विद्यावारिधि भर्सेस राजनीति !
विशुद्ध राजनीति गर्ने थलो थला पारेर विश्वविद्यालयहरूलाई अशुद्द राजनीतिको क्रिडास्थल बनाएका छन्, जुन अराजनीति र अराजकता हो।
राजनीति व्यक्तिको शरीरदेखि सुरु भएर घर, परिवार, समाज, गाउँ देश हुँदै राष्ट्रिय, अन्तर्राष्ट्रिय मञ्चदेखि संयुक्त राष्ट्र संघसम्म गरिन्छ। राजनीतिको सीमा र क्षेत्र व्यापक र जताततै छ। त्यसैले राजनीतिलाई सर्वव्यापी भनिन्छ। ‘पोलिटिकल साइन्स इज द साइन्स अफ अल साइन्सेज’ भनेर राजनीतिशास्त्रमा पढाइन्छ। राजनीति सबै नीतिहरूको मूल नीति हो। राजनीति त्यस्तो व्यवस्था हो जसले देशका हरेक नीति जस्तै शिक्षाको अवस्थासमेत निर्धारण गर्छ।
राजनीति दर्शन, विज्ञान, अर्थ, कूटनीति धर्म, संस्कार र संस्कृति परिवेश सबै सबै हो। राजनीतिलाई शिक्षा, स्वास्थ्य, सुरक्षा, सेवा, सर्त र सौजन्य पनि मानिन्छ। त्यसैले विश्वविद्यालयहरूमा राजनीति गर्न बर्जित र बन्देज गरिनुपर्छ भन्ने भाष्य र चिन्तन त्रुटिपूर्ण छ। अरस्तु र प्लेटोको परिभाषाअनुसार, ‘ती हरेक चिजहरू राजनीति हुन्, जसले सम्पूर्ण समुदायलाई प्रभावित गर्छ।’ यसरी राजनीतिलाई यथार्थ ढंगले परिभाषित र परिचित गराउन नसक्दा यस्तो तर्क सोच र विचार आएको देखिन्छ। यसको जिम्मेवारी विश्वविद्यालय तहका प्राज्ञिक बौद्धिक वर्ग र नीति निर्माण तहमा बस्ने विज्ञजनले लिनुपर्छ।
राजनीति के हो ? अराजनीति के हो ? भन्नेबारे किन सुसूचित गराउन सकिएन ? बुझाउन जानिएन ? देशको प्रधानमन्त्रीसमेत विश्वविद्यालयमा राजनीति गर्नु हुन्न किन भन्छन् ? विश्वविद्यालयमा राजनीति गर्नुपर्छ भनेर खुलेआम किन भन्न सक्दैनन् ? राजनीति गर्ने उपयुक्त स्थल विश्वविद्यालय हो नि होइन र ? पूर्वप्रधानमन्त्री केपी ओलीले विश्वविद्यालयको उपल्लो स्तरको शैक्षिक उपाधिलाई किन केही होइन भनेर अवमूल्यन
देशको प्रधानमन्त्री भइसकेको व्यक्तिले आफ्नो शैक्षिक जनशक्तिलाई यत्रो अण्डर स्टिमेट ? व्यक्तिको क्षमतामा प्रश्न गर्न सकिन्छ तर एउटा व्यक्तिको क्षमतालाई समग्र उपाधिको मूल्यसँग गिराउन मिल्दैन। एउटा प्रचलित भनाइ छ, ‘नपढेका मूर्खभन्दा पढेका मूर्ख ज्यादा खतरनाक हुन्छन्।’ नपढेका मूर्खले कम हानि गर्छन् तर पढेका मूर्खले धेरै क्षति पुर्याउँछन्। पूर्व प्रधानमन्त्री ओलीले यसो भन्नु भएको भए समग्र पिएचडीको बदनाम र मानमर्दन हुँदैनथ्यो कि ? प्राज्ञिक र बौद्धिक वर्गको अपमान गरेर हेलाहोचो गरेर देशको मर्यादा अभिवृद्धि हुँदैन।
