अलराउन्डर सन्दीपा

अलराउन्डर सन्दीपा

काठमाडौं चन्द्रागिरि–९ की स्थायी बासिन्दा सन्दीपा अमगाईं सानो छँदा स्युचाटारमा बस्थिन्। उनी बस्ने घर नजिकै बिहानै तेक्वान्दोको प्रशिक्षण हुन्थ्यो। सेतो पोसाक (दोबक) लगाएर खेलेको उनी हेरिरहन्थिन्। त्यो देखेर उनलाई पनि तेक्वान्दो खेल्ने रहर पलायो। यो कुरा उनले बुवालाई भनिन्। तर, बुवाले खेल्न दिएनन्। नेपाली सेनामा कार्यरत शुभराज अमगाईंले ‘त्यस्तो खेल खेल्दा चोटपटक लाग्छ’ भनेर उनलाई खेल्न दिएनन्। बुवाले नखेल भनेपछि सन्दीपाले लामो समयसम्म त्यतापट्टि ध्यान नै दिइनन्। बुवाको आदेश मानेर बसिन्।

भित्री मनमा भविष्यमा खेल्छु भन्ने थियो। शुभराज नेपाली सेनाबाट सेवानिवृत्त भएर वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्सको दुबई पुगे। त्यही मौका छोपेर सन्दीपाले खेलकुदमा लाग्ने निर्णय गरिन्। यो कुरा उनले आमा राधिकालाई भनिन्। ‘सुरुमा त आमा पनि मान्नु भएन। जसरी पनि खेल्छु भनेर ढिपी गरेपछि उहाँले हुन्छ भन्नुभयो’, सन्दीपा भन्छिन्, ‘बुवा विदेश नगएको भए सायद खेल्ने मौकै पाउने थिइनँ।’

आमाको सपोर्ट पाएपछि उनी काठमाडौं तेक्वान्दो डोजाङमा प्रशिक्षण गर्न थालिन्। बाफलको ज्ञानोदय स्कुलमा पढ्ने सन्दीपाले त्यहींको डोजाङलाई रोजिन्। उनी पनि ‘दोबक’ लगाएर तेक्वान्दो खेल्न थालिन्। उनको डोजाङमा राम गिरी, निर्मल श्रेष्ठलगायतले प्रशिक्षण गराउँथे। उनले छोटो समयमै निकै प्रगति गरिन्। उनी राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समेत परेकी थिइन्।

सन्दीपाले तेक्वान्दो खेलेको शुभराजलाई डेढ वर्षपछि मात्रै थाहा भयो। उनी घर आएका बेला छोरीले खेल खेल्न थालेको थाहा पाए। त्यसपछि रिसाउँदै सन्दीपालाई फेरि नखेल्न भने। बुवाले नखेल भनेपछि उनले थुप्रै प्रतियोगितामा सहभागिता नै जनाइनन्। ‘खेल्दा घाउ चोटपटक लाग्छ। यसले मलाई नै दुःख हुन्छ भनेर बुवाले नखेल भन्नु हुन्थ्यो’, सन्दीपा भन्छिन्, ‘तर, खेल्न नपाउँदा आफूलाई बेचैन हुन्थ्यो। अब फेरि कहिले खेल्न पाउँला भनेर सोचिरहन्थें।’

वैदेशिक रोजगारीका लागि दुबई पुगेका शुभराज त्यसपछि जापान पुगे। उनी जापान गएपछि सन्दीपाले पुनः खेललाई अगाडि बढाइन्। खेलप्रति निकै लगनशील सन्दीपाले विभिन्न प्रतियोगितामा पदक पनि जित्न थालिन्। उनी पदक जितेपछि बुवालाई भन्ने गर्थिन्। पहिले त शुभराजले छोरीलाई गाली गर्थे। तर, छोरीको इच्छा खेलकुदमै भएको बुझेपछि उनले छोरीलाई नखेल भन्न छाडे। बरु उनलाई सपोर्ट गर्न थाले। अहिले सन्दीपालाई बुवाआमा दुवै जनाको सपोर्ट छ। छोरीको सफलतामा दुवै खुसी पनि छन्।

सन्दीपाले थुप्रै घरेलु प्रतियोगितामा पदक जितेकी छन्। सन् २००८÷०९ मा आयोजना भएको ‘फस्ट युथ गेम्स’मा उनले स्वर्ण पदक जितिन्। सन् २०१० मा भएको ‘सेकेन्ड युथ गेम्स’मा स्वर्ण, नेपाल खेलकुद महासंघको आयोजनामा भएको पहिलो र दोस्रो संस्करणको नेकोस तेक्वान्दो च्याम्पियनसिपमा पनि उनले पहिलो स्थान नै हात पारिन्। यस्तै चौथो कोटेश्वर आमन्त्रण तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जित्नुका साथै उनी प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिएकी थिइन्।

यसैगरी १२औं तेक्वान्दो च्याम्पियनसिपमा भने उनले दोस्रो स्थान हात पारिन्। यस्तै सन् २०१५ मा आयोजना भएको प्रथम मनमैंजु काठमाडौं जिल्लास्तरीय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण, डोर टु डोर च्याम्पियनसिपमा स्वर्ण पदक जितिन्। यसैगरी २०७० मा आयोजना भएको अन्तर डोजाङ तेक्वान्दो च्याम्पियनसिपमा पहिलो, १२औं राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा दोस्रो, २००९ मा भएको नारायणी अञ्चलस्तरीय प्रतियोगितामा दोस्रो, ओराकल अन्तरविद्यालय च्याम्पियनसिपमा दोस्रो र २०६९ मा भएको डोर टु डोर च्याम्पियनसिपमा दोस्रो स्थान नै हात पारिन्।

घरेलु प्रतियोगितामा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएकी सन्दीपालाई शुभराजले पनि जापानमै बोलाए। डिपेन्डिङ भिसामा जापान पुगेकी उनले उच्च शिक्षाको अध्ययन उतै गरिन्। जापानमा रहँदा पनि उनले विभिन्न प्रतियोगितामा प्रतिस्पर्धा गरिन्। सन् २०१६ मा अमेरिकाको पोर्टल्यान्डमा भएको आईएफओटीसी च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै स्वर्ण पदक जित्न सफल भइन्। सन् २०१८ मा स्पेनको बार्सिलोनामा भएको २०औं जोर्डन ओपनमा तेस्रो स्थान हासिल गरिन्। यसअघिका हरेक प्रतियोगितामा ग्योरोगीतर्फ प्रतिस्पर्धा गर्दै आएकी सन्दीपाले कोरोनाका कारण लकडाउन भएपछि पुम्से पनि सिकिन्। 

युट्युबमा हेरेर पुम्से सिकेकी उनले सन् २०२० मा भएको काठमाडौं इन्टरनेसनल भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिपमा स्वर्ण पदक जितिन्। यस्तै सन् २०२१ मा डीजी एसियन तेक्वान्दो च्याम्पियनसिपमा पनि स्वर्ण पदक जित्न सफल भइन्। गत अगस्ट १९ मा मलेसियामा आयोजना भएको सराबाक बोर्नियो कप इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक जितेकी थिइन्। महिलाको १८ देखि ३० वर्षसम्मको पुम्सेमा प्रतिस्पर्धा गर्दै उनले रजत पदक जितेकी हुन्। यस्तै गत अक्टोबर २१ मा भएको दोस्रो टोरोन्टो ओपन अनलाइन तेक्वान्दो पुम्से च्याम्पियनसिपमा पनि स्वर्ण पदक जितिन्। उनले श्रीचन्द्र कार्कीसँग मिलेर ३० वर्षमुनिको पेयर पुम्सेमा स्वर्ण पदक जितेकी थिइन्।

विभिन्न प्रतियोगितामा प्रतिस्पर्धाका साथै केही प्रतियोगितामा भने उनले अफिसियल रेफ्रीजर्ज र टेक्निकलको भूमिका पनि निर्वाह गरेकी छन्। उनले गत जुलाई १ र २ मा अमेरिकामा भएको भर्जिनिया कपमा अफिसियल रेफ्रीजर्जको भूमिका निर्वाह गरेकी थिइन्। गत सेप्टेम्बर २३ देखि २५ सम्म पोखरामा भएको तेस्रो माउन्ट एभरेस्ट जी–टु तेक्वान्दो च्याम्पियनसिपमा टेक्निकल टिमको भूमिका निर्वाह गरेकी थिइन्। यही वर्ष अमेरिकामा मास्टर्स ट्रेनिङ गरेकी सन्दीपाले लेबल वान कोचिङ कोर्स पनि उत्तीर्ण गरेकी छन्। यही वर्ष इन्टरनेसनल अनलाइन रेफ्री कोर्स पनि उत्तीर्ण गरिन्।

गत अगस्ट २५ मा भियतनाममा आयोजना भएको ११औं एसियन जुनियर तेक्वान्दो च्याम्पियनसिपमा उनले नेपाली टोलीको प्रशिक्षकको भूमिका निर्वाह गरेकी थिइन्। जापानमा रहँदा सन्दीपाले टोकियोको किङ बम्स डोजाङमा प्रशिक्षण गर्छिन् भने एभरेस्ट तेक्वान्दो डोजाङमा खेलाडीलाई प्रशिक्षण गराउँछिन्। नेपालमा रहँदा उनले सीतापाइला तेक्वान्दो डोजाङका खेलाडीलाई पनि प्रशिक्षण गराउँछिन्। उनी सीतापाइला तेक्वान्दो डोजाङकी सहायक प्रशिक्षक पनि हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.