मनास्लुमा हिमचितुवाको खोजी
गोरखा : मनास्लु संरक्षण क्षेत्र (एमक्याप)को नुब्री क्षेत्रमा गत वर्ष हिमचितुवा गणना गरेको टोलीले यसपटक चुम क्षेत्रमा गणना सुरु गरेको छ। ग्लोबल चेञ्ज रिसर्च इन्स्टिच्युट, एकेडेमी अफ साइन्स अफ द चेक रिपब्लिक(चेक ग्लोब)का डा. बिक्रम श्रेष्ठ र त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थान (हेटौंडा क्याम्पस)का सचित तिमिल्सिनाको टोलीले सोमबारदेखि हिमचितुवाको गणना सुरु गरेका हुन्।
मनास्लु संरक्षण क्षेत्रअन्तर्गत चुम उपत्यकाको ३ सय वर्गकिलोमिटर क्षेत्रमा ६० वटा क्यामेरा जडान गरी ६० दिनसम्म हिमचितुवाको अध्ययन र गणना गर्ने बिक्रम श्रेष्ठले बताए। हिमचितुवाको भाले र पोथीको भेट हुने सिजन भएकाले यो सिजनमा अध्ययन गर्न थालिएको उनले बताए।
‘
यो सिजन भनेको हिमचितुवाको भाले र पोथीको मिटिङ सिजन हो’, डा. श्रेष्ठले भने, ‘त्यति मात्र होइन। यो सिजनमा हिमचितुवा तलतल झर्ने र गाउँबस्तीका मान्छेहरू पनि गाउँ छाडेर सहर झर्ने सिजन पनि भएकाले यतिबेला हिमचितुवा अध्ययनका लागि उपयुक्त समय हो।’ साथै बर्खा सिजनमा हिमचितुवाको पाइलाको डोब मेटिने तर अहिले डोब रहिरहने भएकाले पनि यतिबेला गणना गर्न सुरु गरिएको उनले बताए।
टोलीले सोमबारदेखि चुम उपत्यकाका विभिन्न विशेष क्षेत्रमा अत्याधुनिक क्यामरा जडान गर्नेछन्। ‘यसको बासस्थानले धेरै ठूलो क्षेत्र ओगटेको हुन्छ। हिमचितुवा समूह बनाएर बस्दैन, एक्लाएक्लै बस्छ। एउटा हिमचितुवा कम्तीमा आठ सय किलोमिटरदेखि १५ सय किलोमिटर क्षेत्रभित्र फैलिएर बसोबास, चरिचरण गरेको हुन्छ ।’
डा. श्रेष्ठ भन्छन्, ‘त्यसैले हामीले ३ हजार मिटरभन्दा माथि ५५ सय मिटर उचाइसम्मको ३ सय स्क्वायर किलोमिटर क्षेत्रमा ६० वटा क्यामरा जडान गरी हिमचितुवाको मनिटरिङ कार्य सुरु गर्छौं। फागुनसम्म मनिटरिङ गरेपछि यसको आधारभूत तथ्यहरू पत्ता लाग्छ।’
पोथी हिमचितुवा धेरै हिँड्डुल नगर्ने, पुरुष जाति भने मनास्लु क्षेत्रबाट लाङटाङ तथा सगरमाथा राष्ट्रिय निकुञ्जसम्म पनि पुगेको हुनसक्ने उनले बताए। गत वर्ष नुब्री क्षेत्रमा मनिटरिङ गर्दा तीनदेखि चारवटासम्म हिमचितुवा रहेको तथ्य भेटिएको उनले बताए। विगतमा एमक्याप प्रमुख मधु क्षेत्रीले अध्ययन गर्दा एकदेखि दुईवटासम्म हिमचितुवा फेला पारेको नुब्री क्षेत्रमा यो संख्या बढेर तीन वा चारवटासम्म पुगेको हो। यसलाई सन्तोषजनक मान्न सकिने उनको भनाइ छ।
लोपोन्मुख प्रजाति मानिने हिमचितुवा एसियाका १२ देशमा रहेकामा गोरखामा पनि हुनुले जिल्लाको गौरव मान्न सकिन्छ। ‘नेपालको अपिनप्पा, हुम्ला, से–फोक्सुन्डो, अन्नपूर्ण संरक्षण क्षेत्र, मनास्लु संरक्षण क्षेत्र, लाङ्टाङ राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज र कञ्चनजंघा क्षेत्रमा हिमचितुवा पाइने अध्ययनले देखाएको छ’, श्रेष्ठले भने, ‘सबैभन्दा धेरै से–फोक्सुण्डो र अन्नपूर्ण संरक्षण क्षेत्रमा पाइन्छ। सगरमाथामा २००६ मा जम्मा ६ वटा रहेकामा २०१५ मा घटेर जम्मा तीनवटा फेला परेको छ।’
हिमचितुवाको अध्ययन, अनुसन्धान र गणनाले संरक्षित क्षेत्रलाई कहाँसम्म विस्तार गर्ने वा कति साँघुरो बनाउने भन्नेसम्मको आधार तयार पारिन्छ। हिमाली क्षेत्रको जैविक विविधतालाई सन्तुलित राख्न हिमचितुवाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिन्छ। मान्छेलाई हैरान पर्ने जंगली कुकुर, फ्याउराहरूलाई यसले सिकार बनाउने हुँदा मानव जनजीवनलाई सहयोगीको भूमिका निर्वाह गर्ने मानिन्छ।
प्रतिक्रिया दिनुहोस !