
क्यान्सरका योद्धाहरू भन्छन्, ‘मनोबल उच्च बनाऔं। समयमै उपचार गरौं। क्यान्सर जितौं।’
स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो। सन्तोष सबैभन्दा ठूलो धन हो। इमान्दारी सबैभन्दा ठूलो सम्बन्ध हो।
– गौतमबुद्ध
मनमा न सन्तोष छ। न त स्वास्थ्य नै ठीक छ। मुस्कुराउन पाइएला ? मनभित्र उब्जने प्रश्नले कुनै बेला घोच्थ्यो। कहिलेकाहीं बाँचिँदैन कि भन्दै मनले नै हरेश खान्थ्यो। भेट्न आउनेहरूको मुहारमा पनि मलिन हुन्थ्यो। तर, अहिले समय फेरिएको छ।
उनीहरू खुलेर हाँस्छन्। आफन्त र साथीभाइबीच रमाउँछन्। क्यान्सर रोगलाई परास्त गर्न सफल महिलाहरू बिरामीलाई परामर्श दिन्छन्। क्यान्सर रोग विशेषज्ञहरू भन्छन्, ‘क्यान्सर विजेताहरूको परामर्श भरपर्दो छ। साइड इफेक्ट गर्दैन। ’
प्रमिताको पराक्रम
आफूलाई क्यान्सर भएको थाहा पाउनेहरू सुरुमै आत्तिन्छन्। जिन्दगी सकिएको महसुस गर्छन्। तर, क्यान्सर परास्त गरेका योद्धाहरू अनुभव सुनाउँछन्, ‘मनोबल बढाऔं। समयमै उपचार गरौं। क्यान्सर जितौं।’ त्यस्तै अनुभव सुनाउने क्यान्सर विजेताहरूको नेतृ हुन्, प्रमिता खनाल। जो आफैं स्तन क्यान्सरलाई परास्त गरेर रमाइरहेकी छिन्। ‘क्यान्सर भएको थाहा पाउनेबित्तिकै हातखुट्टा गले। अस्पतालको पेटीमा थचक्क बसें,’ उनले स्मरण गरिन्, ‘आँसु त आएन। तर, आत्तिएकी थिएँ।’
नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीकी अध्यक्ष खनाल ५२ वर्षकी भइन्। तर, ऊर्जा २५ वर्षीया युवतीको जस्तो छ। सोसाइटीमा एक सय जनाभन्दा बढी छन्। ती सबैलाई एकजुट बनाउने नेतृत्व गरिरहेकी योद्धा हुन्, खनाल। उनको जीवनशैली व्यस्त छ। बिहान ५ बजे उठ्छिन्। पूजा जप गर्छिन्। दिउँसो समयमा प्राय : उनी क्यान्सरका बिरामीको दुःखसुख सुन्छिन्। ढाडस दिन्छिन्। आफूले स्तन क्यान्सर जित्दाको अनुभव सुनाउँछिन्।
‘जीवन स्मुथ ढंगले अघि बढिरहेको थियो,’ खनाल विगत स्मरण गर्दै भन्छिन्, ‘किशोरावस्थामा देखापर्ने जस्तो डन्डिफोर गालामा देखा पर्यो। आफैं हरायो। पुनः ढाडमा देखियो। त्यसपछि दायाँ ब्रेस्ट (स्तन)मा देखा पर्यो। ६ /६ महिनामा स्वास्थ्य जाँच गराउने खनाललाई स्तनको बिमिराले पिरोेल्यो। उनी प्रसूति तथा स्त्री रोग विशेषज्ञ समक्ष पुगिन्। चिकित्सकले हेरेर भने, ‘डन्डिफोर आउन लागेको हो। एन्टिबायोटिक खानुस्।’ एन्टिबायोटिकले ठीक भएन। उनी शिक्षण अस्पताल महराजगन्ज पुगिन्। म्यामोग्राम र एफएनएसी ( फाइन निडिल एस्पिरेसन साइटोलोजी) गरियो। त्यसपछि बल्ला माइल्ड खालको क्यान्सर भएको पुष्टि भयो। एक्लै रिपोर्ट लिन पुगेकी खनाल क्यान्सर भएको सुनेपछि झसंग भइन्।
क्यान्सर बिरामीको मनोबल बढाउन उनी दौडधुप गर्छिन्। ‘सुरुमा त क्यान्सरका बिरामीको स्वास्थ्य अवस्था जानकारी लिन्छौं। बिरामी र परिवारको आर्थिक एवं मानसिक अवस्था बुझ्छौं। के कसरी सहयोग गर्न सकिन्छ ? आपसमा हामी सल्लाह गर्छौं,’ खनाल भन्छिन्, ‘यसैगरी बिताइदिन्छौं, अबको जिन्दगी।’