प्राज्ञिक बौद्धिक र विश्वविद्यालयका तमाम कमजोरी छन्। तिनको उचित व्यवस्थापन, परिमार्जन र समयानुकूल परिवर्तन आवश्यक छ। तर यिनको हुर्मत लिएर अपमान गरेर अपेक्षित सुधार सम्भव छैन। पिएचडी केही होइन भने यसलाई विश्वविद्यालयबाट विस्थापित किन नगर्ने ? अनुत्पादक क्षेत्रलाई किन पालेर पोसेर राज्यले राख्ने ? प्रा. डा. युवराज संग्रौलाले भनेझैं ‘पिएचडी केही त हो, अवश्य पिचडी केही त हो।’ निश्चय नै त्यस्तो पीएचडी केही होइन जसले वारिपारि र यताउताबाट जोरजम्मा गरेका छन्। प्रमाणपत्र बटुलेका छन्। नामको अघि डा. लेख्न खरिद गरेर भित्र्याएका छन्, त्यस्ता विकृति रोक्न, तिनका बारे छानबिन गर्न र नेपालकै पीएचडीलाई विशिष्टीकृत गर्न सुझाउनु सान्दर्भिक हुन्छ। तर, देशले सम्मान गरेर दिने व्यक्तिले धेरै प्रयत्न, शोध, विश्लेषण, अनुसन्धान पश्चात प्राप्त गर्ने उपाधिलाई कागतको फूल देख्नु शोभनीय मान्न सकिन्न।
प्रधानमन्त्री ओली स्वयंले संसद्मा एकपटक नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालको जवाफ फर्काउने क्रममा डाक्टर भन्या डाक्टर नै हुन् भनेर पढेलेखेका मान्छे अलि आधिकारिक हुन्छन् तिनको तथ्य सही हुन्छ भनेर जवाफ फर्काउँदै विद्यावारिधि गरेका रिजालको प्रसंशा गरेको पाइन्छ। त्यतिमात्र होइन, सांसद गगन थापालाई जबाफ फर्काउँदा म विज्ञ र अनुसन्धाताले भनेको पत्याउँछु, गगन थापाको यसमा विज्ञता छैन त्यसैले उनले भनेको पत्याउँदिनँ भनेर विज्ञ र उच्च शैक्षिक उपाधि र रिसर्चरको महत्त्व झल्काउने गरी बोल्नुभएको थियो। शिक्षामा प्राधिकार प्राप्त व्यक्ति हुनुको अर्थ उल्लेख गर्नुभएको थियो। तर कुनै व्यक्ति लक्षित धारणा उपाधि लक्षित अपमान बन्नु बडो दुर्भाग्पूर्ण छ।
पार्टीका कार्यकर्ता व्यवस्थापन गर्ने ठाउँ विश्वविद्यालयलाई बनाउनु अराजनीति हो। यसैबाट प्रष्ट हुन्छ, राजनीतिज्ञहरू शिक्षाको राजनीति बुझ्दैनन्। शिक्षाको संवेदनशीलता बुझ्दैनन्।
त्रिभुवन विश्वविद्यालयको ४६औं दीक्षान्त समारोहमा २०७७ सालमा तत्कालीन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले राजनीतिक भाषण र आन्तरिक पार्टी समस्याको रोश पोख्ने स्थल बनाएर आफ्नो बौद्दिक दरिद्रपन प्रकट गरेर जे बोले त्यो अराजनीति हो। राजनीतिज्ञले बुझ्न नसकेको शिक्षाको महत्त्व र गरिमा यहीनेर छताछुल्ल भएको पाइन्छ। राजनीतिक नेतृत्वले शिक्षालाई हेर्ने दृष्टिकोण र प्राथामिकता कस्तो छ ? कस्तो नेतृत्व शिक्षा मन्त्रालय चलाउन पठायो भन्ने कुराले प्रष्ट पार्छ। शिक्षा मन्त्रालय चलाउन शिक्षा बुझेको मान्छे हुनुपर्छ। नेताहरू चुकेका यही हो। सम्बन्धित विषयमा कुनै पनि र कति पनि ज्ञान नभएको मान्छेले नेतृत्व गर्दा हाम्रा मन्त्रालयहरू कामयावी बन्न नसकेका हुन्।
कुनै पनि स्थानमा नियुक्त हुने राजनीतिक नेतृत्व सम्बन्धित मन्त्रालय विभागबारे त्यसको न्युनतम ज्ञान राख्ने हुनपर्छ। त्यसैले क्षमताअनुसारको जिम्मेवारी र क्षमतावान्लाई अवसर दिनु आजको युगको माग मानिन्छ। सामान्य ज्ञान पनि नभएका मान्छे विशिष्ट स्थानमा पुग्दा बोल्न नजानेको र त्यो गरिमामय समयलाई बुझ्न नसकेको उदाहरण तत्कालीन शिक्षा मन्त्रीले प्रस्तुत गरे। फलस्वरूप उनी खिल्लीको पात्र मात्रै बनेन, इन्टरनेटको बजारमा ट्रोल बनेर बसेका छन्। हाम्रो राजनीति, शिक्षा चेतना र दृष्टिबोध कृष्णगोपालको भाषणले प्रतिबिम्बित गर्छ।
