त्रिविका सम्भावित उम्मेदवार

रस्साकस्सीमा स्ववियु निर्वाचन, विद्यार्थीका मुद्दा गफमै सीमित

रस्साकस्सीमा स्ववियु निर्वाचन, विद्यार्थीका मुद्दा गफमै सीमित
सुन्नुहोस्

स्ववियु निर्वाचनको मिति नजिकिँदै जाँदा विद्यार्थी संगठन तयारीमा जुटेका छन्। विश्वविद्यालय र शैक्षिक सुधारको मुद्दा उठाउने विद्यार्थी संगठन निर्वाचन लगत्तै विगतका वाचा बिर्सने गरेका छन्।

काठमाडौंः स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आउन १६ दिन बाँकी छ। विद्यार्थी नेता चुनावी प्रचारमा जुटेका छन्। त्रिभुवन विश्वविद्यालयका ६२ आगिंक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुँदैछ।

शुक्रबारदेखि स्ववियु निर्वाचनको प्रक्रिया सुरू भएको छ। निर्वाचन प्रक्रियाअन्तर्गत विद्यार्थी संगठनले आफ्नो संगठन दर्ता गरेका छन्।

त्रिविका अनुसार शुक्रबार बिहान १० बजदेखि अपराह्न ३ बजेसम्म स्ववियु निर्वाचनमा सहभागी हुन सबै क्याम्पसका विद्यार्थी संगठनले संगठन दर्ता गराउनुपर्ने थियो। २०६५ सालपछि निर्वाचन हुन लागेकोले पनि विद्यार्थी संगठन विशेष उत्साहका साथ खटिएका छन्।

नेपालमा सबैभन्दा बढि विद्यार्थी अध्ययन गर्ने विश्वविद्यालय हो त्रिवि। यो विश्वविद्यालयमा ०६५ साल पछि आगामी चैत ५ गते स्ववियु निर्वाचन हुनेछ। ०६५ मा अनेरास्ववियु क्रान्तिकारीका हिमाल शर्मा त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापति निर्वाचित भएका थिए। विभिन्न राजनीतिक घटनाक्रमले त्यसयतामा त्रिवि क्याम्पसमा स्ववियु निर्वाचन भएको छैन। 

विद्यार्थी संगठनले आफ्ना एजेण्डासहित मत माग्न थालेका छन्। यद्यपी उम्मेदवारको टुंगो लागेकै छैन। स्ववियुको उम्मेदवार हुन २८ वर्षे हदम्याद तोकिएको छ। 

केन्द्रीय राजनीतिको आधार विद्यार्थी राजनीतिलाई लिइने भएकाले स्ववियु निर्वाचनले केन्द्रीय राजनीतिको पनि ध्यान केन्द्रित गरेको छ। राजनीतिक दलले आफ्नो ध्यानलाई स्ववियुको निर्वाचन केन्द्रित बनाउन थालेका छन्। 

अहिले कुनै पनि विद्यार्थी संगठनले आधिकारिक उम्मेदवार घोषणा गरेको छैन। संगठनमा आवद्ध विद्यार्थी नेताले आफैँ उम्मेदवार दावी गर्दै मत माग्न थालेका छन्।

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले अखिल क्रन्तिकारीमा पञ्चा सिंहको टिमनै आधिकारीक भनेर वक्तव्य नै निकालेका छन्। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्ववियु चुनावलाई लक्षित गर्दै तयार रहन विद्यार्थीलाई निर्देशन दिए।

त्रिविमा वार्षिक कार्यतालिका कार्यान्वयनमा नआउनु, समयमा नतिजा प्रकाशन नहुनु, परीक्षामा ढिलाइ हुनु, समयानुकुल पाठ्यक्रम नहुनु, छात्रावास अव्यवस्थित हुनु, त्रिवि प्रशासनका काम झण्झटिलो हुनु, प्रमाणपत्र लिन सकसपूर्ण हुनु नै त्रिविमा मुख्य समस्या हुन्।

विद्यार्थी संगठनले स्ववियुमार्फत क्याम्पसको चौतर्फी विकासमा भूमिका खेल्ने दावी गरे पनि भनाइ र गराइ फरक हुने गरेको विद्यार्थीहरू नै बताउँछन्। त्रिवि केन्द्रीय क्याम्पसमा अध्ययनरत् रवीन केसी भन्छन्, ‘नाम मात्रैका विद्यार्थी संगठन भए। नारा गर्न र पढाइ बिथोल्न आउँछन्। हाम्रा समस्या समाधान भएका छैनन्। भोट माग्दै त आए तर दिउँ कि नदिउँ मैले निर्णय गरेको छैन। सोच्दैछु।’ विद्यार्थीको हकहितमा विद्यार्थी संगठन चुइक्क नबोलेको केसीले बताए।

नेतृत्वमा दावी गर्ने को को ?
अहिले कुनै पनि विद्यार्थी संगठनले आधिकारिक उम्मेदवार घोषणा गरेको छैन। संगठनमा आवद्ध विद्यार्थी नेताले आफैँ उम्मेदवार दावी गर्दै मत माग्न थालेका छन्। पछि उम्मेदवारी घोषणाका क्रममा भागबण्डा मिलाउँदा उनीहरूको अहिलेको दावी फरक पनि पर्न सक्नेछ।

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबाट स्ववियु सभापतिमा प्रदीप भट्टको दावी छ। भट्ट अखिल क्रान्तिकारी त्रिविका अध्यक्ष हुन्। यद्यपी दोस्रो तहबाट पनि सभापतिमा उम्मेदवारी दिनेबारे अखिल क्रान्तिकारीमा छलफल भइरहेको छ। 

त्रिविमा वार्षिक कार्यतालिका कार्यान्वयनमा नआउनु, समयमा नतिजा प्रकाशन नहुनु, परीक्षामा ढिलाइ हुनु, समयानुकुल पाठ्यक्रम नहुनु, छात्रावास अव्यवस्थित हुनु, त्रिवि प्रशासनका काम झण्झटिलो हुनु, प्रमाणपत्र लिन सकसपूर्ण हुनु नै त्रिविमा मुख्य समस्या हुन्।

 

अखिल क्रान्तिकारीबाट स्ववियु सभापतिमा संगठनका उपाध्यक्ष विपीन विक, सहसचिवद्वय दिनेश ऐर र चन्दन सुनारको पनि चर्चा पनि उत्तिकै छ। संगठनका अध्यक्ष भट्ट संगठनले केही दिनमै आधिकारीक उम्मेदवारको जानकारी गराउने बताउँछन्। उनले अन्नपूर्णसँग भने, 'हाम्रो संगठनमा विवाद छैन। केहीदिनमै सर्वसम्मत रुपमा टिम तयार पार्छौँ।’

यस्तै, नेपाल विद्यार्थी संघबाट स्ववियु सभापतिका आकांक्षी बढ्दै गएका छन्। नेवी संघले पनि उम्मेदवार टुंगो लगाइसकेको छैन। नेवि संघबाट योगेन्द्र रावल, श्यामराज ओझा, विष्णु बडैला,  राजेशकुमार श्रेष्ठ, पद्मा भुसाल, गणेश भण्डारी, हिक्मत खड्का, लोकेन्द्र झाक्रीको नाम चर्चामा छ। 

मुख्यतः रावल र ओझा मध्ये एक जना सभापतिमा प्रतिस्पर्धा गर्ने आँकलन गरिए पनि नेवि संघले उम्मेदवार टुंगो लगाएको छैन। नेवि संघमा संस्थापन र संस्थापनइतर समूहबीच विवाद छ।  