स्तनका साथै पाठेघरको मुखको क्यान्सरले विशेषगरी प्रौढ महिलालाई सताइरहेको छ। पीडितमध्ये जो कोही आत्तिन्छन्। ‘परिवारका सदस्यले के भन्लान् ? समाजले के सोच्ला भन्ने भय हुन्छ,’ स्तन क्यान्सरलाई पराजित गरेकी खनाल भन्छिन्, ‘रोगविरुद्ध जुधिरहेको बेला हौसला दिनेभन्दा पनि विचरा ... भनेर हतोत्साही गराउने प्रवृत्ति छ।’ खनाल अस्पतालमा शय्यामै रहेका बेला एक महिलाले भनिन्, ‘ क्यान्सर भएका मेरा बुवा त बाँच्नु भएन....!’ अस्पताल होस् वा घरमा बिरामी भेट्न जानेहरूको सोच हौसलाभन्दा सान्त्वना दिन्छन्। ढाडस दिनु साटो निरीह बनाइदिन्छन्। ‘ बिरामीलाई टर्चर दिनेलाई भेट्न मनै लाग्दैन,’ उनले भनिन्,‘ श्रीमान्ले त कतिपयलाई भेट्न नै दिनु भएन।’
रोग त चिकित्सकले ठीक पार्छन्। तर, मानसिक समस्यासँग जुधिरहेका बिरामीको मनोबल कसरी उच्च बनाउने ? उनलाई परामर्श क्षेत्रमा काम गर्न मन लाग्यो। ‘बिरामीले पर्याप्त मात्रामा काउन्सिलिङ नपाइरहेको महसुस भयो,’ उनले भनिन्। वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठले सिद्धि चन्दसँग भेट गराइदिए। त्यो बेला चन्द स्टेज ४ को स्तन क्यान्सरसँग मुकाबिला गरिरहेकी थिइन्। उनी आफैं स्टेज ४ को क्यान्सरसँग जुधिरहेकी थिइन्।
क्यान्सरका बिरामीलाई हौसला दिनुपर्ने महसुस भयो। ओम अस्पतालमा कल्याण क्लिनिकको नाममा परामर्श दिन थालियो। ‘जनचेतनाका लागि क्यान्सर रोग विशेषज्ञसँग मिलेर काम गर्न थाल्यौं। बिरामीलाई ढाडस दिन सुरु गर्यौं।’ उनले भनिन्।
शय्यादेखि आर्यघाटसम्म साथ
क्यान्सर विजेताहरूको भोगाइ धेरैलाई प्रेरणा हुन्छ। त्यसैले बिरामीको मनोबल उच्च पार्न, सकारात्मक जिन जिउन उत्प्रेरित गर्न र क्यान्सर न्यूनीकरणमा राज्यलाई सहयोग गर्न संगठित भएका छन्। क्यान्सरसम्बन्धी जनचेतना फैलाउन नेपाल क्यान्सर सर्भाइभर सोसाइटीको स्थापना गरेका छन्।
सुरुमा त सोसाइटीको सम्पर्क कार्यालयसमेत थिएन। सोसाइटीको संस्थापक अध्यक्ष खनालले सम्पर्क कार्यालयका रूपमा महाराजगन्जस्थित घरको एक कोठा कार्यालयका लागि छुट्ट्याइन्। सहयोग गर्ने कोही थिएन। वरिष्ठ क्यान्सर रोग विशेषज्ञहरू डा. मदनकुमार पिया, डा. सुदीप श्रेष्ठलगायतले सहयोग गरे। ‘ मनले संस्था चल्दो रहेछ,’ खनाल भन्छिन्, ‘अहिले पनि संस्थासँग धेरै पैसा छैन। तर कार्यक्रम गरिरहेका छौं।’
एक महिनादेखि बूढानीलकण्ठमा कार्यालय खडा गरेका छन्। सोसाइटीकी सदस्य क्यान्सर विजेता पूजा कुँवरको सहयोगमा कार्यालय स्थापना भएको हो। ‘भर्खरै क्यान्सर पहिचान भएका र उपचार गरिरहेका वा निको भइसकेकाहरूसँग गर्ने कुरा फरक हुन्छ,’ अध्यक्ष खनाल भन्छिन्, ‘भर्खर उपचार सुरु गरेकाहरू डराइरहेका हुन्छन्। त्यस्तालाई गर्ने काउन्सिलिङ फरक हुन्छ। कहिलेकाहीँ जुमबाट पनि काउन्सिलिङ गर्छौं।’ सोसाइटीमा उपाध्यक्ष रुवि क्षेत्री छिन्।
