शोकमा डुब्यो महोत्तरीको पिपरा, सहनाई बज्ने घरमा अचानक सन्नाटा
महोत्तरी : सवारी दुर्घटनामा एकै साथ दुई छोरीको मृत्यु भएको खबरले रामगोपालपुर नगरपालिका-७ सहसौलाका जीवछ साह अहिले अचेत छन्।
शनिबार एकाबिहानै जन्ती गएकी माहिली छोरी १८ वर्षीय मञ्जु र कान्छी छोरी १३ वर्षीय सिर्जनाको ज्यान गएपछि उनको अवस्थामा परिवर्तन भएको हो।
त्यस्तै छोरा र दिदी गुमाएका पिपरा गाउँपालिकाका रूपेश साह पनि स्तब्ध छन्। रूपेशका ११ वर्षीय छोरा यश कुमार र उनकी दिदी धनुषा मुखियापट्टी मुसहरनिया गाउँपालिका-३ तुल्सीयाही घर भएकी ३५ वर्षीया रुवीकुमारी साहको दुर्घटनामा परी ज्यान गएको छ।
उनकी श्रीमती २६ वर्षीय प्रियंका साह गम्भीर घाइते भएकी छिन्। उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। तीनवटै घटनाले पीडित रूपेशलाई अहिले सोच्न सक्ने क्षमता छैन।
महोत्तरीतर्फ आइरहेको महिला र बालबालिकासहित जन्ती सवार ना १ ज ८३९६ नम्बरको विंगर र पश्चिमबाट पूर्व जाँदै गरेको ज १ च १४९६ नम्बरको भ्यान ठोक्किँदा दुर्घटना भएको हो।
सो दुर्घटनामा परी पाँच जना जन्तीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। दुर्घटनामा परी जन्तीसहित विंगरका चालक धनुषा धनौजी गाउँपालिका-४ का अब्दुल मन्सुरको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ।
विवाहको घरमा अचानक शोकको धुन बज्न थाले
पिपरा गाउँपालिका-२ गम्हरीयाका सन्जीव साह विवाह गर्न २० वटा सवारी साधनमा जन्तीहरूलाई लिएर विवाह गर्नका लागि इटहरीको खनारचोक प्रस्थान गरे।
विवाहको खुशीले हर्षित भएका गाउँवासीले उनलाई बिदाइ गरेका थिए। तर बिदाइ भएको १२ घण्टा नबित्दै अहिले गाउँ शोकाकुल भएको छ।
नवविवाहित दुल्हा र दुल्हीको स्वागतका लागि घरलाई नै झिलमिली पारि सजाएको घरमा अहिले सन्नाटा छाएको छ। हरेकमा चिन्ता छाएको छ। गाउँका हरेक वर्गका मानिसहरू चिन्तित छन्।
सवारी दुर्घटनाको खबरले सन्जीवको ससुराली घरमा पनि सन्नाटा छाएको छ। बेहुलाका काका देवु साहले सञ्चारकर्मीसँग भने 'बेहुली भित्र्याउने तयारीमा रहेको परिवारभित्र अकल्पनीय क्षति भएको छ। हाम्रो गाउँ र परिवार नै शोकमा डुबेको छ।'
यसरी भएको दुर्घटना
महोत्तरी पिपरा गाउँपालिका-२ गम्हरीयाका सन्जीव साहको विवाहमा शुक्रबार तामझामका साथ जन्तीहरू इटहरीको खनारचोकतर्फ प्रथान गर्यो।
राति इटहरीमा स्वयम्वरको कार्यक्रम सकाएर महोत्तरी (घर) तर्फ फर्किने क्रममा जन्तीहरू सवार जीप धनुषाको वीरेन्द्रवजारमा शनिबार एकाबाहानै दुर्घटनामा परेको हो।
जसमा परी ५ जनाको मृत्यु हुनुको साथै ९ जना जन्ती घाइते छन्। दुर्घटनामा ४ जना बेहुलाका आफ्न्त (जन्ती) र एक जना सवारी चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। सो दुर्घटनामा परि घाइते भएका ९ जनाको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
धनुषाका प्रहरी प्रवक्ता डीएसपी दीपक रायका अनुसार घाइते हुनेहरूमा महोत्तरी लोहारपट्टी नगरपालिका–४ कि १४ वर्षीया प्रतीक्षा साह र १४ वर्षीया कविता साह, धनुषाको मुखियापट्टी मुसहरनिया ४ का ३५ वर्षीय सञ्जय साह, ३ वर्षीया अरुसा साह, ६ वर्षीय अर्नव साह, १० वर्षीया आयुश साह, पिपरा गाउँपालिका २ कि २६ वर्षीया प्रियंका साह, ४ वर्षीय अंयुस साह र ५ वर्षीय प्रतिका साह रहेका छन्।
पोस्टमार्टम गरी आफन्तजनको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !