विद्यार्थीलाई कारबाही गर्ने निर्णयबाट 'ब्याक' भए मेयर
महोत्तरी : विद्यार्थी निष्काशन गर्ने खबर सामाजिक सञ्जालमा आलोचित भएपछि गौशाला नगरपालिकाको कार्यालयले अन्ततः विद्यार्थी निष्काशन गर्ने निर्णय फिर्ता लिएको छ।
जसअनुसार गौशालास्थित राष्ट्रिय माध्यमिक विद्यालय नवराजपुरका कक्षा ९ र १० का पढने विद्यार्थीहरू पूर्ववत रूपमा शिक्षण गतिविधिमा सक्रिय भएका छन्। आज बिहान नगरप्रमुख डा. दिपेन्द्र महतो लगायतका टोली विद्यालयमा पुगेर विद्यार्थी निष्काशन गर्ने निर्देशनलाई उल्टाइएको हो।
सोमबार बिहान नगरप्रमुखसँग आएको टोलीले विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक र शिक्षकहरूसँग परामर्श गरी आन्दोलित विद्यार्थीहरूलाई विना शर्त पढाइनेमा सहमति जनाएका हुन्।
आइतबार शिक्षकको माग गर्दै विद्यार्थीहरू आन्दोलित भएको भन्दै नगरप्रमुख महतोले एक साताका लागि आन्दोलित विद्यार्थीलाई विद्यालयबाट निष्काशन गर्ने मौखिक निर्देशन दिएको थियो।
विद्यार्थी निष्काशन गर्ने खबर सामाजिक सञ्जालमा आलोचित भएपछि सो निर्णयलाई एकाएक उल्टाएर पठनपाठनलाई निरन्तरता दिइएको विद्यालयका प्रधानाध्यापक शुभकरण यादवले जानकारी दिए।
प्रधानाध्यापक यादवले भने, ‘नजिकमा आइरहेको परीक्षालाई ध्यानमा राखेर सो निर्णयप्रति नगरप्रमुखले सच्चाइएको हो। नगरप्रमुख आज विहान विद्यालयमा आएर ती विद्यार्थीहरूलाई पढाउनका लागि निर्देशन दिएपछि कक्षा ९ र १० का विद्यार्थीहरू नियमित रूपमा पठनपाठनमा सक्रिय भएका छन्।’
नगरपालिकाको कार्यालयले सार्वजनिक गरेको नगरशिक्षकको अन्तिम नतिजापछि केही दिनमै सो विद्यालयमा आवश्यक मात्रामा शिक्षक पठाइने गौशाला नगरपालिकाको कार्यालय स्रोतले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !