बजेटपछि खस्किएको सेयर बजारको गति उस्तै
काठमाडौं : बजेट घोषणापछिको सेयर बजारले ओरालो यात्राको तय गरेकोमा जेठको चौथो सातामा पनि उही क्रम रह्यो। यस साता ५ दिनै सेयर कारोबार भयो। नेपाल स्टक एक्स्चेन्ज (नेप्से) १ दिन सामान्य बढ्यो भने ४ दिन घट्यो।
अघिल्लो साता पनि सेयर बजार घटेकै थियो।अघिल्लो साता कारोबारको अन्तिम दिन शुक्रबार २७५५.४१ अंकमा बन्द भएको नेप्से यस साता सेयर कारोबारको पहिलो दिन सोमबार दोहोरो अंकले घट्यो। त्यसदिन नेप्से २०.२७ अंकले घटेर २७३५.१४ विन्दुमा झर्यो ।
त्यसको भोलिपल्ट मंगलबार पनि सामान्य अंकले घट्यो। त्ससदिन नेप्से १.५४ अंकले घटेको थियो। बुधबार भने नेप्से २.५७ अंकले बढ्यो। त्यसपछि कारोबार भएका दुवै दिन नेप्से घटे। बिहीबार नेप्से ८.१४ अंकले घट्यो। सेयर कारोबारको अन्तिम दिन शुक्रबार ४.०० अंकले घटेर नेप्से २७२४.०३ विन्दुमा आइपुग्यो।
साताको चार दिनमा ३३.९५ अंकले घटेकोमा एक दिन २.५७ अंकले बढे पनि नेप्सेमा ३१.३८ अंकले गिरावट आयो। अघिल्लो साता पनि नेप्से २६.६९ अंकले घटेको थियो। यसबाट बजेटपछिका हरेक साता नेप्से दोहोरो अंकले घटेको देखाउँछ। यस सातामा मंगलबार न्यून विन्दु २७०१.८६ मा र सोमबार उच्च विन्दु २७५४.५८ अंकसम्ममा नेप्से बढेर सेयर कारोबार भयो। अघिल्लो साता नेप्से २७९९.१५ अंकसम्म पुगेर कारोबार भएको थियो। तुलनात्मक रूपमा साताको सेयर कारोबारको उच्च विन्दु पनि खस्कँदो गतिमा रहेको छ।
साताकै सबैभन्दा कम शुक्रबार ३ सय ४२ वटा कम्पनीको कारोबार भएकोमा मंगबार साताकै सबैभन्दा बढी ३ सय ५७ स्क्रिप्टहरूको कारोबार भयो। अघिल्लो साता बढीमा ३ सय ५३ स्क्रिप्टहरूको कारोबार भएको थियो।
यस साता सबैभन्दा कम बिहीबार ३ अर्ब ९० करोड ६२ लाख र सबैभन्दा बढी मंगलबार ६ अर्ब ४४ करोड ३१ लाख रुपैयाँको सेयर कारोबार भयो। साताभरीमा ५ दिनको कारोबारमा २३ अर्ब ७ करोड २८ लाख रुपैयाँको सेयर खरिदबिक्री भयो। यसबाट औसतमा दैनिक ४ अर्ब ६१ करोड ४५ लाख रुपैयाँको सेयर कारोबार भएको देखाउँछ। अघिल्लो साता औसतमा दैनिक ५ अर्ब ६२ करोड ५६ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको थियो। यसले सातामा औसत दैनिक सेयर कारोबार लगभग १८ प्रतिशतले घटेको देखाउँछ। अघिल्लो साता पनि औसत दैनिक सेयर कारोबार करिब ४ प्रतिशलले घटेको थियो।
नेप्सेको कुल बजार पुँजीकरण शुक्रबार ४६ खर्ब ५४ अर्ब ५५ करोड रुपैयाँ छ। गत साताको अन्तिम दिन बुधबार बजार पुँजीकरण ४७ खर्ब १ अर्ब २८ करोड रुपैयाँ थियो। साताभरमा नेप्से ३१.३८ घट्दा कुल बजार पुँजीकरण ४६ अर्ब ७३ करोड रुपैयाँले घट्न पुग्यो। अघिल्लो साता पनि कुल बजार पुँजीकरण ४५ अर्ब ५४ करोड रुपैयाँले घटकै थियो।
यस साताभरीका एक दिन कालिञ्चोक हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो, शुक्रबार भने १०.६६ अंकले घटेको थियो। अघिल्लो साताको पाँचै दिन कालिञ्चोकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो। यस साता सोपान फर्मास्युटिकल, खानीखोला हाइड्रोपावर र एपोलो हाइड्रोपावर प्रत्येकको दुई दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार केष्ट माइक्रो लाइफ इन्स्योरेन्सको १३. प्रतिशत, बढेको थियो। मंगलबार सप्तकोशी विकास बैंकको १०.९८ र बिहीबार १३.५१ प्रतिशतले घटेको थियो। त्यस्तै बिहीबार बोटलर्स नेपालको पनि ८.३३ प्रतिशतले घटेको थियो।
