गोरखा नगरपालिकामा आधारभूत स्वास्थ्य सेवा
गोरखा : गोरखामा आधारभूत स्वास्थ्य सेवा सुरु हुने भएको छ । संविधानको धारा ३५, १ अनुसार नगरपालिकाले आधारभूत स्वास्थ्य सेवा दिने तयारी गरेको हो ।
आधारभूत स्वास्थ्य सेवा सञ्चालन गर्न तयार गरिएको आधारभूत स्वास्थ्य सेवा सञ्चालन निर्देशिका २०७९ गत शुक्रबार सम्पन्न नगर कार्यपालिकाको बैठकले अनुमोदन गरेको छ । कार्यान्वयनका सन्दर्भमा नगरपालिका र गोरखा अस्पताल बीच धेरै चरणमा बैठक बसिसकेको र अब छिट्टै कार्यान्वयन गर्ने स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले जानकारी दिए ।
आधारभूत स्वास्थ्य सेवासम्बन्धी निर्देशिकामा १० वटा विभिन्न बुँदाहरु समावेश छन् । यो कार्यान्वयन भएपछि आधारभूत स्वास्थ्य सेवा दिने गोरखा नगरपालिका देशभरकै पहिलो पालिका बन्ने छ ।
नेपालको संविधान २०७२ को धारा ३५, १ मा आधारभूत स्वास्थ्य सेवालाई मौलिक हकका रुपमा परिभाषित गर्दै यो सेवा दिने जिम्मेवारी स्थानीय तहको भएको उल्लेख छ । ‘मौलिक हक भनेर परिभाषित भइसके पनि कार्यान्वयन भने मेरो जानकारीमा रहेसम्म कुनै पनि पालिकाले गरेका छैनन्’, रेग्मीले भने, ‘अब नेपालमै पहिलो पटक हामीले कार्यान्वयन गर्दैछौँ ।’ आधारभूत स्वास्थ्य सेवाअन्तर्गत विभिन्न १० वटा सूचकहरु रहेको उनको भनाइ छ ।
आधारभूत स्वास्थ्य सेवा लागु भएपछि पाँचबर्षभन्दा मुनिका बालबालिकाका लागि सरकारले तोकेका सबै खोप नगरपालिकाले निशुल्क रुपमा उपलब्ध गराउनु पर्ने छ । त्यस्तै निमोनिया, झाडापखाला, दादुरा, रुबेला, कुपोषण र मलेरिया रोगको नगरपालिकाले निशुल्क उपचार गराउनु पर्ने, गर्भवती जाँच, सुत्केरी र सुत्केरीपछिको निशुल्क रुपमा स्वास्थ्य जाँच र उपचार सेवाको नगरपालिकाले व्यवस्था गर्ने यस अन्तर्गत पर्दछ ।
त्यस्तै पोषण जाँच गर्ने र कुपोषण भएमा पोषणको व्यवस्था गर्ने तथा नियमित रुपमा भिटामिन कार्यक्रमअन्तर्गत बालभिटा, जिङ्क, आइरन चक्की खुवाउने कार्यक्रम पनि आधारभूत स्वास्थ्यसेवा भित्र पर्ने रेग्मीले बताए । परिवार नियोजनलाई व्यवस्थित गर्ने पनि आधारभूत स्वास्थ्यसेवा अन्तर्गत पर्ने उनको भनाइ छ ।
आधारभूत स्वास्थ्य सेवाअन्तर्गत अब नगरपालिकाले सबै खालका सरुवा रोगको निशुल्क परीक्षण र उपचार गराउनेछ । नसर्ने रोग पीडित र शारीरिक बिकलाङ्ग भएकाहरुको खोजी गर्ने र न्यूनिकरण गर्ने जिम्मेवारी पनि नगरपालिकाले पूरा गर्नेछ ।
गोरखा अस्पतालमा अलग्गै एकाइ तयार गरी नगरभित्रका ज्येष्ठ नागरिकहरुको नियमित स्वास्थ्य परीक्षण गर्ने र दीर्घरोगहरुको निशुल्क उपचार गर्ने दायित्व पनि नगरपालिकाले बहन गर्ने भएको छ । त्यसैगरी कार्डबाहक नगरबासीलाई १८ प्रकारका सर्जिकल सेवा, १९ प्रकारका प्रयोगशाला सेवा र ९८ प्रकारका औषधी निशुल्क उपलब्ध गराउने दायित्व पनि नगरपालिकाले बहन गर्ने स्वास्थ्य शाखा प्रमुख रेग्मीले बताए ।
त्यस्तै विद्यालय स्वास्थ्य शिक्षा, वातावरण प्रदुषण न्यूनिकरण अभियान सञ्चालन गर्ने, अकुपञ्चर, फिजियोथेरापी, योगा लगायतका अन्य स्वास्थ्य सेवा प्रवद्र्धन गर्ने उल्लेख भएको निर्देशिका नगरपालिकाले अनुमोदन गरिसकेको छ ।
आधारभूत स्वास्थ्य सेवाले नगरबासीको स्वास्थ्यसम्बन्धी मौलिक अधिकार सुनिश्चित हुने नगरपापालिकाका मेयर कृष्ण रानाले जानकारी दिए । ९८ प्रतिशतका औषधीहरु निशुल्क हुने, कतिपय विशेषज्ञ सेवा पनि उपलब्ध गराइने उनले बताए ।
कार्यान्वयनका सन्दर्भमा विभिन्न सरोकारवाला निकायसित धेरै पटक बैठक भइसकेकाले अब छिट्टै कार्यान्वयन हुने नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !