डेंगुका तीन ‘सेरोटाइप’ पहिचान

डेंगुका तीन ‘सेरोटाइप’ पहिचान

काठमाडौं : डेंगु लागेर साढे पाँच महिना अवधिमा ६२ जनाको ज्यान गएपछि यो रोगका तीन समूह (सेरोटाइप) पहिचान भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा सेरोटाइप १, २ र ३ ले मुलुकभर संक्रमण गराएको पत्ता लागेको हो। प्रयोगशालाकी निर्देशक डा. रुणा झाले यससम्बन्धी रिपोर्ट स्वास्थ्य सेवा विभागमा बुझाइसकेको बताइन्। ‘डेंगुका तीन किसिमका सेरोटाइप पुष्टि भएको छ। रिपोर्ट बुझाइसकेका छौं’, निर्देशक डा. झाले भनिन्। 

विभागले भने उक्त प्रतिवेदन एक सातासम्म सार्वजनिक गरेको छैन। विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगुको सेरोटाइप छुट्ट्याउन सातवटै प्रदेशबाट नमुना संकलन गरेको थियो। महाशाखाका निर्देशक डा. चुमनलाल दासले मुलुकभर डेंगुका सेरोटाइप १, २ र ३ फैलिएको पुष्टि भएको स्वीकार गरे। ‘संकलित नमुना सबैको सेरोटाइपको नतिजा आइसकेको छैन’, निर्देशक डा. दासले अन्नपूर्ण पोस्ट्सँग भने, ‘दुई–अढाई सय जति नमुनाको रिपोर्ट प्राप्त भएको छ। अधिकांशमा सेरोटाइप १, २ र ३ देखिएको छ।’ बाँकी नमुनाको रिपोर्ट आएपछि सार्वजनिक गरिने डा. दासले बताए।

यसअघि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको नमुना परीक्षणमा डेंगुुको सेरोटाइप १ र ३ फैलिएको पुष्टि भएको थियो। अस्पतालको ल्याबमा १२ वटा नमुना परीक्षण गरिएको थियो। लामखुट्टेको टोकाइबाट हुने डेंगु गत साउनदेखि हालसम्म ५३ हजार ९ सय ५१ जनामा देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ। 

मुलुकमा सन् २००४ मा पहिलो पटक डेंगु संक्रमण देखिएको हो। सो वर्ष एक जनामा संक्रमण पुष्टि भएको थियो। सन् २००५ मा डेंगु संक्रमण पुष्टि हुन सकेन। सन् २००६ देखि हालसम्म हरेक वर्ष डेंगुको संक्रमण फैलिरहेको छ। यस वर्ष मुलुकका ७७ वटै जिल्लामा डेंगु संक्रमण फैलिएको हो। एडिस एजेप्टि र एल्बोपिक्टस जातको लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण हुन्छ। तराई क्षेत्रमा देखिने डेंगु यस वर्ष पहाडी र हिमाली जिल्लामा पनि फैलिएकाले जोखिम बढेको विज्ञहरू बताउँछन्। 

किन छुट्ट्याइन्छ सेरोटाइप ? 

स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलका अनुसार सेरोटाइप छुट्ट्याउँदा आगामी वर्ष डेंगु संक्रमण नियन्त्रणमा सहयोग पुग्नेछ। ‘सेरोटाइप नछुट्ट्याउँदा भविष्यमा संक्रमण नियन्त्रण र उपचारमा गाह्रो पर्न सक्छ’, डा. पोखरेलले भने, ‘त्यही भएर संकलित सबै नमुनाको सेरोटाईप छुट्ट्याउन लागिपरेका हौं।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन डेंगुको सेरोटाइप पहिचान हुँदा भविष्यमा दिसानिर्देश हुने बताउँछन्। ‘डेंगु संक्रमितलाई देखापर्ने जटिलताको सम्बन्धमा विश्लेषण गर्न सजिलो हुन्छ’, डा. पुनले भने, ‘सेरोटाइप छुट्ट्याउँदा सर्वसाधारणलाई कुन सेरोटाइपको संक्रमण भएको भन्ने थाहा हुन्छ। सजग हुन सहयोग पुग्छ।’

भविष्यमा पनि डेंगुको महामारी फैलने जोखिम रहेकाले सरकारलाई स्वास्थ्य जनशक्ति थप गर्ने र पूर्वाधार निर्माण गर्ने लगायतका योजना बनाउन सजिलो हुने डा. पुनको भनाइ छ। 

सरकारले सातवटै प्रदेशमा डेंगु नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरेको थियो। तर, उक्त अभियान प्रभावकारी हुन नसकेको विज्ञहरू बताउँछन्। जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनीका अनुसार, वर्षायाम सकिएपछि डेंगु नियन्त्रण हुने सरकारले अपेक्षा राख्दा समयमै डेंगु नियन्त्रण प्रभावकारी हुन नसकेको हो।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.