सहकारीका व्यवस्थापकको गोष्ठी हुने
काठमाडौं : ‘प्रविधियुक्त सेवा र सुशासनः दिगो साकोस र छवि निर्माणका लागि जिम्मेवार व्यवस्थापन’ भन्ने सोचसहित सहकारीका व्यवस्थापन प्रमुखहरूको राष्ट्रिय गोष्ठी आगामी बुधबारदेखि हुने भएको छ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को आयोजना र नेफ्स्कून साकोस म्यानेजर्स क्लबको व्यवस्थापनमा फागुन २४ र २५ काठमाडौंमा हुने भएको छ।
गोष्ठीमा ४ सय ५० जनाको सहभागिता रहने छ। आइतबारसम्म ३ सय ९८ जना व्यवस्थापकले रजिष्ट्रेशन गरिसकेका छन्।
नेफ्स्कूनले पत्रकार सम्मेलनको आयोजना गरी गोष्ठीको तयारी पूरा भएको जनाएको हो। गोष्ठीमा वित्तीय सहकारी क्षेत्रका व्यवस्थापकीय तहमा कार्यरत कर्मचारी, नियमनकारी निकाय, सरोकारवाला एवम् विकास क्षेत्रका सहयात्र सहभागी हुने छन्।
सहकारीको दर्शन र मूल्यमा आधारित व्यवसायिक जनशक्ति विकास गर्नु गोष्ठीको उद्देश्य रहेको समेत संयोजक गोष्ठी व्यवस्थापन कार्यदल संयोजक दिपक पनेरुले बताए।
विश्वव्यापी नविनतम अभ्यास, अनुभव र सिकाइ मार्फत ज्ञान, सीप र प्रविधिको अवलम्बन एवम् हस्तान्तरण गर्न सहज हुने उनको भनाइ छ।
राष्ट्रियस्तरमा भएका नविनतम र सफल अभ्यास आदानप्रदान गर्नु समेत गोष्ठीको उद्देश्य रहेको उनको भनाइ थियो।
गोष्ठीले वित्तीय सहकारीका लागि विकास गरेका नविनतम औजार र समाधानको आन्तरिकीकरणका लागि दिशानिर्देश गर्ने जनाइएको छ।
जनशक्तिको उत्प्रेरणामार्फत तनाव रहित वातावरणमा कार्यसम्पादनका लागि प्रेरित गर्न सघाउ पुग्ने नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोखरेलले बताए।
वित्तीय सहकारीको विकासका सम्भावना पहिचान गरी कार्यान्वयन गर्न अभिप्रेरित गर्ने उनको भनाइ छ। वित्तीय सहकारीलाई उत्पादनमा आधारित लगानीमा प्रोत्साहित गर्ने गोष्ठीको उद्देश्य रहेको उनले बताए।
राष्ट्रियदेखि विश्व सञ्जालहरू विश्व ऋण परिषद् (अमेरिका), एसियाली ऋण महासंघ (थाइल्याण्ड), नेपाल राष्ट्र बैंकको सहभागिता हुने छ।
गोष्ठीमा सात वटा विषयका सामूहिक सत्र सञ्चालन हुने छ। वर्तमान परिदृश्यमा दिगो साकोस अभियानका लागि जिम्मेवार व्यवस्थापन र संघको भूमिका, वित्तीय सहकारीको छवी निर्माणः समावेशी संरचना र प्रविधि हस्तान्तरण, विश्व अर्थतन्त्रः वित्तीय सहकारीमा प्रभाव, सम्भावना र चुनौती’ कार्यपत्र प्रस्तुत हुनेछन्।
त्यस्तै दोस्रो दिन मानव संशाधन व्यवस्थापनका सामयिक/समवर्ती सवाल र नेपालमा सफल साकोसका अनुभव, वित्तीय प्रविधिमा साकोसका सम्भावना र चुनौती, वित्तीय सहकारी ऐनको अन्तर्राष्ट्रिय अभ्यास र नेपालको आवश्यकता, इमोशनल एण्ड स्पिरिचुअल ईन्टेलिजेन्स ईन म्यानेजर्स सम्बन्धी प्रस्तुती हुनेछ।
२०७३ सालबाट साकोसका व्यवस्थापन प्रमुखहरूको राष्ट्रिय गोष्ठी सञ्चालन शुरुवात गरेको नेफ्स्कूनले प्रत्येक तीन वर्षको अन्तरालमा नियमित सञ्चालन हुँदै आएको छ।
नेफ्स्कूनका सहायक प्रमुख कार्यकारी अधिकृत सञ्जयराज तिमिल्सिनाले गोष्ठीले सहकारीमा देखिएको समस्या समाधानमा सघाउ पुग्ने बताए।
प्रतिक्रिया दिनुहोस !