामाजिक विकृतिका पाटो मात्र होइन, सादगी, सुन्दरता र सभ्यताले सजिएको अनुहारको अर्को हँसिलो पाटो पनि देखाउँछु,’ उनले भनिन्। कलाकार अलेहान्द्रो अल्पसंख्यक र सामाजिक रूपमा बहिष्कृत समुदायहरूको आवाजको प्रवद्र्धन र सम्मानमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन जनकपुरधाम आएका अमेरिकी दूतावासका मिडिया संयोजक अपार पौडेलले जानकारी दिए।
अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जलसबाट आएका म्यान वनले नेपाली कला समूह आर्टुडियोसँगको सहकार्यमा मिथिलाको जीवन्त कला र बहुसांस्कृतिक समाजलाई कलाको माध्यमबाट प्रदर्शन गर्न सडक कला परियोजना जनकपुरधाममा आयोजना गर्नेछन्।
कलाको दूतका रूपमा नेपाल रहँदा म्यान वनले सामाजिक समावेशिता र समताका विषयमा आफ्नै काम र ‘विरोध कला’ (प्रोटेस्ट आर्ट) को रूपमा भित्ते चित्रको इतिहासका विषयमा पनि कुरा राखेका छन्। उनीसँग नेपाली कलाकारहरू सुदीप बल्ला, खेमबहादुर पाल्पाली, किरण महर्जन, मनिषा साह सहभागी हुनेछन्।
मनिषा मधेसमा देखिएका यी नराम्रा पाटा मात्र हैन, त्यहाँका सुन्दर घटनालाई पनि आकर्षक ढंगले देखाउने गर्छिन्।
प्रतिक्रिया दिनुहोस !
