राहुघाटको सुरुङ निर्माणको काम ५० प्रतिशत सकियो
बेनी : म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको सुरुङ निर्माणको काम ५० प्रतिशत भएको छ।
प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर प्रर्वद्धक रहेको आयोजनाले आधाभन्दा बढी सुरुङ निर्माण सकिएको जनाएको छ।
आयोजनाका प्रोजेक्ट म्यानेजर राजबहादुर बिष्टले छ हजार २७० मिटर मध्य हालसम्म तीन हजार ६७५ मिटर सुरुङ निर्माण भएको जानकारी दिए।
अडिट ३ बाट सर्च साफ्ट जोड्ने २५ मिटर सुरुङ दुई वर्षअघिनै बनेको छ। अडित ३ बाट २ तर्फ एक हजार २६१ मिटर सुरुङ खनिएको छ।
सर्च साफ्टबाट विद्युतगृहतर्फ एक हजार ४९ मिटर सुरुङ मध्य ६८६ मिटर खनिसकिएको आयोजनाले जनाएको छ।
राहुघाट जलविद्युत आयोजना निर्माण स्थल म्याग्दीको रघुगङ्गा गाउँपालिकाको वडा नं ३, ४ र ५ मा हो। रघुगङ्गा–४ दग्नाम र वडा नं ५ झिँको सिमानामा बाँयातर्फबाट अर्धजलाशययुक्त बाँधको संरचना निर्माण भइरहेको छ।
पिप्लेमा ६१ मिटर गहिरो सर्च साफ्ट निर्माण सकिएको छ। सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)ले बाँध, सुरुङ र विद्युतगृह निर्माणको काम एकैसाथ गरिरहेको रघुगंगा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले बताए। तिल्केनीचौरमा विद्युतगृहको भवन निर्माणसँगै उपकरण जडानको तयारी भएको छ।
भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)सँग २०७४ मङ्सिरमा ठेक्का सम्झौता भएको थियो।
कूल ४५ महिनाको ठेक्का अवधिको म्याद सकिएपछि साढे दुई वर्ष म्याद थप भएको छ।
प्रतिक्रिया दिनुहोस !