जरैदेखि सोच्ने कि ?
राष्ट्रमा भएका सबै सेवासुविधा ग्रहण त गरें तर कुन कुन क्षेत्रमा के कति योगदान दिएँ ? नागरिक तहबाट स्वमूल्यांकन ढिला भइसकेको छ।
गणेश ! भन त तिमी यो मानसरोवरमा के देख्छौ ?’, आमा पार्वतीले छोरालाई सोध्दा जवाफ आएको थियो, ‘जताततै कालो देख्छु। जताततै मान्छे नै मान्छे दौडिइरहेका छन्। उनीहरू मलाई मार्न खोजिरहेका छन्।’ गणेशले आफूलाई बचाउन भनिरहँदा आमा पार्वती शान्त र निर्धक्क भनिरहेकी थिइन्, ‘अझै हेर, राम्ररी हेर। त्यस्तो केही छैन।’ गणेशलाई लाग्यो, यतिका मान्छे मार्न आउँदा पनि नबचाउने मेरी आमा कस्ती ? जतिबेला गणेश ११ वर्षका थिए। उनले आँखा खोले, आमा मुस्कुराइरहेकी छन्। गणेश डरले नीलोकालो छन्। आमाको वाणी आयो, ‘नडराऊ। बाबु, तिम्रो मन नकारात्मक होला। अझ मनभित्र पस र हेर आफूलाई।’
परिस्थिति विचार गरी गणेशले शान्त भावमा मनको ढोका खोलेर हेरे। हो कि ! जस्तो लाग्यो।त्यसपछि पार्वतीले भनिन्, ‘तिमी जे सोच्छौ, यो संसार त्यस्तै बनेर आउँछ।’ संसारको ‘स्क्रिन’मा त्यही देखिन्छ, जुन कुरा मनमा उत्पादन हुन्छ। आमाले भनेअनुसार गणेशले लामो र गहिरो सास फेरे। पार्वतीले थपिन्, ‘आँखा बन्द गर, म छु। तिम्रा सबै दुःखबाट बचाउँछु।’ उनी ध्यानमग्न भए। जब मन शान्त भयो, तब गणेशले आँखा खोले र भने, ‘जताततै उज्यालो छ आमा, अरू केही छैन।’ एक्लै हुँदा पनि खुसी हुने कला हो यो। यथा दृष्टि तथा सृष्टि। मनले जे सोच्छ, त्यही देखिन्छ। गणेशमा आत्मविश्वासको तह बढ्यो। भनिन्छ, बुवा र आमाबाट गणेशले बाल्यकालमा यस्ता हजारौं खजाना पाए। उनलाई दिइएका यस्ता तालिमले १,१११ पाना भरिएका छन् रे। एकमात्र पुराण, गणेशपुराण जसलाई साढे चार हजार वर्ष लगाएर लेखियो।
मनमा विचार र लक्ष्य जन्मायो भने पूरा हुने रहेछ भन्ने उदाहरण गणेशको बाल्यकालले बताएको छ। हरेक दिन अघिल्लो दिनसँग प्रतिस्पर्धा गर्नेको जीवनले सार्थकता पाउँदै जान्छ। हो, मानिस हरेक दिन सफल हुनुपर्छ। हामीले यसरी सोचेका छौं ? हरेक परिवारले सन्तानलाई गणेशलाई जसरी हरविधा र क्षेत्रमा सानैमा तालिम दिने हो भने बल्ल देशले सही नागरिक पाउँछ। गणेश (टिम लिडर) को पूजा गर्नु भनेकै आफ्नो नेतृत्व क्षमताका लागि हो। हरेक नागरिकको यसरी नै नेतृत्व विकास हुने हो भने न विकासमा समस्या रहन्छ, न समृद्धि प्राप्तिमै। यस किसिमले तालिम लिएर ‘सोच जस्तो, भविष्य त्यस्तै’ लाई मूलनारा बनाउने र यसैमा समर्पण भाव राखेर अघि बढ्ने हो भने नेपालमा दक्ष जनशक्तिको अभाव हुने छैन।
चीन होस् वा जापान अथवा कतिपय विकसित देश, त्यहाँका बालबालिकाले सानैदेखि हरेक कुरामा अब्बल हुने अवसर पाउँछन्। सकारात्मक सोच र लक्ष्यप्रति दृढ हुने वातावरण पाउँछन्। सकारात्मक ऊर्जा पाएको बालबालिका त्यही ऊर्जा थप्दै सफल बन्छ। उसलाई देशभक्ति सिकाइन्छ। ऊ देशकै लागि समर्पित हुन्छ। नेपालमा सरकारले होस् वा परिवारले, कसैले पनि बालबालिकाको ‘होलस्टिक डेभलपमेन्ट’मा ध्यान दिएकै छैन, लगानी गरेकै छैन (अपवादबाहेक)। यहाँ त हरेकजसोले जीवनको लय र गति समात्न सकेकै छैन। कतिपय त ‘आशीर्वाद’ले भरिनुपर्नेमा जीवनलाई ‘अभिशप्त’ ठानिरहेका छन्। नकारात्मक ऊर्जाले भरिएको
मानिसबाट समाज र राष्ट्रले के अपेक्षा गर्न सक्छ र ? ‘दिनु’ को सट्टा ‘ठग्नु’मा मजा भेट्नेहरूले आफूलाई कहिले ‘सही दिशा’मा हिँडाउलान् ? व्यापारमात्र होइन, मन्दिरमा समेत ठग्नुपर्छ भन्ने मान्यताले ग्रसित छ समाज। प्रशिक्षणकै कमी भन्छु, उसले अरूलाई होइन, आफैंलाई ठगिरहेको छ।
तीन करोड नेपालीमध्ये कतिमा ‘प्लेसेबो’ र कतिमा ‘नोसेबो’ होला ? प्लेसेबो अर्थात् सकारात्मक सोच र चिन्तन, नोसेबो अर्थात् नकारात्मक सोच र चिन्तन। वरिपरि हेर्यौं भने जताततै भेट्छौं, ‘हुँदैन, सक्दिनँ, गर्दिनँ, सम्भव नै छैन।’ जबसम्म मानिसमा ‘हुन्छ, सक्छु, गर्छु, सम्भव छ’ भन्ने भाव र संकल्प जन्मँदैन, तबसम्म देशले ‘योग्य नागरिक’ पाउन सक्दैन। यसमा अभिभावक र समाजको ठूलो हात रहन्छ। नोसेबोबाट ग्रसित कैयौं मानिस हामी चिया पसलदेखि चौतारोसम्म समय बर्बाद पारिरहेछौं। यो राष्ट्र विकासका लागि घातक हो, खै कसले कहिले बुझ्ने ? एक विद्वान्ले भनेका थिए, ‘आँखा झिम्क्याउँदा लाग्ने समयको एकतिहाइ समय हो, क्षण। तिमी आधा क्षण पनि खेर नफाल।’ हामी अधिकांश क्षणको त के कुरा घण्टा र दिन बित्दा पनि त्यसको आभास गर्दैनौं। हजारौं हामी त हप्ता बित्दा पनि मन पोलेको महसुस गर्दैनौं।
आफू र राष्ट्र बन्न कसैले धेरै केही गर्नु पर्दैन। हालै कतारमा वल्र्ड कप २०२२ भयो। मेसी र एम्बाप्पे यी दुई पात्रमात्र हेरौं न। यिनले धेरै के गरे, गोलपोस्टमा गोल हानेकामात्र न हुन्। उनीहरूको ध्यान जतिबेला पनि गोलमै भएर न गोलमा आफ्नो विश्व पहिचान बनाए। खेलले नै होइन, तिनको स्वास्थ्य राम्रो भएको। गोलले नै होइन, सबैले चिनेको ? चर्चा गरेको ? विश्वका हरेक देशका नागरिकदेखि राष्ट्र प्रमुखसम्मको मुखमा छ ‘मेसी’ र ‘एम्बाप्पे’। गोलले नै उनीहरूले नाम (पहिचान), दाम (धन) र सम्मान कमाए।
बिल गेटस् हेरौं, महात्मा गान्धी वा मदर टेरेसा वा अरू कैयौं यस्ता नाम छन् जसले एउटै काममा ध्यान लगाए, आफूलाई समर्पण गरे र सफल भए। उत्कृष्ट कर्म नगरेका भए के यी व्यक्तित्व संसारको दृष्टिमा पुग्थे ? सदासदा जीवित रहन्थे ? मानिसको चोला त मरेर जान्छ तर जीवनको पथ (प्यासन, सचेतना अर्थात् शिक्षा र सीप, समयसीमा र आदतहरू) लाई सही दिशा दिन सकेमात्र जुनी जुनी सबैको मनमा बाँच्न सक्छौं हामी पनि। हामीलाई के ले छेकेको छ र ?
