संकटमा सुप्रिम सहकारी

संकटमा सुप्रिम सहकारी

बुटवल : मापदण्डविपरीत कारोबार र फितलो नियमनले सहकारी संस्था आर्थिक संकटमा पुगेका छन्। रूपन्देहीमा कार्यक्षेत्र बनाएका केही सहकारीमा आर्थिक संकट देखिएपछि बचतकर्ता समस्यामा परेका हुन्। ऋण प्रवाहमा भएको लापरबाहीले सहकारी संकटमा पुगेको जानकार बताउँछन्।

सहकारीको नियमन प्रदेश र स्थानीय सरकारले गर्छन्। तर सहकारीको पछिल्लो अवस्थाका विषयमा यी दुबै निकाय बेखबर छन्। नियमनकारी निकायबाट भएको फितलो नियमनको फाइदा उठाउँदै सहकारीका ठूला लगानीकर्ताबाट साधारण सदस्यको बचत अपचलन भएको छ। सहकारीको बचत आफ्ना सदस्यबाहेक अन्यमा ऋण प्रवाह हुँदैन। तर सहकारीले पछिल्ला समय ग्रामीण क्षेत्रमा शाखा खोली रकम संकलन गर्ने र सहरी क्षेत्रका गैरसदस्यलाई लगानी गर्ने गरेका छन्।

रूपन्देही, कपिलवस्तुमा ५० जनाभन्दा बढी संकलक लगाएर रकम संकलन गर्ने सुप्रिम सहकारी आर्थिक संकटमा पुगेको छ। यो सहकारीले बचतकर्ताको सानो रकमको चेक साट्न सकिरहेको छैन। बिनाधितो ऋण लगानी गर्दा समस्यामा परेको सहकारीका सञ्चालक स्वीकार गर्छन्। सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी अध्यक्ष ओम गुरुङले बचतकर्ताको रकम संकलन गरेर प्रवाह गरेको ऋण लगानी नउठेपछि बचतकर्तालाई रकम फिर्ता गर्न केही समस्या भएको बताउँछन्। ‘विश्वासमा परेर लगानी गर्दा समस्या थपिएको छ,’ उनले भने। सोही सहकारीको राजमार्ग चौराह बुटवलमा रहेको शाखामा चेक साट्न पुगेकी पूजा श्रेष्ठले ३० हजारको चेक साट्न नपाएको गुनासो गरिन्। सहकारीले तीन दिनसम्म सिष्टम नचलेको भन्दै उनलाई फर्काउने गरेको थियो।

यो सहकारीमा दसंैअघिदेखि नै आर्थिक समस्या देखिएको हो। यहाँ दैनिक बचत लिन जानेको संख्या बढ्दो छ। सहकारी टोकन बाँडेर मिति तोकी पैसा लिन बोलाउने गरेको छ। सहकारी आर्थिक संकटमा पुगेको सूचना बुटवल उपमहानगरको सहकारी शाखामा पनि पुर्‍याइएको थियो। तर शाखाका कर्मचारीले अधिकार क्षेत्र बाहिर भन्दै बेवास्ता गरिदिए।

मूल कारोबार काठमाडौंमा लक्षित गरेर बुटवलमा कार्यालय सञ्चालन गरेको सुप्रिम सहकारीसहित अन्य सहकारीको गुनासो उपमहानगरपालिकामा आएको बुटवल उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख गुणाखर खनालले बताए। ‘सहकारीमा राखेका बचत संकटमा परेको सूचना प्राप्त भए पनि कार्यक्षेत्र बाहिरका सहकारी भएका कारण केही गर्न सक्ने अवस्था थिएन,’ उनले भने।

बचतकर्ताले मिलेसम्म त्यहाँबाट रकम झिक्न लागेका छन्। तर सहकारीले बचतकर्तालाई पूरा रकम दिन सकेको छैन्। सर्वसाधारणको रकम जम्मा गरेर बिनाधितो ऋण प्रवाह गरेको सुप्रिम सहकारी चरम आर्थिक संकटमा परेको बचतकर्ताहरू बताउँछन्।

सुप्रिम मात्रै नभई अन्य सहकारी संस्थामा पनि आर्थिक समस्या देखिएको छ। सहकारी आर्थिक संकटमा पुगेको सूचनापछि सबै सहकारीमा बचतकर्ताले रकम झिक्न थालेका छन्। सुप्रिम सहकारीले बुटवल बजारबाट मात्रै १ अर्व २० करोड रुपैयाँ संकलन गरी सहकारी ऐनविपरीत लगानी गरेको थियो। सो रकम लगानीकर्ताबाट फिर्ता नआएपछि समस्या परेको गुरुङले बताए। हाल सहकारीले बचतकर्ताको रकम तालिका बनाएर दिइरहेको छ।

अध्यक्ष गुरुडका अनुसार दैनिक १० लाख रुपैयाका दरले बचतकर्ताहरूलाई फिर्ता गर्ने योजनाअनुसार दैनिक तालिका बनाएर ५० जनालाई रकम फिर्ता गरेको उनले बताए। सहकारीले अहिले सूचना जारी गरेर दैनिक १० लाख सम्म रकम फिर्ता गरिरहेको छ। सहकारीको यो तालिकाअनुसार सबै बचतकर्ताको रकम फिर्ता गर्न कम्तीमा पाँच वर्ष लाग्ने अवस्था देखिन्छ।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.