मधेस प्रदेशमा कुन कुन दलले चयन गरेका छैनन् संसदीय दलको नेता
महोत्तरी: नेकपा एमालेबाट मधेस प्रदेशको संसदीय दलको नेतामा सरोजकुमार यादव चयन भए। महोत्तरी निर्वाचन क्षेत्र नं. ४(क) बाट निर्वाचित यादवलाई पार्टीले सर्वसम्मत संसदीय दलको नेता चयन गर्यो। प्रदेश सभा २३ जनाले नै संसदीय दलको नेतामा दावी गरेपछि पार्टीका केन्द्रीय सचिव रघुवीर महासेठको पहलमा यादव सर्वसहमत भएको प्रदेश सभा सदस्य शारदादेवी थापाले बताईन्।
नेपाली कांग्रेसले मधेस प्रदेशको संसदीय दलको नेतामा कृष्णा सिंहलाई निर्वाचित गरेको छ। रामसरोज यादव र कृष्णा सिंहबीच सहमति नहुँदा निर्वाचनबाट सिंह संसदीय दलको नेता चयन भए।
पहिलोपटक प्रदेश सभामा उपस्थिति जनाएको जनमत पार्टीले महेशप्रसाद यादवलाई संसदीय दलको नेता चयन गरेको छ। यादव सप्तरी क्षेत्र नम्बर २(२) बाट निर्वाचित भएका हुन्। नेकपा माओवादी परित्याग गरी जनमत पार्टीबाट चुनाव चडेका उनले माओवादीकै नेता तथा पूर्वमन्त्री उमेश यादवलाई पराजित गरेका थिए। १३ सांसद रहेको जनमत पार्टीले मधेस प्रदेशमा मुख्यमन्त्रीको दाबी गर्दै आएको छ।
समानुपातिकतर्फको दुई सांसदविरुद्धमा सर्वोच्च अदालतमा मुद्दा परेपछि नेकपा माओवादी केन्द्रले मधेस प्रदेशमा संसदीय दलको नेता चयन गर्न सकेको छैन। मधेस प्रदेशका गृह तथा संचारमन्त्री भरतप्रसाद साहका अनुसार एक दुई दिनमै ती सांसदले शपथ लिएपछि संसदीय दलको नेता चयन प्रक्रिया सुरु हुन्छ।
त्यस्तै जनता समाजवादी पार्टीले पनि संसदीय दलको नेता चयन गर्न सकेको छैन। जसपाले पनि चाँडै संसदीय दलको नेता छान्ने रामआशिष यादवले जानकारी दिए। उनले भने, ‘पार्टीको केन्द्रीय म्याण्डेड अनुसार नै यहाँ पनि संसदीय दलको नेता चयन हुनेछ। एक पदका लागि चार जनाको आकांक्षी भएपछि यो विषय केन्द्रीय तहले मिलाउनेछ।'
मधेस प्रदेश सभामा १० दल सहभागी हुनेछन्।
प्रतिक्रिया दिनुहोस !