बिरामीको मृत्युपछि उपचार राशीबाट छात्रवृत्ति कोष स्थापना
गोरखा : मृगौला पीडितको उपचारमा सहयोग गर्न संकलित रकमले बिरामीको मृत्युपछि छात्रवृत्तिकोष स्थापना गरिएको छ।
गोरखा नगरपालिका-६ पँदेली घर भई बेलायतमा बस्दै आएका रामकृष्ण श्रेष्ठको उपचार गर्न संकलित रकमबाट स्थानीय शक्ति मावि र महेन्द्रज्योति माविमा अक्षयकोष स्थापना गरिएको हो।
उपचारका लागि रकम संकलन गर्ने विनयचन्द्र आचार्य र सचिन श्रेष्ठले ती दुई विद्यालयमा अध्ययनरत बालबालिकालाई पठनपाठनमा सहयोग पुर्याउने गरी अक्षयकोष स्थापना गरेका हुन्।
गोरखा नगरपालिका-६ पदेलीका स्वर्गीय रामकृष्ण श्रेष्ठको स्मृतिमा तीन लाख ८९ हजार नौ सय रुपैयाँको अक्षयकोष स्थापना गरिएको हो।
अक्षयकोषका लागि प्राप्त भएको सो रकम दुईवटा विद्यालयलाई बराबर बाँड्दा प्रतिविद्यालय एक लाख ९४ हजार नौ सय ७० रुपैयाँ एउटाको भागमा परेको छ।
सो रकमले दुवै विद्यालयमा रामकृष्ण स्मृति छात्रवृत्ति कोष स्थापना गरी दुवै विद्यालयमा अध्ययनरत तीन/तीन जना बालबालिकाहरूलाई हरेक वर्ष छात्रवृत्ति दिने निर्णय भएको अक्षयकोषका समन्वयकर्ता रामचन्द्र आचार्यले बताए। विद्यालयले छनौट गरेका गरिब, जेहेन्दार विद्यार्थीले छात्रवृत्ति रकम पाउनेछन्।
वार्षिक रूपमा दुवै विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत एक जनालाई रु १० हजार र कक्षा ६ देखि १० सम्म अध्ययनरत २ जनालाई ४/४ हजार दरले दिइने सो कार्यक्रमका समन्वयकर्ता रामचन्द्र आचार्यले जानकारी दिए।
मृगौंला समस्याबाट पीडित श्रेष्ठको उपचारका क्रममा गत भदौ ९ गते युकेमा मृत्यु भएको थियो। उनको जीवन बचाउनका लागि बेलायतमा बस्दै आएका गोरखा सदरमुकामका १७ जनाले रकम संकलन गरेका थिए।
उपचारका क्रममा मृत्यु भएकाले संकलित रकम उनले अध्ययन गरेको विद्यालयमा अक्षयकोष स्थापना गरिएको आचार्यले जानकारी दिए। श्रेष्ठले कक्षा ६ सम्म महेन्द्रज्योति र ७ देखि १० कक्षासम्म शक्ति माविमा अध्ययन गरेका थिए।
स्थानीयहरू विनय आचार्य, दिनेश भण्डारी, भगवान श्रेष्ठ, सचिन श्रेष्ठ, संगीत श्रेष्ठ, सम्झना श्रेष्ठ लामा, सुशील प्रजापति, रामबाबु श्रेष्ठ, निरपेश श्रेष्ठ, निर्मल श्रेष्ठ, सुजन श्रेष्ठ, राम मास्के, गंगा करणजित श्रेष्ठ, उत्तम श्रेष्ठ, ज्योति श्रेष्ठ र गानु प्रधानले उक्त रकम सहयोग गरेका हुन्।
आइतबार चेक हस्तान्तरण कार्यक्रममा अक्षयकोषका समन्वयकर्ता रामचन्द्र आचार्य, कोषका संरक्षक तोपमान श्रेष्ठले शक्ति माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवराम श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक बद्री अर्याल, महेन्द्रज्योति माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोमबहादुर अछामी, विद्यालयका प्रधानाध्यापक नन्दकुमार श्रेष्ठलाई संयुक्त रूपमा चेक हस्तान्तरण गरेका थिए।
प्रतिक्रिया दिनुहोस !