त्यस्तै, सात सदस्यीय सोसाइटीमा सचिवमा प्रमिला र कोषाध्यक्ष बिनु केसी छिन्। त्यस्तै सदस्यमा सूर्यलक्ष्मी महर्जन छिन्। कार्यसमितिका पदाधिकारीहरू काठमाडौं उपत्यका र बाहिरी जिल्लामा सामुदायिक विद्यालयका छात्राहरूलाई क्यान्सरसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालनमा सक्रिय छन्। कक्षा ८ देखि १२ सम्मका छात्राहरूले स्तन, पाठेघरको मुखको क्यान्सरका विषयमा जानकारी पाएका छन्। अहिले टिन एजमै रहेका किशोरी एवं युवतीहरूलाई समेत अहिले स्तन क्यान्सर देखिएको छ। ‘स्कुल तहदेखि नै क्यान्सरको बारेमा जानकारी दिनु जरुरी छ। अहिले त जवानी उमेरमै पनि क्यान्सर भइरहेको छ,’ उनी भन्छिन्।
अहिले सदस्यहरूको संख्या एक सय नाघिसकेको छ। कार्यसमितिमा महिलाहरू मात्र छन्। साधारण सदस्यहरूमध्ये अधिकांश महिलालाई स्तन क्यान्सरसँग जुधिरहेका छन्। समयमै उपचार गरेर निको भइसकेकादेखि औषधि गरिरहेकाहरू सदस्य छन्। हरेक महिना क्यान्सर महिना बनाउँछन्। ‘हरेक वर्ष चार /पाँचवटा स्वास्थ्य शिविर सञ्चालन गर्छौं,’ खनालले भनिन्। शिविरमा सञ्चालन गर्दा नेपाल क्यान्सर अस्पताल एन्ड रिसर्च सेन्टर हरिसिद्धि र नेसनल क्यान्सर अस्पताल एन्ड रिसर्च सेन्टर जावलाखेलबाट चिकित्सकसहितको जनशक्ति समावेश हुन्छन्। निःशुल्क क्यान्सर स्क्रिनिङ, महिलाको पाठेघर तथा स्तन जाँच स्वास्थ्य शिविर सञ्चालन भइरहेको अध्यक्ष खनालले जानकारी दिइन्। निकट भविष्यमा विराटनगरमा समेत स्क्रिनिङ कार्यक्रम गर्ने योजना छ।
क्यान्सरविरुद्ध जुध्दाजुध्दै कतिपय सहकर्मीहरूको अकालमा ज्यान गइरहेको छ। अब संसार छोड्ने मेरो पालो होला भन्दै कोही भक्कानिन्छन्। ‘उपचार गर्दागर्दै आँखै अगाडि कसैको ज्यान गयो भने अरू आत्तिन्छन्,’ खनाल भन्छिन्, ‘त्यो बेला मन बलियो बनाउँछु। जिन्दगी पानीको फोका हो। कुन बेला फुट्ने हो ठेगानै हुँदैन। सहकर्मीको निधन हुँदा एक्लै भए पनि आर्यघाटमा कुद्दै जान्छु।’
क्यान्सर विजेताको र्याम्प सो
क्यान्सरको हुनेबित्तिकै जीवन सकिनु होइन। डटेर सामना गर्दा विजेता भएका दृष्टान्त हुन्, बबिता (बबि) शाक्य। उनलाई चार पटक क्यान्सर भयो। चारै पटक पराजित गरिन्। ११ वर्षदेखि उनी क्यान्सरमुक्त छिन्। त्यसैले अहिले हरदम मुस्कुराउँछिन्। हाँस्दै भन्छिन, ‘क्यान्सर जितेको भएर हो कि के हो ? कोरोना (कोभिड—१९ ) र डेंगुले छुँदा पनि छोएन।’
उनी व्यस्त छिन्। काठमाडौं सीतापाइलाकी शाक्यले अहिले परामर्श दिन बन्द गरेकी छिन्। किन त ? उनी मुस्कुराउँदै भन्छिन्, ‘क्यान्सर रोग जितेकाहरूका र्याम्प सो गर्दै छौं। त्यसको लागि अलि व्यस्त छु।’
र्याम्पमा उत्रने सबै जना क्यान्सरसँग लडेकाहरू हुनेछन्। स्तन क्यान्सरदेखि पेट, आन्द्रा, पाठेघरको मुखको क्यान्सरलगायतका शरीरका अन्य अंगमा भएको क्यान्सरसँग जुधेकाहरू र्याम्पमा मुस्कुराउँदै हात हल्लाउने छन्। ‘ क्यान्सर दिवसको दिन फेब्रुअरी ४ मा र्याम्प गर्ने योजना थियो। भेन्यु (स्थान) नै पाइएन,’ शाक्यले भनिन् , ‘हाईफाई होइन। च्यारिटीको लागि कार्यक्रम गर्न खोजेका हौं।’ कार्यक्रमबाट संकलित रकम आर्थिक अवस्था कमजोर भएका क्यान्सरका बिरामीको उपचारमा खर्च गरिनेछ।
