इन्द्रेणीजस्तै रेन्बो ट्राउट माछा

इन्द्रेणीजस्तै रेन्बो ट्राउट माछा

माछा पर्यटनको विकासले पनि यस्ता ठाउँहरू रेन्बो ट्राउट माछाजस्तै रंगीन बनिसकेका छन्। 

माछा भन्नेबित्तिकै मानिसको मन माछाजस्तै चञ्चल हुन्छ। जसरी माछा पानीमा पौडिन्छ त्यसरी नै मानिसको मन एउटा संवेदनामा पौडी खेल्न थाल्छ। माछा पानीमा तैरिएजस्तै मानिस पनि माछा हेरेर खुसी, उमंग र रोमाञ्चकताले आफ्ना भावनाहरूको पानीमा तैरिन थाल्छ। माछा हेर्ने, समात्ने र खाने प्रक्रिया प्राचीनकालदेखि आधुनिक कालसम्म चलिरहेकै छ। माछालाई पालन गर्नुका अतिरिक्त बल्छी खेल्ने, हेर्ने र अन्य मनोविनोदको लागि पनि प्रयोग गरिन्छ।

विश्वभरि माछा समात्ने, पाल्ने र खाने चलन हजारौं वर्षदेखि चल्दै आएको हो। कृषि क्षेत्रमा आधुनिक प्रविधिको विकाससँगै माछापालनमा पनि नयाँनयाँ प्रविधिहरू थपिएका छन्। माछाको जातीय विशेषताअनुसार पालन प्रविधिहरू पनि फरकफरक हुन्छन्। वैज्ञानिक, प्राविधिक र किसानहरूले लामो समयको खोज, अनुसन्धान र पालन व्यवहारबाट पालनयोग्य माछाको पहिचान तथा छनोट गरेका हुन्छन्।त्यसैमध्येको एउटा माछा हो रेन्बो ट्राउट। यो माछा इन्द्रेणीजस्तै रंगीन हुन्छ, त्यसैले यसलाई रेन्बो ट्राउट नाम दिइएको छ। यो माछालाई सालमोनिडा परिवारमा पहिचान गरिन्छ। यसको शरीर रेन्बो अर्थात् इन्द्रेणीजस्तै रंगीन हुन्छ। ट्राउट माछा पनि धेरै प्रजातिका हुन्छन्।

नेपालका नदी, खोला र तालमा पाइने करिब १७ प्रकारका असला माछा पनि ट्राउट प्रजातिमै पर्छन्।  नेपालको रारा तालमा तीन प्रकारका असला माछा पाइन्छन् जुन अन्य कुनै ठाउँमा पाइँदैनन् भनिन्छ। यहाँ त्यही इन्द्रेणीजस्तै रंगीन रेन्बो ट्राउट माछाको चर्चा गरिएको छ।  

यो माछापालन गर्न प्रशस्त चिसो पानी उपलब्ध हुने, बाढीपहिरो नलाग्ने, केही भिरालो परेको जमिन, यातायात,  बिजुली र सञ्चार सुविधा भएको ठाउँ उपयुक्त हुन्छ। हाम्रो देशमा मध्य र उच्च हिमाली भेगबाट आउने धेरैजसो खोलानाला, झरना, मूल र धमिलो पानी नआउने नदीको चिसोपानीमा यो माछा पालन गर्न सकिन्छ। रेन्बो ट्राउट माछा सफा, चिसो र निरन्तर बगिरहने पानीमा पाइने मांसाहारी जातको माछा हो। मानव स्वास्थ्य र पोषणका लागि चाहिने विशिष्ट पौष्टिक तत्त्वहरू यो माछामा पाइन्छ। यसमा असाधारण रूपमा ओमेगा तीन पाइन्छ, जुन तत्वत मानव स्वास्थ्यका लागि धेरै महत्त्वपूर्ण मानिन्छ। साथै यसमा बोसोको मात्रा अरू मासुमा भन्दा कम हुन्छ। यसमा पाइने पौष्टिक तत्वहरू दिमाग, छाला र मुटुको लागि पनि राम्रो मानिन्छ। हरेक एक सय ग्राम रेन्बो ट्राउट माछामा १५३ क्यालोरी, २६ ग्राम प्रोटिन, ४.७ ग्राम असन्तृप्त बोसो, १.२ ग्राम सन्तृप्त बोसो र ३५.३ मिलिग्राम सोडियमलगायत १८ प्रकारका इमिनोएसिडजस्ता तत्त्वहरू पनि पाइन्छ।  यसमा काँढाहरू कम हुने भएकोले खान पनि सजिलो हुन्छ।  चिसोपानीमा पालिने भएको कारणले यो माछा अरूभन्दा निकै स्वादिष्ट हुन्छ। नेपालको सन्दर्भमा यो उच्च मूल्य पर्ने माछा हो। 

यसको पालन गर्न किसानहरूले पानीको उपयुक्त वातावरण तयार गर्नुपर्छ। त्यसको लागि स्थायी र भरपर्दो स्रोतबाट पानीको व्यवस्था गरी पानी निरन्तर बगिरहने गतिशील पोखरी अर्थात् रेसवे निर्माण गर्नुपर्छ। असल व्यवस्थापन भएमा एक वर्ग मिटरको जल क्षेत्रफलबाट करिब १० देखि २० किलोग्राम माछा उत्पादन हुन्छन्। यो माछापालन गर्दा प्राविधिक र विज्ञको सल्लाह लिनुपर्छ। सम्भाव्यता अध्ययन गर्ने, गतिशील पोखरीको निर्माण गर्ने र भुराको छनोट गर्न जान्नु पर्छ। दानाको उचित प्रयोग गर्ने, नियमित रूपमा पानीको जाँच गर्ने र रेसवे पोखरीको सफाइ तथा रोगको पहिचान र उपचार गर्नेतिर पनि ध्यान दिनु्पर्छ। 

यो माछालाई प्राकृतिक बासस्थानमा रहनसहन गर्न शून्यदेखि २२ डिग्री तापक्रम चाहिन्छ। प्रजनन गर्न ८ देखि १३ तथा राम्रो वृद्धिका लागि १४ देखि १८ डिग्री सेल्सियससम्मको तापक्रम आवश्यक पर्छ। प्रतिलिटर ६/७ मिलिग्रामभन्दा बढी घुलित अक्सिजनको आवश्यकता हुन्छ। यसलाई पालन गर्न गतिशील पोखरी अर्थात् रेसवेहरूको निर्माण गर्नु पर्छ। यो माछा पालनको लागि पानीको उचित व्यवस्थापन र गुणमा ध्यान दिनु पर्छ। उपयुक्त भौतिक र रासायनिक गुणको मात्रा पानीमा हरेक क्षण आवश्यक भइरहन्छ। माछालाई जथाभावी चलाउन र तनाव दिन हुँदैन। जाल तान्दा र ओसारपसार गर्दा चोटपटक नलाग्ने गरी काम गर्नुपर्छ र पानीको वातावरणलाई स्वच्छ राख्नु पर्छ। साथै यसलाई सधैंभरि ३० देखि ३५ प्रतिशत प्रोटिनयुक्त दाना दिनु पर्छ। कम प्रोटिन भएको दाना दिएर यो माछाको वृद्धि हुन सक्दैन। 

मत्स्य विकास निर्देशनालय र मत्स्य अनुसन्धान केन्द्रका अनुसार नेपालमा सर्वप्रथम यो माछा जापानको मियाजाकी प्रान्तबाट उपहारस्वरूप सन् १९८८ मा ल्याइएको थियो। मत्स्य अनसन्धान केन्द्र गोदावरीमा पालन परीक्षण सुरु गरिएको र त्यसपछि यसलाई मत्स्य अनुसन्धान केन्द्र त्रिशूलीमा प्रजनन र पालन गर्ने काम भएको थियो। जापान सरकारबाट प्राप्त ५० हजार गोटा रेन्बो ट्राउट माछाका भुरा उपलब्ध भएपछि नेपालमा त्यसको परीक्षण उत्पादनका सुरु गरिएको थियो। उक्त परीक्षण उत्पादनलाई सन् १९९७ मा पहिलो पटक किसानस्तरमा लगिएको थियो। 

निजी क्षेत्रबाट सन् १९९८ मा नुवाकोटको ककनीमा किसानद्वारा गरिएको पालन सफल भएपछि देशभरि यसको प्रचारप्रसार र पालन भइरहेको छ। हाल ताप्लेजुङदेखि डोटी जिल्लासम्म रेन्बो ट्राउट माछापालन भइरहेको छ। मुलुकको मध्यपहाडी र हिमाली क्षेत्रको तल्लो भूभागमा यसको सघन प्रविधिबाट पालन गर्न सकिन्छ। यो माछाले खाने दानाको मूल्य महँगो हुने भएकोले यसको मूल्य पनि अरू माछाको भन्दा निकै महँगो हुन्छ।

२०७७/०७८ सालमा ४.७ हेक्टर क्षेत्रफलमा ६६८ मेट्रिकटन रेन्बो ट्राउट माछा उत्पादन भएको तथ्यांक केन्द्रीय मत्स्य प्रवद्र्धन तथा संरक्षण केन्द्रले सार्वजनिक गरेको छ। जहाँ यो माछा पालन गरिएको छ, त्यहाँ माछा खान र घुमफिर गरेर मनोरञ्जन लिन जाने मानिसको भीड लाग्ने गरेको छ। माछा पर्यटनको विकासले पनि यस्ता ठाउँहरू रेन्बो ट्राउट माछाजस्तै रंगीन बनिसकेका छन्। 

- भट्टराई, मत्स्य विज्ञ हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.