नदीमा फोहोर फाल्नेलाई कारबाही गर्ने महानगरको चेतावनी
वीरगन्ज: नदी सफा राख्न वीरगन्ज महानगरपालिकाले आवश्यक कदम चाल्ने भएको छ। वीरगन्ज शहरकै लाइफ लाइनका रुपमा रहेको सिर्सिया नदीलाई सफा बनाउन जथाभावी फोहोर फाल्नेलाई कारबाही गर्ने महानगरले जनाएको छ।
महानगरले गठन गरेको सिर्सिया नदी प्रदुषण नियन्त्रण समितिले नदी प्रदुषण गरेका वीरगन्ज पथलैया औद्योगिक करिडोरका उद्योगहरुलाई कारबाही गर्ने निर्णय गरेको हो।
बुधबार महानगरकै सभाकक्षमा मेयर राजेशमान सिंहको अध्यक्षतामा बसेको समितिको बैठकले पानी प्रशोधन नगरी उद्योगबाट निस्केको फोहोर पानी सोझै नदीमा फाल्दै आएका उद्योगलाई कारबाही गर्ने निर्णय गरेको हो।
समितिले यसअघि पटक पटक अनुगमन गरेको थियो । अनुगमनका क्रममा अधिकांश उद्योगहरुले अटेरी गर्दै उद्योगबाट निस्केको फोहोर तथा फोहोर पानी सोझै नदीमा फाल्दै आएको भेटिएको थियो। त्यसपछि समितिले उद्योगको फोहोर र रसायनयुक्त पानी सिधै नदीमा नफाल्न सचेत पनि गराएको थियो।
उद्योगले त्यसको अटेरी गर्दै फोहोरजन्य पदार्थ र रसायनयुक्त पानी नदीमै फाल्न थालेपछि महानगरले कारबाहीको चेतावनी दिएको हो।
बुधबारको बैठकले औद्योगिक करिडोरका उद्योग र वीरगन्ज उद्योग वाणिज्य संघलाई पत्राचार गरेर कारबाहीको निर्णय बारे जानकारी गराएको छ।