एकै किसिमका र डिजाइनका पोसाकमा सजिएका क्यान्सर विजेताहरू र्याम्पमा हिँडाउने उनले जानकारी दिइन्। ‘र्याम्पमा लगाउने पोसाक पनि हामी आफैं (सर्भाइभरहरू)ले बनाउँदै छौं,’ शाक्य भन्छिन, ‘र्याम्पमा कति जना सर्भाइभर आउँछन्। त्यो यकिन भइसकेको छैन। करिब ७० /८० जना त पुग्लान्।’ विगतमा सर्भाइभर खुल्न चाहँदैनथे। अहिले र्याम्पमा उत्रने तयारीमा छन्।
नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर हरिसिद्धिको सहयोग तथा नेपाल क्यान्सर सर्भाइभर ग्रुपको आयोजनामा र्याम्प हुन लागेको हो। २०७५ सालदेखि र्याम्प कार्यक्रम गर्न थालिएको हो। कार्यक्रम संयोजक स्वरूपा श्रेष्ठका अनुसार, क्यान्सर हुँदैमा जीवन सकिने होइन भन्ने सन्देशसहित जनचेतना जगाउन र बिरामीको आत्मबल बढाउन र्याम्प आयोजना गरिएको हो। ‘क्यान्सर भन्ने सुन्दासाथ धेरैजना तर्सन्छन्। तर डराउनु पर्दैन,’ क्यान्सर सर्भाइभर ग्रुपकी सदस्य शाक्य भन्छिन्, ‘चार पटक क्यान्सर जितेपछि नयाँ जीवन पाएको महसुस भयो। खुसीयाली बाँड्ने नै हो।
साइड इफेक्ट नहुने ‘काउन्सिलिङ’ क्यान्सरको पीडा र समाजको हेराइका कारण बिरामीले पाएको दुःख कम्ती तीतो छैन। ती भोगाइ सहँदै सबल बनेका क्यान्सर विजेताहरू अहिले रोल मोडल बनेका छन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ (मेडिकल अंकोलोजिस्ट) डा. अरुण शाही क्यान्सरका बिरामीलाई केमोथेरापी (औषधिबाट हुने उपचार ) रेडियोथेरापी र शल्यक्रियाबाट उपचार गरिन्छ। ‘ उपचार गरिरहेका चिकित्सकले बिरामीलाई को हुने ढाडस दिनु स्वभाविक हो,’ डा. शाही भन्छन्, ‘उपचारपछि क्यान्सर रोग जितेका व्यक्तिहरू एकजुट भएर रोल मोडलको रूपमा देखा पर्नु भएको छ। यो अभियान सुखद छ।’
मुलुकभर क्यान्सरका बिरामीको यकिन तथ्यांक छैन। क्यान्सर निको पारेका र मृत्यु हुनेको संख्या पनि सरकारसँग छैन। क्यान्सर निको पारेकाहरू पनि खुलेर सार्वजनिक हुन हिचकिचाइरहेको अध्यक्ष खनाल बताउँछिन्। वरिष्ठ मनोचिकित्सक डा. कपिलदेव उपाध्यायका अनुसार, क्यान्सर जितेका व्यक्तिले रोगविरुद्ध लड्दाको भोगाइको अनुभव सुनाउँदा प्रभावकारी हुन्छ। डा. उपाध्याय भन्छन, ‘रोगविरुद्ध जुध्दा जुन पीडा र भोगाइ सहेको हुन्छ। त्यो बाँड्दै बिरामीको मनोबल उच्च बनाउन परामर्श दिनु राम्रो पक्ष हो।’
स्वास्थ्य अर्थशास्त्री प्रा.डा.शिवराज अधिकारीका अनुसार क्यान्सर रोगको बारे डरलाग्दो रूपमा व्याख्या गर्दा बिरामीले बाँच्ने विकल्प सोच्न सक्दैनन्। ‘क्यान्सरलाई डरलाग्दो किसिमले चित्रण गर्दा बिरामीको आत्मबल स्वतः कमजोर हुन पुग्छ। क्यान्सरको पीडाका साथै समाजको नकारात्मक दृष्टिकोणले बिरामीलाई झन् गाह्रो बनाउँछ। बिरामीमा क्यान्सरका कोष बढाउन मद्दत पुग्छ,’ डा. अधिकारी थप्छन्, ‘क्यान्सर विजेताहरूको ऊर्जालाई मूल्यमा मापन गर्नै सकिँदैन। क्यान्सरविरुद्धका औषधिका साइड इफेक्ट होला। तर, क्यान्सर विजेताले दिने परामर्श (काउन्सिलिङ)को साइड इफेक्ट छैन। परामर्शलाई पनि औषधिकै रूपमा उपयोग गर्नु पर्छ।’
प्रतिक्रिया दिनुहोस !
