सिद्धबाबामा सुरुङ निर्माण सुरु
विभागले कामको डीपीआर स्वीकृत गरिनसकेकोले अहिलेपूर्व तयारीको काम भइरहेको सिद्धबाबामा सुरुङमार्ग योजना कार्यालयले जनाएको छ।
तानसेन : सिद्धार्थ राजमार्गको सिद्धबाबामा सुरुङ निर्माणका लागि वैकल्पिक सडक बनाउन थालिएको छ। सुरुङ बनाउन थाल्दा मुख्य राजमार्ग बन्द हुने भएकाले डाइभर्सन बनाउन लागिएको हो।
डाइभर्सन निर्माण गर्न अहिले तानसेन बुटवल सडकखण्ड दैनिक आठ घण्टा बन्द भएको छ। तिनाउ जलविद्युत्को ड्याममाथि सडक डाइर्भसन निर्माण गर्न दैनिक ८ घण्टा सडक बन्द गरी काम सुरु भएको हो। शनिबार फागुन १३ गतेदेखि १५ दिनको लागि दिउँसो र राति गरी दुई पटक सडक बन्द गर्न लागिएको हो। दिउँसो ११ बजे देखि २ बजे सम्म र राति १० बजेदेखि बिहान ३ बजेसम्म सडक बन्द गरी काम सुरु भएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए।
चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सुरुङमार्गको ठेक्का लिएर पूर्वतयारीको काम सुरु गरिरहेको छ। सिद्धबाबा मन्दिरदेखि रामापिथेकस पार्कसम्म १ हजार १ सय २६ मिटर दूरी रहेको सुरुङको पूर्वतयारीको काम भइरहेको सिद्धबाबामा सुरुङमार्ग योजनाका प्रमुख होमबहादुर एसीले बताए।
सडक बन्द रहेको समयमा आकस्मिक रूपमा यात्रा गर्नुपर्ने र साना र हलुका सवारीसाधनहरूका लागि दोभानदेखि नुवाकोट हुँदै बेलबास सडक मार्ग प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय पाल्पाले अनुरोध गरेको छ। सुरुङमार्ग निर्माण कम्पनीले सम्झौताअनुसार डीपीआरको काम सकेर सडक विभागलाई बुझाइसकेको छ। विभागले कामको डीपीआर स्वीकृत गरिनसकेकोले अहिलेपूर्व तयारीको काम भइरहेको सिद्धबाबामा सुरुङमार्ग योजना कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !