डाडाखेतमा सवस्टेशन निर्माण सुरु

डाडाखेतमा सवस्टेशन निर्माण सुरु

बेनी: म्याग्दी र राहुघाट नदीमा निर्माणाधीन तथा निर्माणको क्रममा रहेका आयोजनाबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रणालीमा आवद्ध गराउन सवस्टेशन र प्रशारण लाइन निर्माण सुरु भएको छ। 

नेपाल विद्युत प्राधिकरणले मालिका गाउँपालिका-७ विमदेखि रघुगंगा गाउँपालिका-३ राहुघाटको अम्वाङ जोड्ने १३२ केभी क्षमताको प्रशारण लाइन र दुवै ठाँउमा सवस्टेशन निर्माण थालेको हो। विद्युत प्राधिकरणको डाडाखेत-राहुघाट प्रशारण लाइन आयोजनाका प्रमुख रोशन अग्रवालले सवस्टेशनका उपकरण राख्ने ठाउँ बनाउन शुरु भएको र प्रशारण लाइनका टावर रहने ठाउँको जग्गा अधिग्रहण प्रक्रिया थालिएको जानकारी दिए। 

सन् २०२१ को डिसेम्वर ३१ मा भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी)सँग २६ मिलियन अमेरिकी डलरमा सवस्टेशन र प्रशारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो। आयोजनाको ठेक्का अवधी ३० महिनाको छ।

ठेकेदार कम्पनीले स्थलगत सर्वेक्षण र जग्गा व्यवस्थापनको काम सकेर पूर्वाधार निर्माणलाई तिव्रता दिएको जनाएको छ। २५ किलोमिटर दूरीको १२ केभी क्षमताको डबल सर्किट प्रशारण लाइनको ७७ वटा टावर निर्माण हुनेछन्। टावर निर्माण हुने जग्गाको पहिचान र नाचजाँच तथा अधिग्रहणका लागि मुआब्जा वितरण सुरु भएको छ। 

२२ वटा टावर रहने जग्गाका धनीलाई एक करोड ९० लाख २८ हजार ७१० मुआब्जा वितरण गर्न लागिएको हो। ‘पहिलो चरणमा रघुगंगा गाउँपालिकाको ३, बेनी नगरपालिकाको ९ र ५ तथा मंगला गाउँपालिकाको १ नम्बर वडाका ५० कित्ता जग्गाको मुआव्जा वितरण पुष १ गतेदेखि थालिएको हो,’ आयोजना प्रमुख अग्रवालले भने ‘थप टावर बन्ने जग्गाको पहिचान, सार्वजनिक जग्गामा नापजाँच र दररेट निर्धारणका लागि अध्ययनको काम जारी छ।’

जिल्ला प्रशासन कार्यालय म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माको संयोजकत्वमा मुआब्जाको दररेट निर्धारण उपसमिति गठन भएको थियो। उपसमितिको सिफारिसको आधारमा प्रतिरोपनी  नौ लाख देखि १३ लाख ५० हजार रुपैयाँका दरले मुआब्जा निर्धारण भएको छ। सहायक प्रजिअ शर्माले प्रमाण खुल्ने कागजात र वडा कार्यालयको सिफारिससहित मुआब्जाका लागि आयोजनाको बेनी स्थित कार्यालयमा सम्पर्क गर्न सम्बन्धित जग्गाधनीहरुलाई आग्रह बताए।   

उपसमितिले यस अगाडी विभिन्न आयोजनामा कायम भएको जग्गाको प्रतिरोपनी मूल्य, मुद्रास्फिति दर, जग्गाको उर्वरशिलता र उपयोग, सडकको पहुँच, जग्गाको प्रकृति, चलनचल्तीको मूल्यका सम्बन्धमा वडा कार्यालयको सिफारिस, जनप्रतिनिधि, सरोकारवाला र आयोजना प्रभावितसँगको छलफल र प्राप्त सुझावको आधारमा मुआब्जाको दररेट निर्धारण गर्न सिफारिस गरेको थियो। पाँच कित्ता गुठीको जग्गाका मोहीहरुको मुआब्जाका विषयमा निर्णयका लागि गुठी संस्थानमा सिफारिस र पत्राचार गरिएको छ। 

सवस्टेशन र प्रशारण लाइन निर्माणको काममा जग्गा अधिग्रहणलाई मुख्य उपलब्धी मान्ने गरिन्छ। रघुगंगा गाउँपालिकाको वडा नम्बर ३, बेनी नगरपालिकाको ९, १०, मंगला गाउँपालिकाको वडा नम्बर १, मालिकाको वडा नम्बर ६ र ७ मा प्रशारण लाइनको टावर निर्माण हुनेछन्। डाडाखेत सबस्टेशनमा १३३/३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रबिधिको उपकरण जडान गरिने भएको छ। 

२२०/१३२/३३ केभी, २०० एमभीए क्षमताको उपकरण जडान हुने राहुघाट सबस्टेशन जिआइएस प्रबिधिको हुने आयोजना प्रमुख अग्रवालले बताए। एशियाली विकास बैंकको ऋणमा प्रशारण लाइन र सबस्टेशन निर्माण गर्न लागिएको हो। डाडाखेतमा सबस्टेशन बनाउन पाँच वर्षअघि ५१ रोपनी र राहुघाटको अम्बाङमा करिब ९० रोपनी जग्गा अधिग्रहण गरेर प्रारम्भिक चरणको पूर्वाधार निर्माण भएको छ। 

दुबै ठाउँमा जग्गा ब्यवस्थापन, घेराबार, पहुँचमार्गका साथै डाडाखेतमा गार्ड र कर्मचारी आवास गृह भवनसमेत निर्माण भएको छ। संसारको सातौ अग्लो धवलागिरी हिमालको फेदीबाट बग्ने म्याग्दी नदीमा १२ वटा जलविद्युत आयोजना निर्माणको चरणमा छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.