नेवि संघ नेता रावलले विश्वविद्यालयलाई शैक्षिक हबको रुपमा विकास गरी शिक्षा क्षेत्रबाट भएको पुँजीपलायन रोक्न आफूले उम्मेदवारी दिन लागेको बताए। उनले भने, ‘विश्वविद्यालय भित्रका शैक्षिक अनुसन्धान केन्द्रमा विद्यार्थीको सहज पहुच पुर्‍याउनुका साथै सर्वसुलभ उच्च शिक्षाको ग्यारेन्टी गराउन चाहन्छौँ। विश्वविद्यालयको अस्तव्यस्त शैक्षिक क्यालेन्डर परिमार्जन गर्दै युग सुहाउँदो पाठ्यक्रम लागू गराउन चाहन्छौँ।’

नेकपा एमाले निकट अनेरास्ववियुबाट चार जनाले सभापतिमा दावी गरेका छन्। अखिलका केन्द्रीय सदस्य प्रशान्त भण्डारी, त्रिवि कमिटी सदस्य प्रकाश विष्ट, त्रिवि अखिल कोषाध्यक्ष शीला भट्टराई, अनेरास्ववियुका जनक कार्कीको दावी छ। 

त्रिविले सार्वजनिक गरेको स्ववियु निर्वाचन कार्यतालिका अनुसार विद्यार्थी संगठनले फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउनुपर्नेछ। चैत ५ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदानको समय तोकिएको छ।

अखिल त्रिवि इन्चार्ज मदन विष्टले सर्वसहमतिबाट उम्मेदवार तय गरिने बताए। अखिल केन्द्रीय सदस्य भण्डारीले रोजगारमुलक शैक्षिक जनशक्ती उत्पादनमा जोड दिने शिक्षा अहिलेको आवश्यकतालाई पूरा गर्न आफ्नो उम्मेदवारी रहने बताए। उनले भने, ‘खोज, अनुसन्धान र अन्वेषणबाट शैक्षिक गुणस्तर अभिवृद्धि हुन्छ। अनुसन्धानमूलक र आइटी फ्रेन्डली विश्वविद्यालय शिक्षा अहिलेको आवश्यकता हो। त्यसका लागि मैले पहल गर्नेछु।’ भण्डारीले शैक्षिक बेरोजगारको अन्त्य अहिलेको आवश्यकता रहेको उनले बताए।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट मदन केसी स्ववियु सभापतिका दावेदार उम्मेदवार हुन्। केसीले शिक्षा क्षेत्र र त्यसमा पनि विश्वविद्यालयको समस्या सम्बोधन गर्न उम्मेदवारी दिने बताए ।

नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुबाट समीर गौतम स्ववियु सभापतिमा सर्वसम्मत उम्मेदवारी हुने देखिन्छन्। गौतम त्रिवि अनेरास्ववियुका अध्यक्ष हुन्। गौतमले त्रिभुवन विश्वविद्यालयले शैक्षिक क्यालेण्डर लागू गराउन दवाव दिन पनि आफूले उम्मेदवारी दिन लागेको बताए। गौतमले भने, ‘सेमेस्टर प्रणालीको मर्म अनुसार परीक्षा समयमा र नतिजा पनि समयमा प्रकाशन हुनुपर्छ। व्यवहारिक, प्राविधिक र अनुसन्धानमुलक शिक्षामा जोड दिने गरी आवाज उठाउने छु।’

त्रिविमा स्वतन्त्र उम्मेदवार पनि हुनेछन्। निरञ्जन पाठकले स्ववियुको सचीवमा स्वतन्त्र तर्फबाट उम्मेदवारी दिने बताए। त्रिविलाई दलीय भागवण्डाभन्दा माथि उठाउन र शैक्षित क्षेत्र राजनीतिरहित बनाउने आफूले उम्मेदवारी दिने बताए। 

निर्वाचनबाट सभापति, सचिव, कोषाध्यक्ष र ६० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचित हुनेछन्। अन्य पदमा समानुपातिक प्रक्रियाबाट छनोट हुने प्रावधान छ।

त्रिविले सार्वजनिक गरेको स्ववियु निर्वाचन कार्यतालिका अनुसार विद्यार्थी संगठनले फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउनुपर्नेछ। चैत ५ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदानको समय तोकिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.