मानव तस्कर रोक्न पहल गरिने

मानव तस्कर रोक्न पहल गरिने

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष त्रयसहितको प्रतिनिधिमण्डलले श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीपी) अर्याललाई वैदेशिक रोजगारीको बहानामा पछिल्लो समय युरोपेली देशहरूमा बढ्दै गएको मानव तस्करी अन्त्य गर्न तत्काल ठोस कदम चाल्न आग्रह गरेका छन्। 

संघका प्रतिनिधिहरूले मन्त्री अर्याललाई टर्की, पूर्वी युरोपका बुल्गेरिया, क्रोएसिया, हंगेरी, रोमानिया, स्लोभाकियालगायतका मुलुकमा बढ्दो मानव तस्करीबारे जानकारी गराउँदै त्यसलाई रोक्न तत्काल पहल नगरे भयावह समस्या निम्तिनेतर्फ ध्यानाकर्षण गराए।

संघकी कार्यकारी अध्यक्ष रविना थापासहित संघका दुई अध्यक्षद्वय डा. बद्री केसी र कुल आचार्यले विभिन्न प्रलोभन देखाएका नेपालका श्रमिकलाई बिना कुनै सीप र अभिमुखीकरण युरोप पुर्‍याउने आश्वासनमा मानव तस्करी बढी रहेकोले नेपाल सरकारले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए। 

अध्यक्षत्रयले टर्कीमा पछिल्लो समय नेपालीले नेपालीलाई नै फिरौतीका लागि अपहरण गर्ने, ज्यान मार्ने धम्की दिने र डराउनेलगायतका आपराधिक गतिविधिसमेत गरिरहेको भन्दै त्यसतर्फ सरकारले ध्यान दिई तत्काल प्रक्रियागत रूपमा समाधानका लागि पहल गर्नुपर्नेमा जोड दिए।

अवैधानिक रूपमा युरोप छिर्न खोज्दा कयौं नेपालीको ज्यान जाने गरेको जानकारी गराउँदै अध्यक्षत्रयले संयुक्त रूपमा समस्याग्रस्त देशमा सरकारको उपस्थिति र त्यहाँको सरकारसँग संवाद अघि बढाउन आग्रह गरे। 

टर्कीलगायतका कतिपय देशमा राजदूतास र कन्सुलर सेवासमेत नहुँदा त्यहाँका नेपालीले ठूलो समस्या भोग्नु परेकोले त्यसबारे पनि अध्यक्षत्रयले मन्त्री अर्याललाई जानकारी गराए। 

गैरआवासीय नेपाली संघले लामो समयदेखि पहल गरिरहेका सामाजिक सुरक्षा कोष कार्यान्वयनमा आएकोप्रति खुसी व्यक्त गर्दै उक्त कोषमा विदेशमा रहेका सबै श्रमिकलाई आबद्ध गराउन सरकारले थप योजना बनाउनुपर्ने  र कोषमा सरकारको तर्फबाट पनि आर्थिक योगदान हुनुपर्नेमा संघले जोड दिएको छ।

रेमिट्यान्स  वैधानिक मार्गबाट ल्याउन प्रोत्साहन गर्नुपर्ने, विदेशमा विभिन्न कारण ज्यान गुमाएका नेपालीको शव व्यवस्थापनमा ध्यान दिनुपर्ने, विदेशबाट फर्किएकालाई स्वरोजगार कार्यक्रम र पुनर्एकीकरण गर्नेपर्नेलगायतका विषयमा उनीहरूले संयुक्त रूपमा मन्त्री अर्यालमार्फत सरकारको ध्यानाकर्षण गराए। 

संघका उपाध्यक्ष राजेन्द्रकुमार शर्माले मध्यपूर्वमा रोजगारीमा जाने नेपाली श्रमिक सधैं सरकारको उपेक्षामा पर्ने गरेको बताए।  सीपमूलक तालिमसहित गन्तव्य मुलुकको कानुन, भाषा र त्यहाँका पालना गर्नुपर्ने न्यूनतम नीति नियमका सम्बन्धमा सचेत बनाउन मात्रै विदेश पठाउनुपर्ने उनले बताए। 

विदेशबाट आउने रेमिट्यान्सलाई वैधानिक रूपमा बैंकिङ च्यानलमार्फत ल्याउन श्रम मन्त्रालयले अन्तरमन्त्रालयगत सहकार्य र समन्वय गर्नुपर्ने, गन्तव्य मुलुकमा रहेका एनआरएनएका प्रतिनिधिहरूसँग सहकार्य गरी सचेतनामूलक कार्यक्रम गर्नुपर्नेमा उपाध्यक्ष शर्माले जोड दिए। 

मन्त्री अर्यालले मानव तस्करीको जालो पन्छाउन नेपाल सरकारले ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे।  त्यसका लागि अध्ययन आवश्यक भएकोले पहिले अध्ययन गर्ने र अन्तरमन्त्रालयगत रूपमा सहकार्य र समन्वय गरेर अघि बढ्ने मन्त्री अर्यालको भनाइ थियो। 

‘तपाईंहरूले भनेको सबै विषयमा अध्ययन र अन्तरमन्त्रालयगत सहकार्य र समन्वयबाट छिट्टै मानव तस्करीलगायत श्रमिकका सबै समस्या समाधान गर्न पहल गर्छु।’ 

अन्तर्राष्ट्रिय श्रम बजारमा रहेका लाखौं नेपाली श्रमिकहरूको समस्याबारे जानकार रहेको र लामो समय विदेशमा रहँदा उनीहरूका समस्यालाई प्रत्यक्ष रूपमा देखेको, भोगेको भएकोले पनि उनीहरूको हक हितका लागि आफू प्रतिबद्ध रहेको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.