त्रिविको ४८औं दीक्षान्त समारोह २०७९ मंसिर २४ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयलाई राजनीति गर्ने थलो बनाउनु हुन्न भनेर जे बोले त्यो उनको न्यून बौद्धिक ल्याकतको प्रदर्शन हो। देउवा सभापति रहेको कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले झन्डै एक वर्षसम्म त्रिविको प्रशासन शाखामा तालाबन्दी गर्यो। त्यस्तै अन्य विद्यार्थी संगठनले पनि पालैपालो त्रिविलाई तालबन्दी गरेर अराजनीति गरिरहेका छन्। त्रिविलगायत विश्वविद्यालय वर्षमा पटक पटक र फरक फरक विद्यार्थी संगठनबाट बन्द गरिन्छन्। आफ्नै माउपार्टी सरकारमा हुँदा पनि विद्यार्थी संगठनहरू माग पूरा गराउन भन्दै विश्वविद्यालय बन्द गर्छन्।
विश्वविद्यालयका प्राध्यापकलाई पिट्छन्, कर्मचारी धम्काउँछन्। अपमान पनि गर्छन्। कालोमोसो दुल्छन्। सरकार यो हदको अराजकता र गुण्डागर्दी टुलुटुलु हेरेर बस्छ, अराजनीतिक गतिविधिलाई छुट दिन्छ। विश्वविद्यालयहरू गलत राजनीतिले ग्रस्त छन्। पार्टीका भागबण्डा र लेनदेनमा पदाधिकारीहरू नियुक्त गर्नु र त्यस्ता पदाधिकारीले पार्टीको बढी विश्वविद्यालयको कम माया गर्नु अनर्थ होइन। पार्टीका कार्यकर्ता व्यवस्थापन गर्ने ठाउँ विश्वविद्यालयलाई बनाउनु अराजनीति हो। यसैबाट प्रष्ट हुन्छ, राजनीतिज्ञहरू शिक्षाको राजनीति बुझ्दैनन्। शिक्षाको संवेदनशीलता बुझ्दैनन्। शिक्षालाई ध्वस्त पार्ने रणनीति बुझ्दैनन्। जसको कारण आज शैक्षिक जनशक्तिप्रति मान्छेले संसय पैदा गरेका छन्। शिक्षालाई मजाकको विषय बनाएका छन्।
शिक्षाको आधुनिकीकरण, वैज्ञानिकीकरण र प्राविधिकीकरणको बदला माफियाकरण, व्यापारीकरण, दलीयकरण र बेथितिकरण गर्ने दलहरूले शिक्षालाई बर्बाद पारेर अराजनीतिको फसल फलाउने उद्यानमा परिणत गरेका छन्। विशुद्ध राजनीति गर्ने थलो थला पारेर अशुद्द राजनीतिको क्रिडास्थल बनाएका छन्, जुन अराजनीति र अराजकता हो। विश्वविद्यालयहरू राजनीतिमुक्त क्षेत्र होइनन्। एउटा मान्छेको शरीरसमेत राजनीतिको क्षेत्रभित्र पर्छ। दार्शनिक मिसेल फुको भन्छन्, ‘मानव शरीर हाड, छाला, मासी र मासुको पिण्डभन्दा पर एक राजनीतिक क्षेत्र हो।’ यसो हो भने बौद्धिक र प्राज्ञिक ज्ञान निर्माणको स्थल कसरी राजनीतिमुक्त क्षेत्र हुन्छ ? कला, संस्कृति, राजनीति, समाजको निर्मिति, सामाजिक अन्तरक्रिया, समाजशास्त्र, साहित्यलगायत यावत कुराको प्राज्ञिक र बौद्दिक ज्ञान निर्माण गर्ने राज्यको आधिकारिक शैक्षिक निकाय राजनीतिको खेल मैदान हो/हुनुपर्छ ?
