धान उत्पादन बढ्यो
विराटनगर : अन्नको भण्डार मानिने प्रदेश १ मा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ। गत वर्षको तुलनामा यस वर्ष धान १ दशमलव २७ प्रतिशतले वृद्धि भएको हो । ३ लाख ४० हजार ८ सय २९ हेक्टर धान लगाउने क्षेत्रफलमध्ये ३ लाख ३१ हजार ८८ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएको थियो । यस वर्ष प्रदेश १ मा १२ लाख ९८ हजार ८ सय ५५ दशमलव १५ मेट्रिकटन धान उत्पादन भएको हो।
गत वर्ष १२ लाख ८२ हजार ५ सय ७३ मेट्रिकटन धान उत्पादन भएको भएको थियो । पोहोर बेमौसमी पानीसँगै आएको बाढीले गर्दा धान उत्पादनमा कमी आएको थियो ।
बाढीले धान भित्र्याउने बेलामा खेतमा धान बोट नै पुरिनुका साथै बालुवा थुपारेकाले गत वर्ष धान उत्पादनमा कमी आएको थियो। कृषि विकास निर्देशनालय प्रदेश १ का अर्थविज्ञ नेत्रमणि काफ्लेका अनुसार झापामा ४ लाख २३ हजार ५ सय ९६ मेट्रिकटन धान उत्पादन भएको छ। पूर्वी हिमाली जिल्ला सोलुखुम्बुमा ३५ सय ८८ मेट्रिकटन धान उत्पादन भएको निर्देशनालयले जनाएको छ।
यस्तै, मोरङमा ३ लाख ४३ हजार ८ सय ८२ मेट्रिकटन, सुनसरीमा २ लाख ११ हजार २ सय, ताप्लेजुङमा २० हजार ६ सय ३३, पाँचथरमा २१ हजार ६७, इलाममा ४८ हजार ५६, धनकुटामा २४ हजार ६३ मेट्रिकटन धान उत्पादन भएको छ।
तेह्रथुममा २२ हजार २ सय ३२, संखुवासभामा ३८ हजार ७ सय ८२, भोजपुरमा ४९ हजार ४ सय ६७, उदयपुरमा ५३ हजार ५ सय २०, खोटाङमा २५ हजार ७ सय ९६, ओखलढुंगामा १२ हजार ८ सय ८८ मेट्रिकटन धान उत्पादन भएको कृषि निर्देशनालय विराटनगरले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !