किन हुन्छ हर्मोन गडबड ?
स्वस्थ एवं तन्दुरुस्त सक्षम नागरिकको परिकल्पनाका साथ राज्यले आफ्नो मुलुकका जनतालाई विभिन्न माध्यम रूपबाट आवश्यकता पूरा गर्ने नीति लिनुपर्छ र लिएको पनि छ।
‘पसलमा सामान कहाँ छ, कति मूल्य र कस्तो रंग बिर्सिन्छ। अनि पैसा लिनै भुलिन्छ। लिएको पैसा सम्झिँदैन वा लिएर फिर्ता दिन नै भुलिन्छ। कस्तो अनौठौ रोगले सतायो मलाई ?’ भन्दै गनगनाउँदै थिए, काठमाडौं चाबहिल निवासी हरेराम श्रेष्ठ। अर्काेतिर कालीकोटको दुर्गम गाउँमा ‘यति राम्री नानीको घाँटीमा गाँडसमेत भएको भए कति राम्री अप्सराजस्ती हुन्थिन् होला ?’ भन्दैछन्। त्यसो त जनचेतना वा जानकारी नभएसम्म के राम्रो ? के नराम्रो ? सबै बराबर।
थाइराइड ग्रन्थी मानिसको घाँटीमा स्वर नलीको दुवैतिर पुतली आकारमा झन्डै २५ ग्राम तौलमा रहेको हुन्छ। यसको मुख्य काम शरीरलाई शक्ति दिने हर्मोन थाइरोक्सिनको उत्पादन गर्नु हो। हर्मोन थाइरोक्सिनको बनाउनमा आयोडिन चाहिन्छ। तसर्थ आयोडिन कम भए थाइरोक्सिन हर्मोनको उत्पादन कम हुन्छ। हर्मोन कम भए बालबालिकामा क्रेटिनिज्म, वयष्कमा गलगाँड, मिक्सोएडेमा हुने गर्छ। तर हर्मोन बढी हुँदा पनि कण्ठरोग हुन सक्छ। थाइराइड ग्रन्थीद्वारा निस्कने थाइरोक्सिन हर्मोनको गडबडीले विभिन्न स्वास्थ्य समस्या हुन्छ।
जीवनलाई अस्तव्यस्त र असहज बनाउँछ। रोग बढ्दै जटिल जाँदा दैनिकी जटिल हुन्छ। यसरी नै मस्तिष्क, मुटुजस्ता महत्त्वपूर्ण अंगमा असर गरी तथा थाइराइड क्यान्सर भई मानिसको मृत्युसमेत हुन सक्छ। यो ग्रन्थी सानो भए पनि शरीर प्रक्रियामा अत्यन्तै महत्त्वपूर्ण भूमिका हुने भएकाले यसमा कुनै पनि रोग लाग्न दिनु हुँदैन। लागिहाले तुरुन्तै उपचार गर्दा निको हुन्छ। यसको रोग जुनसुकै वर्ग, उमेर, क्षेत्र, र लिंगलाई लाग्न सक्छ।
थाइरोक्सिन हर्मोन आवश्यक मात्रामा नबनेमा वा कमी भएमा (जसलाई हाइपोथाइराइडिज्म भनिन्छ) ठूला मानिसमा पनि अनेक समस्या देखिन्छ। जस्तै, अल्छी लाग्ने, भर्याङ चढ्दा पनि थाक्ने, पहिलेभन्दा पनि बढी थकाइको महसुस हुने, खान मन नलाग्ने र थोरै खाने तर शरीरको तौल बढ्दै जाने र नदुब्लाउनेसमेत हुन्छ। त्यसैगरी मुटुको चाल कम हुने, मुटुको वरिपरि झिल्लीमा पानी जम्ने, मानिसको दिमागले ढिलो काम गर्ने, मानिस लोसे हुने, कब्जियत हुनु, हातखुट्टा सुन्निने, शरीरको तापमान घट्ने, स्याँ–स्याँ हुने, चिसो मन नपर्ने, कपाल झर्ने हुने आदिको सामना गर्नुपर्छ।
महिलामा थाइरोक्सिन हर्मोनको घटबढ हुँदा महिनावारीमा गडबडी हुने, सुस्त मनस्थितिको बच्चा जन्मनेलगायत समस्या देखिन सक्छ। अमेरिकन थाइराइड एसोसिएसनका अनुसार, थाइराइडको समस्या पुरुषभन्दा महिलालाई ५ देखि ८ गुणा बढी, हरेक ५० जना गर्भवती महिलामध्ये १ महिलामा देखिन्छ। साथै, हरेक सयजनाको गर्भपतनमा ६ महिलालाई थाइरोक्सिनको कम उत्पादनले भूमिका खेलेको हुन्छ। आयोडिनको कमीले हुने विकृतिहरूमा गर्भ तुहिने, मृत शिशु जन्मने, अंगभंग भएको वा शारीरिक तथा मानसिक अपांगता भएको शिशु जन्मने, क्रेटिनिज्म भई जन्मने, जन्मेको शिशु चाँडै मर्न सक्ने, सामान्य बालबालिका बहिरा, लाटा, बामपुड्के, आँखा सिधा नहेर्ने, लुलो, आदि हुन्छ।
यसैगरी, पढाइमा कमजोर भई पटकपटक असफल हुनुका साथै खेलकुदमा समेत पछाडि पर्न सक्ने, विशेषगरी बालबालिकामा घाँटीको क्यान्सर हुन सक्ने, गलगाँड (कण्ठ रोग–घाँटीमा रहेको थाइराइड ग्रन्थीको वृद्धि) आउँछ। सुस्त मनस्थिति हुने, आईक्यू लेभल कम हुने, आलस्यपन आउने, काम गर्ने क्षमतामा कमी आउने, नाभिकीय विकिरणवाट बढी प्रभावित हुन सक्ने खतरा पनि अत्यधिक हुन्छ। शरीर कमजोर भई रोगसँग लड्न सक्ने क्षमतामा कमी भई सानातिना रोगले छुँदा पनि सिकिस्त र मृत्यु नै हुने गर्छ। त्यसैगरी पशुपन्छीमा गाईबस्तुले दूध कम दिने हुन सक्छ।
मानसिक फुर्ति र शारीरिक शक्ति मानिने आयोडिन समुद्र, समुद्रमा पाइने खाद्य पदार्थ र न्यून मात्रामा माटोको माथिल्लो सतहमा, पानी र उक्त स्थानमा उत्पादन गरिएका खाद्य पदार्थमा पाइन्छ। तैपनि माटोको माथिल्लो सतहमा नै भू–क्षय, हिमनदीको बहाब, निरन्तर भइरहने बाढीपहिरो र खोलानालाका कारण बेलाबेलामा हुने माटोको फरकता, धेरै वा न्यून वर्षा, वनजंगलको फडानी इत्यादिले आयोडिन बगेर समुद्रमा पुग्नेजस्ता कार्य भइरहेको हुन्छ। त्यसपछि बाष्पीकरण भई बादल र मनसुन भई जमिनमा आउने वातावरणीय चक्र चल्छ। जसका कारण स्थायी स्रोत हामीकहाँ नभएकाले विश्वका हिमालय क्षेत्रमा जस्तै हाम्रो देशमा यसको कमी छ र समस्या उत्पन्न भएको पाइन्छ।
नेपालको पहाडी जिल्लामा सञ्चालित कण्ठ रोग नियन्त्रण आयोजना सन् १९७३ मा प्रारम्भ भई सन् १९९८ सम्म निरन्तर २५ वर्ष रह्यो। त्यसपछि सोही उद्देश्यका लागि तर नाम परिवर्तन गरी आयोडिन मिश्रण गर्न, प्याकिङ गर्न, ढुवानी खर्च व्यहोर्न र जनचेतना जगाउने कार्यका लागि सन् २००५ देखि भारत सरकारको सहयोग पुन : सञ्चालनमा रह्यो। त्यसैगरी जापान सरकारद्वारा ६ ठाउँमा निर्मित अत्याधुनिक गोदाम पनि सञ्चालनमा छन्।
नेपालमा आयोडिनको कमीबाट उत्पन्न जनस्वास्थ्य समस्याहरू धेरै देखा पर्न थालेपछि सरकारले सन् १९९३ देखि नुनमा आयोडिनको मात्रा मिसाउन थालेको हो। यसरी आयोडिन भएको तेल खुवाउने, आयोडिनयुक्त सुईको प्रयोग गर्नेजस्ता अल्पकालीन तथा दीर्घकालीन कार्यक्रमहरू अगाडि बढाएको हो। यसै क्रममा सन् १९९८ देखि घरपालुवा पशुहरूलाई खुवाउने नुनमा पनि आयोडिन मिसाउन सुरु गरियो। जसबाट मासु, अन्डा, दूधबाट पनि मानिसलाई आयोडिनको आपूर्ति हुने भयो।
स्वस्थ्य र तन्दुरुस्त शरीर, तीक्ष्ण मानसिक विकास र सम्पूर्ण अंगप्रत्यंग, प्रणालीहरूको वृद्धि र विकास तथा निरन्तरताका लागि बच्चाको भ्रूणदेखि आमाको गर्भमा रहँदा बाल्यकाल, वयष्क तथा बुढ्यौलीसम्म विभिन्न किसिमका पौष्टिक तथा सूक्ष्म तत्त्वहरूको आवश्यकता पर्छ। कार्बोहाइड्रेट, प्रोटिन र बोसो प्रशस्त मात्रामा र भिटामिन तथा खनिज पदार्थहरू अति कम मात्रामा चाहिन्छ। जुन प्राकृतिक वा कृत्रिम स्रोतबाट पूरा गरिन्छ तर ज्ञानको अभाव वा गरिबीका कारण व्यक्तिले प्राप्त गर्न सकिरहेका हँुदैनन्। एक आँकडाअनुसार हाल नेपालमा ६३ प्रतिशतले आयोडिन भएको नुन ९ प्रतिशतले आयोडिन नभएको, खराब नुन र बाँकीले केही न केही आयोडिन भएको नुन प्रयोग गर्छन्।
अन्त्यमा, स्वस्थ एवं तन्दुरुस्त सक्षम नागरिकको परिकल्पनाका साथ राज्यले आफ्नो मुलुकका जनतालाई विभिन्न माध्यम रूपबाट आवश्यकता पूरा गर्ने नीति लिनुपर्छ र लिएको पनि छ। यसै क्रममा हाम्रो देशमा जल्दोबल्दो समस्याको रूपमा रहेको आयोडिनको कमीबाट हुने स्वास्थ्य समस्याहरूलाई आत्मसात् गरी नुनको माध्यमबाट नुनमा आयोडिन मिश्रण गरी सबै व्यक्तिसम्म पुर्याउने नीति सरकारले अंगीकार गरेको छ। त्यहीअनुसार कार्यान्वयनमा आउन नसक्दा यस्ता अनेक समस्या देखिएका हुन्। सरकार यसतर्फ सचेत र सक्रिय हुनु जरुरी छ।