सुत्केरीको ज्यान गएपछि अस्पतालमा तनाव
नुवाकोट : जिल्ला अस्पताल त्रिशूलीमा शल्यक्रिया गरिएकी एक सुत्केरीको ज्यान गएको छ।
सुत्केरीको ज्यान गएपछि बिहीवार नुवाकोटको सदरमुकाम तथा अस्पताल क्षेत्र दिनैभर ततावग्रस्त रहन पुग्यो।
त्रिशूली अस्पतालमा सोमवार बेलुकी शल्यक्रिया गरिएकी विदुर नगरपालिका-५ पिपलटारकी २४ वर्षीया सुत्केरी सरिता न्यौपानेको मृत्यु भएपछि उनका परिवार तथा आफन्तले चिकित्सकले लापरबाही गरेको आरोप लगाएका छन्।
उनीहरूले सम्वन्धित चिकित्सकलाई कारवाही गरिनु पर्ने माग गरेका छन्। शल्यक्रियामा संलग्न चिकित्सकविरुद्ध मृतकका परिवार तथा आफन्तले नेपाल मेडिकल काउन्सिलमा उजुरी दिने तयारी गरेका छन्।
सुत्केरीको मृत्यु भएपछि मृतकका परिवार तथा आफन्तले जिल्लाको विदुर, त्रिशूली तथा अस्पताल परिसरमा शव घुमाउँदै कारवाहीको माग गरे।
बिहीबार नै प्रमुख जिल्ला अधिकारी किरण थापाको अध्यक्षतामा वसेको बैठकले छानविन समिति गठन गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय प्राविधिकसहितको छानविन समिति गठन गरेको हो।
मृतकका परिवारलाई तत्काल क्षतिपूर्ति स्वरुप पाँच लाख रुपैयाँ उपलब्ध गराउने, दुई जना बच्चालाई अध्ययन र स्वास्थ्यका लागि नुवाकोटका स्थानीय तहहरूको तर्फबाट प्रबन्ध गर्ने र छानविन समितिले कार्य सुरु गरेको एक साताभित्रमा छानविन गरि सत्यतथ्य प्रतिवेदन सार्वजनिक गरी सम्बन्धित चिकित्सक दोषी भएमा विभागीय कारवाही गरिने सहमति भएको प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक रमेश पण्डितले जानकारी दिए।
त्रिशूली अस्पतालका प्रमुख तथा मेडिकल सुपरिटेन्डेन्ट डा. दीपेन्द्र पाण्डेले सुत्केरीको मृत्यु हुनुमा चिकित्सकको गल्ती रहेको प्रमाणित भएमा कानुनबमोजिम कारवाही गर्ने प्रतिवद्धता जनाए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)