प्रदेश लोकसेवा आयोगद्वारा ६१ वटा पाठ्यक्रम निर्माण
विराटनगर : प्रदेश लोकसेवा आयोगले तीन वर्षमा प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवाका लागि ६१ वटा पाठ्यक्रम निर्माण गरेको छ। यी पाठ्यक्रम प्रयोगमा समेत आइसकेको छ।
आयोगका उपसचिव तीर्थकुमार धितालका अनुसार प्रदेश निजामती तर्फको २९ वटा पाठ्यक्रम निमार्ण गरी स्वीकृत हुने प्रक्रियामा छ।
सो अवधिमा लोकसेवा आयोगबाट स्थानीय तहमा कर्मचारी पदपूर्ति गर्न १३९ वटा विज्ञापन खुलाइएको बताए।
उनले विज्ञापनमार्फत् विभिन्न पदका १ हजार ९२२ जना कर्मचारी माग गरिएकोमा छनौट भएकामध्ये ३७० जनालाई नियुक्तिका लागि सिफारिस समेत गरिसकिएको जानकारी दिए।
प्रदेश लोकसेवा आयोगमा हाल ३२ जना अस्थायी कर्मचारीहरू कार्यरत रहेको प्रस्तुत कार्यप्रगति विवरणले देखाएको छ।
विवरण अनुसार आर्थिक वर्ष २०७८/०७९ को अवधिमा आयोगले करिब ६ करोड ३३ लाख खर्च गरी ८०.५५ प्रतिशत वित्तीय प्रगति हासिल गरेको थियो।
सोही अवधिमा आयोगले ५ करोड ३५ लाखभन्दा बढी राजश्व समेत संकलन गरेको थियो। प्रदेश लोकसेवा आयोगमा हालसम्म एक रुपैयाँ पनि बेरुजु नदेखिएको बताइएको छ।
२०७६ माघ ९ गते प्रदेश १ को राजधानी विराटनगरमा प्रदेश लोकसेवा आयोग स्थापना भएको थियो। संविधानको धारा ४४ को व्यवस्था बमोजिम स्थापना भएको लोकसेवा आयोगले सोमबार वार्षिकोत्सवको अवसरमा आफ्नो स्मारिका प्रकाशन गरेको छ।