कांग्रेसको भूमिका ‘विचित्रको’

रास्वपाका सांसदहरूद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार

कांग्रेसको भूमिका ‘विचित्रको’

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले संसद्मा खेलेको भूमिका विचित्रको भएको बताएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै पूर्वप्रधानमन्त्री ओलीले भने, ‘कांग्रेसले संसद्मा खेलेको भूमिका विचित्रको छ। प्रधानमन्त्रीलाई विश्वासको मत दिएर एमालेविरुद्ध उम्मेदवारी दिन छाडेको छैन। अहिले कांग्रेसले आफूलई न सत्ता पक्ष न प्रतिपक्ष भन्न सकेको छ। कांग्रेस पानी बाहिरको माछा जस्तै भएको छ।’ उनले एमालेको पहलमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बनेदेखि कांग्रेसमा छटपटी भएको धारणा राखे। 

‘कांग्रेसका मित्रहरूसँग सत्तामा विग्रह ल्याउने र अल्पकालीन लाभ लिने अनुभव राम्रो छ। मेरा मित्र देउवालाई आग्रह गर्न चाहन्छु। बृहत्तर राष्ट्रिय हितमा काम गरौं। स्थायित्वको लागि योगदान गरौं। कोही पनि जालन्धर नबनौं,’ उनले भने, ‘राष्ट्रलाई अस्थिरतातर्फ धकेल्दा कसैको पनि हित हुँदैन। धमिलो पानीमा माछा मार्नेको मात्रै हित हुन्छ। आमनागरिक धेरै सचेत भएका छन्।’ उनले संसद्मा कांग्रेसले प्रदर्शन गरेको व्यवहार लोकतन्त्र अनुकूल नभएको बताए।

‘कांग्रेसलाई प्रतिपक्षीको परिचयले सकस परेको छ। तर, बाध्यताले प्रतिपक्षमा बस्नु परेको छ,’ ओलीले भने,’ यतिबेला कांग्रेस पानीबिनाको माछोजस्तै छटपटाएको देखिन्छ। सत्ता बाहिर कांग्रेसले आफ्नो अस्तित्व आफैंले विश्वास गर्न नसक्ने अवस्थामा छ। सत्ता बाहिर हुँदा सत्तामा विग्रह ल्याउने र अल्पकालीन लाभ लिने अनुभव कांग्रेससँग निकै छ।’ \

  •     ‘कांग्रेसले आफूलई न सत्ता पक्ष न प्रतिपक्ष भन्न सकेको छ। कांग्रेस पानी बाहिरको माछा जस्तै भएको छ।’
  •     ‘बृहत्तर राष्ट्रिय हितमा काम गरौं। स्थायित्वको लागि योगदान गरौं।’ 

त्यस्तै, ओलीले रवि लामिछानेको सांसद पद खारेज गर्ने सर्वोच्च अदालतको फैसलामाथि संसद्मा प्रश्न उठाए। यो फैससलाले कसलाई न्याय भयो भन्ने बुझ्न नसकेको उनको भनाइ थियो। ओलीले सर्वोच्चलाई सम्मान गर्ने र यो फैसलालाई मानेर कार्यान्वयन गर्ने बताए पनि फैसलाले आफ्नो मनमा केही प्रश्न आएको उनले बताए। ‘रवि लामिछानेले ढोका खुला देखेर फुत्त पसेको होइन। निर्वाचन आयोगले उम्मेदवार हुन पाउँछ भनेर सदर गरेको र चुनाव लड्दा अत्याधिक मतले आफ्नो प्रतिनिधि छानेको हो।’

ओलीको भनाइप्रति खतिवडाको नियमापत्ति

संसद्मा ओली बोलिरहेकै बेला कांग्रेसका सांसद रामहरि खतिवडाले नियमापत्ति जनाए। ओलीले न्यूनतम साझा कार्यक्रमबारे बोलेको भन्दै उनले नियमापत्ति जनाएका हुन्। ‘सम्माननीय पूर्वप्रधानमन्त्रीज्यूले बोल्ने क्रममा न्यूनतम साझा कार्यक्रमबारे बोल्नुभयो। यो संसद् चलिरहेको छ। 

चलेका दिनदेखि न्यूनतम साझा कार्यक्रमको रूप, अनुहार र कागज हामीले देख्न पाएका छैनौं। कुनै बार्दलीमा ल्याएको कार्यक्रम यहाँ प्रस्तुत नगरियोस्,’ खतिवडाले भने। त्यसपछि ओलीले कांग्रेसले प्रधानमन्त्री भन्दाअगाडि बोल्न पाऊँ भनेर सदन अवरुद्ध गरेको भन्दै नियमापत्ति गर्नु अनौठो नभएको बताए। 

कांग्रेसले विश्वासको मत दिएपछि ओली त्रसित

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले कांग्रेसले राष्ट्रपतिमा दाबी गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीको सातोपुतलो गएको बताए। संसद्मा आइतबार धारणा राख्दै उनले २६ पुसदेखि नै ओली त्रसित भएको बताए। २६ पुसमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिए। कांग्रेसले पनि विश्वासको मत दिएपछि ओली त्रसित भएको केसीको भनाइ छ।

‘अहिलेको प्रधानमन्त्री पुष्पकमल दाहाल होइन। उहाँ (ओली) नै हुनुहुन्छ। उहाँ २६ पुसको घटनापछि त्रसित हुनुहुन्छ,’ उनले भने। ओलीले नागरिकताको विषयमा प्रवासी नेपालीका बारेमा गोहीको आँसु बगाएको केसीको आरोप छ।

रास्वपाका सांसदहरूद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले प्रतिनिधिसभा बैठक अघोषित रूपमा बहिष्कार गरेको छ। दिउँसो १ बजेबाट सुरु भएको बैठकमा पार्टीका कुनै पनि सांसद उपस्थित भएनन्। रास्वपाका अध्यक्ष लामिछानेले पत्रकार सम्मेलन गरी आफ्नो पार्टी सरकारबाट बाहिरिएको तर सरकारलाई गरेको समर्थन कायम राख्ने बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.