नेपालगन्ज तताउँदै गुञ्जियो नेपथ्य

नेपालगन्ज तताउँदै गुञ्जियो नेपथ्य

नेपालगन्ज : नेपालको लोकप्रिय सांगीतिक समूह नेपथ्य व्याण्डले बिहीबार नेपालगन्जमा सांगीतिक माहोल तताएको छ। पुस लाग्दै गर्दा एक्कासी चिसो बढिरहेको बेला मानवताका लागि सांगीतिक कार्यक्रमअन्तर्गत नेपथ्यले लाइभ कन्सर्ट गरेको थियो। 

बिहान ११ बजेसम्म हुस्सु कुहिरो बाक्लै थियो। जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार नेपालगन्जमा न्यूनतम् तापक्रम १०.५ र अधिकतम् तापक्रम २१.७ थियो। बिहीबार रातिको नेपथ्यको लाइभ कन्सर्टले दर्शकलाई भने जाडोको महसुस नै गराएन। 

के युवा ? के युवती सबै गीत संगितामा झुमेका थिए। चर्को घाम नलागेर दिनभर पनि जाडो थियो। राति ६ बजेदेखि ८ बजेसम्म २ घण्टाको कन्सर्ट थियो। शीत पर्ने रातिमा पनि दर्शकदीर्घालाई कुनै प्रवाह नै भएन। 

नेपथ्यका मुख्य गायक तथा अगुवा अमृत गुरुङले...रेशम, भेडाको ऊनजस्तो,  तालको पानी, छेक्यो छेक्यो देउराली डाँडा, उडायो रेलैले, जोमसोमे बजार, गाउँगाउँबाट उठ, तालको पानी माछीले खाने जस्ता एक दर्जन बढी कर्णप्रिय गीत गाए। दर्शकलाई पनि नचाए। लाइभ कन्सर्टमा गुरुङलाई सुरज थापालगायत शान्ति रायमाझीले मादल, निरज गुरुङले गिटार, सुविन शाक्यले बेस गिटार, धु्रव लामाले ड्रम बजाएर साथ दिएका थिए।

गायक गुरुङले गीत मात्र गाएनन्। गाउँदा गाउँदै नाच्थे। उफ्रिन्थे। दर्शकलाई नचाउन उत्प्रेरित पनि गर्थे। बेला बेलामा गीत, संगीत, देशको सांस्कृतिक विविधता, राष्ट्र र राष्ट्रियता अनि मानवताको विषयमा उत्प्रेरक विचार पनि प्रस्तुत गर्थे।

 गायक गुरुङले भने, ‘जसले सक्छ उसले दिने हो। जसको मन छ उसले दिने हो। हाम्रो समाज अरु कोही आएर बनाउने होइन। हामी आफैं आएर बनाउनु पर्छ। असहायलाई सक्दो सहयोग गरेर, दान, धर्म दिएर पुण्य कमाउने काम यही जुनीमा गरौं है।’

हेटौंडामा मुख्य कार्यालय रहेको मानव सेवा आश्रमले नेपालगन्जलगायत देशका सातै प्रदेशका १९ वटा जिल्लामा २३ वटा सेवा केन्द्र सञ्चालन गरिरहेको छ। केन्द्रले सहयोगापेक्षी (बेसहारा), अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारिरीक रुपमा कमजोर, सडक आश्रित मानवलाई आश्रय दिएको छ। खाने, लाउने, बस्नेदेखि लिएर औषधोपचार, मानसिक परामर्श अनि तालिम दिएर उनीहरूको अवस्थामा सुधार ल्याउने कामहरू हुँदै आएका छन्। 

आश्रमले कन्सर्ट अवलोकन गर्नका लागि प्रतिब्यक्ति १ हजार रुपैयाँ टिकट तोकेको छ। यस्तै बिद्यार्थीका लागि प्रतिब्यक्ति ५ सय रुपैयाँ तोकिएको छ। नेपालगन्ज आश्रमको आफ्नै शाखा भवनको निर्माण शुभारम्भसँगै बेसहाराहरूको खाना, नाना र छानाका निम्ति अक्षयकोषको स्थापना गरिने आयोजकले जनाएको छ। 

आठौं राष्ट्रिय खेलकुद प्रतियोेगिताका बेला ४० लाख रुपैयाँ खर्चेर लगाइएको बरमुण्डा दुबोमाथि खुला आकासमा भव्य मञ्च बनाइएको थियो। नेपथ्य व्याण्डको अत्याधुनिक साउण्ड सिस्टमबाट निस्केको ध्वनिसँगै त्यही दुबोमा दाइ हाल्दै दर्शकले बुकुर्सी मार्दै कम्मर मर्काएर नाचे। गीतमा झुम्दै उफ्रिए। 

स्क्रिनमा तीन वटा नेपालको झन्डा देखाउँदै उनले अन्तिम गीतको रुपमा रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो गाएका थिए। त्यत्तिबेलासम्म रातिको ठीक ८ बजेको थियो। दर्शकहरू वान्समोर भनिरहेका थिए। ११ वर्षपछि नेपालगन्जमा आएको स्मरण गर्दै गायक गुरुङले आयोजकलाई धन्यवाद दिँदै भने, ‘११ वर्षपछि नेपालगन्जमा आउन पाइयो। आयोजक सबैलाई धन्यवाद। भाग्यमा भयो भने फेरि भेटौला है।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.