समस्या जसरी हामीभित्र छ, समाधान त्यसरी नै हामीभित्रै छ। नखोज्नु र त्यसबाट मुक्त हुन नचाहनु (जस्तो छ त्यस्तैमा रमाउने आदत) ले हामीलाई ‘असल’ र ‘सफल’ हुनबाट रोकेको न हो। हरेक काममा बहानाबाजी गर्नेहरूलाई सामुन्ने आइसकेको ‘सफलता’ले पनि बहानाबाजी खोज्छ। यसरी व्यक्ति चुक्छ, चुकिरहन्छ। आफ्नो ‘रिचनेस’ खोज्न छोडेर अरूको ‘कमजोरी’ खोज्छौं, खोजिरहन्छौं र त हामी ‘गरिब’ झन् गरिब बन्छौं, बनिरहन्छौं। यसरी समय बिताउनु भनेको मनोरोग हो। भनाइ छ, ‘यु क्यान्ट किल टाइम, टाइम किल्स यु’ अर्थात् तिमी समयलाई मार्दैनौ, तिमीलाई समयले मारिरहेको हुन्छ। त्यो समय आफूमा लगानी गर्ने हो भने अरूतर्फ ध्यान नै जाँदैन। बरु अरूको ध्यान तपाईंमा केन्द्रित हुनेछ।
देश विकासका लागि एउटा सन्दर्भ केलाउने प्रयास गरौं। नेपालमा ४२ प्रतिशत किसान छन् जो वर्षमा ९ महिना काम गर्छन् तर उनीहरूलाई केवल ६ महिना खान पुग्छ। यसै सन्दर्भमा अमेरिकालाई हेरौं, जहाँ तीन जनाले काम गरेर २० जनालाई खाद्यान्न उत्पादन गर्छन्। जापानमा त्यत्रो कृषिकर्म हुन्छ जबकि त्यहाँ एकजना पनि खेतमा भेटिँदैनन्। इजरायल त्यस्तो देश हो जसले सूचना–प्रविधि (आईटी)को प्रयोग गरेर खेती गर्छ।
त्यस देशमा २ प्रतिशतकिसानले खेती गरेर ९८ प्रतिशत नागरिकलाई खाद्यान्न पुर्याउँछन्। यतिमात्र होइन, निर्यात प्रशस्त गर्छन्। हामी नेपालीसँग के कमी छ र यी सबै कथा लागिरहेको छ।
केही हामी फरक पनि छौं। जीवनमा ठूलो मेहेनत र लगानी गरेर ‘व्यक्तित्व’ बनाएका छौं। तर व्यक्तित्वमात्र भएर हुँदैन, उसको योगदान समाज र राष्ट्रलाई कति छ ? त्यो महत्त्वपूर्ण हुन्छ। नेपालमा ‘व्यक्तित्व’ (पर्सनालिटी) भएकाहरू सबैले एकपटक गहिरिएर सोच्नुपर्ने बेला आएको छ कि मैले आफ्नो तर्फबाट जन्मभूमि नेपालको समग्र विकासका लागि के गरें ? राष्ट्रमा भएका प्रकृति, माटोदेखि सारा सुविधा ग्रहण त गरें तर कुन कुन क्षेत्रमा के कति योगदान दिएँ ? स्वमूल्यांकन ढिला भइसकेको छ। अधिकांश हामीसँग ‘लिनुपर्छ’ भन्नेमात्र भाव छ, ‘दिनुपर्छ’ भन्ने भावलाई स्वीकार्नै सकेका छैनांै। दिने कति महान् हुन्छ हेरौं त, देवता। दिने भएर देवता भए, हामी लिनेहरू ‘लेवता’मा सीमित भयौं, भइरह्यौं र त जहाँको तहीँ छौं। लिएर होइन, दिएर मात्र मान्छेले संसार जित्ने हो। ‘ल अफ पर्सनालिटी’ले भन्छ, ‘व्यक्ति जस्तो चाहन्छ, त्यस्तै बन्न सक्छ।’ हामीले आजसम्म के चाह्यौं ? आफैंलाई प्रश्न गरौं र खोजौं आफूभित्रको सम्भावना। किनकि संसारमा जे पनि रोप्ने अवसर छ। यो मलिलो धरतीमा जे रोप्यो, त्यही फल्छ।
२१औं शताब्दीको अत्याधुनिक समयमा छौं हामी। विश्व प्रतिस्पर्धामा नउत्रिएसम्म हामी नेपाली ‘कुवाको भ्यागुतो’ मै सीमित हुन्छौं। हामीले आजसम्म जे गर्यौं त्यो भव्य गर्यौं, व्यक्तित्व विकासमा जे गर्यौं, भव्य गर्यौं भन्ने भ्रम छ। यस्ता भ्रम हरेक क्षेत्र र विषयमा भेटिन्छन्। तिनलाई चिरेर अब सर्वप्रथम नेपाल विश्वबजारमा अमेरिका, बेलायत, चीन, अस्टे«लिया, जापान, सिंगापुरजसरी चिनिनु पर्छ। यसका लागि सामूहिक प्रयास चाहिन्छ। यस्तो शत्प्रयास तबसम्म निरन्तर हुनुपर्छ जबसम्म यसले सार्थक परिणाम हात पार्दैन। यो समृद्धि नेपालले प्राप्त गर्न हरक्षेत्रमा विकास अनिवार्य सर्त हो।
भौतिक पूर्वाधारलाई विकास ठान्यौं भने अर्को महाभूल हुनेछ। व्यक्ति÷नागरिकसँग जोडिएका हरेक विषय, क्षेत्र, सन्दर्भ र संस्कारको उच्चतम विकास पहिलो सर्त हो। संयुक्त राष्ट्रसंघले निर्धारण गरेको दिगो विकास लक्ष्य (एसडीजी)का सबै सूचकसँगै थप पहल र प्रयास यी दुई विकासका लागि आवश्यक छ भनेर सरकार र नागरिकहरूले बुझ्नुपर्छ। अन्यथा देश विकास जहाँको तहीँ हुनेछ। ‘समृद्ध नेपाल : सुखी नेपाली’ बनाउने सरकारको १५औं योजनालाई साकार पार्न जरैदेखि सोच्ने बेला हो यो। अब रत्तिभर ढिला नगरौं।