अराजनीतिलाई राजनीति भनेर हामी भूल गरिरहेका छौं। वास्तवमा राजनीति नहुने नगरिने कुनै ठाउँ हुनुहुँदैन। विश्वविद्यालयहरूमा अराजनीति गरिनु हुँदैन, कुराजनीति गरिनु हुँदैन र गलत राजनीति गरिनु हुँदैन। असल सभ्य र सुसंस्कृत राजनीति गर्न बारबन्देज होइन प्रोत्साहन प्रेरणा र ऊर्जा जागृति गरिनु पर्छ। विश्वविद्यालय सुसंस्कृत राजनीतिको पवित्र स्थल बन्नुपर्छ। विश्वविद्यालयमा राजनीति गरेर आएकालाई समाजले हेर्ने नजर र दिने दर्जा विशेष बनाउन पहल गरिनुपर्छ। विशिष्ट, अनुशासित र प्रक्रियागत राजनीति सिक्ने र सिकाउने प्राज्ञिक केन्द्र बन्नुपर्छ, विश्वविद्यालयहरू।
राजनीतिमा गलत अभ्यास र संस्कार आएका छन्। त्यसको सापेक्षित र आमुल सुधारको खाँचो छ तर विश्वविद्यालयलाई राजनीति निषेध क्षेत्र ठानिनु मूर्ख तर्क हो। छाडापन, मनपरीतन्त्र, पार्टीतन्त्र नेतातन्त्र र अनुशासनहीनता अराजक स्वतन्त्रता राजनीतिका बाधक तत्त्व हुन्। विश्वविद्यालयमा सकारात्मक, रचनात्मक र सिर्जनशील राजनीति गरिनुपर्छ। विश्वविद्यालयहरू पार्टी राजनीतिको उर्वर नर्सरी हो। जहाँका राजनीतिक विरुवा जतासुकै योग्य हुनुपर्छ। सुयोग्य राजनीतिकर्मी उत्पादन गर्ने ब्याडको रूपमा विश्वविद्यालयहरूलाई राजनीतिज्ञहरूले यथोचित वातावरण दिनुपर्छ।
बाहुबली राजनीति होइन, बौद्धिक पहलमानी विश्वविद्यालयको स्वभावत : प्रकृति हो। विश्वविद्यालय राजनीतिको स्थल होइन भन्ने भाष्य त्रुटिपूर्ण छ। ज्ञान निर्मितिको थलोमा सबैभन्दा धेरै राजनीति हुनुपर्छ। सबैभन्दा बढी बहस, वादविवाद, तर्क–वितर्क, खण्डन मण्डन गरिनुपर्छ। राजनीति, साहित्य, संस्कृति, धर्म, दर्शन, कुटनीति, अर्थनीति र समाजबारे उत्कृष्ट सिद्दान्त बन्नुपर्छ। त्यसको सैद्दान्तिक बहस, तर्क, विवाद, प्रमाण, प्रयोग, प्रदर्शन, परिमार्जन र सहित निश्कर्षण निकालिनु पर्छ। राजनीति अव्यस्थाको सही व्यवस्थापन कला हो। राजनीतिमा अराजनीतिलाई प्रवेश दिइनु हुन्न। राजनीतिले नछुने विषय र क्षेत्र कही छैन। राजनीतिमुक्त
क्षेत्र अपवाद मात्र हो।
राजनीति सर्वत्र छ। यत्रतत्र छ। राजनीति कुनै पनि विषय र प्राप्तिको स्रोत, साधन, माध्यम, सभ्यता, सिद्दान्त, आचरण र गन्तव्य उद्देश्य हो। फरक यति मात्रै हो कि राजनीतिलाई सुनीति बनाउने कि कलुषित र दुर्गन्धित बनाइराख्ने ? डा. गोपाल गुरुङ भन्नुहुन्छ, ‘राजनीति सबै समस्याको हल गर्ने साधन हो।’ के हामीले राजनीतिलाई शिक्षालाई यसरी बुझेका छौ त ? पक्कै छैनौं। त्यसैले विश्वविद्यालय राजनीति गर्ने थलो होइन भन्छौं। राजनीतिलाई समस्या बनाएर राजनीतिले चाबी बन्द गर्ने ढोका लगाउने काम गरेका कारण राजनीति जटिल बनेको छ। शिक्षाको महत्त्व कम भएको छ।
राजनीति शासन गर्ने कला पनि भएको हुँदा यसको व्यापकताबारे अनविज्ञ रहेर राजनीति गरिँदैन। राजनीतिको जटिलता चिर्न शैक्षिकस्थल, विश्वविद्यालयलाई र शिक्षालाई हेर्ने नजर पनि उत्तिकै फराकिलो हुनु जरूरी देखिन्छ। विश्वविद्यालयहरूले अरू विषयजस्तै राजनीतिको पनि विषद् अध्ययन अनुसन्धान गरेर र प्राज्ञिक निष्कर्ष निकाल्ने थलोको रूपमा आफूलाई विकसित गर्दै अरू विश्वसनीय बन्दै जानु पर्छ।