सेयर बजारमा सूचीकृत १३ उपसमूहमा यस साता हाइड्रोपावरको इन्डेक्स बढ्यो भने अरू १२ वटाको घटे। हाइड्रोपावरको इन्डेक्स ८.७६ प्रतिशतले बढेको थियो।
- यस साता ५ दिनै सेयर कारोबार भएकोमा नेप्से १ दिन सामान्य अंकले बढ्यो भने ४ दिन घट्यो।
- साताभरमा नेप्से ३३.९५ अंकले घट्दा कुल सेयर बजार पुँजीकरणमा पनि ४६ अर्ब ७३ करोडले कमी हुन पुग्यो।
यस साता सेन्सेटिभ इन्डेक्स ४.९० अंक, फ्लोट इन्डेक्स १.९८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.६६ अंकले घटेका थिए। अघिल्लो साता पनि सेन्सेटिभ इन्डेक्स ३.५२ अंक, फ्लोट इन्डेक्स १.०९ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६६ अंकले घटेकै थिए।
सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन असार २ सम्म
सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिजले जेठ २८ देखि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ। कम्पनीको सेयरमा सर्वसाधारण लगानीकर्ताले असार २ गतेसम्म आवेदन दिन सक्नेछन्। आईपीओमा न्यूनतम १० देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। प्रतिकित्ता सय रुपैयाँका दरले ७ करोड ५ लाख ५० हजार रुपैयाँको ७ लाख ५ हजार ५ सय कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरिएकोे छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ।
डिम्याट खाता खोल्न एनआईडी अनिवार्य
सेयर कारोबारका लागि साउनदेखि नयाँ डिम्याट खाता खोल्न राष्ट्रिय परिचयपत्र (एनआईडी) अनिवार्य चाहिने भएको छ। धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको नीति तथा कार्यक्रममा उक्त व्यवस्था गरेको थियो। बोर्डले नेप्से र सिडिएस एन्ड क्लियरिङ लिमिटेडलाई यस व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ।
कालंगा हाइड्रोको आईपीओको बाँडफाँट
कालंगा हाइड्रो कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ) जेठ २७ गते बाँडफाँट भएको छ। कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले २८ करोड ७० लाख रुपैयाँको २८ लाख ७० हजार कित्ता सेयर निष्कासन गरेको थियो। यसमा २ लाख ८७ हजार जनाले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्। कम्पनीकोे सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल हो।
महिला लघुवित्तको संस्थापक सेयर बिक्रीमा
महिला लघुवित्त वित्तीय संस्थाको ८४ हजार ५ सय ३७ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ। लघुवित्तको सेयर असार ७ गतेसम्म खरिद गर्न पाउने गरी लिलामी प्रक्रियामा राखिएको हो।बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५ सय १५ रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम १ हजार र अधिकतममा १० अंकले भाग जाने संख्यासम्म खरिदका लागि बोलपत्र पेस गर्न सकिनेछ।
नयाँ कम्पनी ऐनको मस्यौदामा ‘स्वेट सेयर’
सरकारले पुँजी लगानीबिना नै कम्पनीको सेयरधनी बन्न सक्ने कानुनी व्यवस्थासहितको नयाँ कम्पनी ऐनको मस्यौदा तयार गरेको छ। ज्ञान, सीप र बौद्धिक क्षमता उपयोग गरी पुँजीबिना मेहनताना (स्वेट इक्विटी) लिएर कम्पनीको सेयरधनी बन्न सक्ने कम्पनी ऐन बन्न लागेको हो।
मर्चेन्ट बैंकरहरूअनुसार आइडिया भएका तर पैसा नभएकाहरूले नयाँ व्यवस्थापछि स्वेट इक्विटीमार्फत लगानी गर्ने अवसर पाउँदा स्टार्टअपका लागि राम्रो गर्छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नयाँ ऐनको मस्यौदा तयार पारी सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस !