फागुनाचको मौलिकता हराउँदै

फागुनाचको मौलिकता हराउँदै

वसन्त ऋतुको आवगमनसंँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म मिथिलाञ्चलका गाउँ, टोल र छिमेकमा गाइने माधुर्य र प्रेमभाव भएको होली गीत गाउने मानिसको अभावको कारण लोप हुँदै गएको कतिपयको बुझाई छ।

तानसेन/जनकपुरधाम/विराटनगर : केही वर्षअघिसम्म पाल्पाका सहरमा मात्रै नभई गाउँमा पनि फागुनाचको रौनक देखिन्थ्यो। विभिन्न रंग र अबिर खेल्दै रामायण, कृष्ण चरित्र, भैरव मन्दिरको गाथा र कृष्ण–गोपीनीको लिला गाउँदै बालकदेखि वृद्धसम्म रमाइलो गर्थे। यसमै मिसाइन्थ्यो पाल्पाको ऐतिहासिकता पनि। 

वर्षमा एकपटक देखिने यस्तो दृश्यले फागुको मौलिकता मात्रै बोकेको थिएन, युवा पुस्तामा इतिहास भुल्न हुन्न भन्ने छाप पनि छाड्थ्यो। तर, अहिले यहाँ यो उत्साह छैन। फागुनाच नाच्ने बेला पनि गाउँसहर सुनसान देखिन्छन्। सुनिन्दैन भजन र चुट्काको भाका। बज्दैनन् ढोलक, दमाहा, ट्याकुली र टेम्को। 

पाल्पाको अन्य क्षेत्रको तुलनमा रिबदीकोट गाउँपालिकाको भैरवस्थानसहित ८ वटै वडामा अझै विशेष रूपले फागु चाचिन्थ्यो। यो वर्ष वडा नम्बर १ को ख्याहामा बाहेक अन्य वडामा तयारी केही छैन। रिब्दीकोट गाउँपालिका र भैरव मन्दिर पाल्पाले विगतका वर्षमा फागु नाचलाई उत्सवकै रूपमा मनाउँथे। तर, यो वर्ष यी दुवै चुप छन्। मनाउन पाए हुन्थ्यो भन्ने बालकदेखि वृद्धसम्म खिन्न छन्। 

विगतका वर्षहरूमा कोरोना संक्रमण कालमा पनि रिब्दिकोट गाउँपालिका भित्रका ८ वटै वडाबाट विभिन्न समूह बनाएर परम्परागत फागु जात्रा निकालिएको थियो। रिब्दिकोट गाउँपालिका भित्र परम्परागत रूपमा आआफ्नो शैलीमा वसन्त पञ्चमीदेखि नै टोल वस्तीमा फागुपूर्णिमाको भोलिपल्टसम्म धुमधामका साथ फागु खेल्ने प्रचलन थियो। यसपटक वडा नम्बर १ मा मात्रै समूह बनाएर बाजा बजाउँदै नाच्दै फागु नाचको तयारीमा जुटेको वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताए। 

फागु नाच संस्कृति र पहिचान भएकाले जर्गेनाका लागि वडाबाट आवश्यक सहयोग रहने उनी बताउँछन्। पाल्पाली राजा मणिमुकुन्द सेन प्रथमबाट सुरु भएको परम्परागत ऐतिहासिक फागुमा विभिन्न किसिमका भजन किर्तन गर्दै भैरव मन्दिर पुगी विसर्जन गर्ने प्रचालन छ।  

विगतका वर्षहरूमा वडा गाउँपालिकाबाट बजेट सहयोग हुन्थ्यो र नपुग रकम मन्दिरको राखी फागु उत्सव हुन्थे। यसपटक पालिका र वडाबाट समेत

फागु उत्सवका लागि कुनै बजेट नआएको र अख्तियारले पनि कार्यविधि नबनाइकन कुनै उत्सव महोत्सवमा रकम खर्च नगर्नु भनी आग्रह गरेकोले फागु महोत्सव गर्न नसकिएको भैरव मन्दिर व्यवस्थापन समितिमा अध्यक्ष गोविन्दबहादुर पोखरेलले बताउँछन्।

लोप हुँदै जोगिरा र होलैया

‘जोगिरा सर र र र..., कौन ताल पर ढोलक बाजे, कौन ताल मृदंग.., कौन ताल पर गौरिया नाचे, कौन ताल पर हम ... जोगिरा सर ...र र र। यो गीत सुन्न त पाइएन, न त मृदंग, ढोल र डम्फाको स्वर नै सुन्न पाइयो’, जनकपुरधामका दीपक गुप्ता भन्छन्, ‘होलीको पौराणिकता अब हराइसकेको छ। दिनहुँजसो हुने झै–झगडा, रागद्वेषको कारण होली गीत गाउन नै छाडिएको छ।’

वसन्त ऋतुको आवगमनसंँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म मिथिलाञ्चलका गाउँ, टोल र छिमेकमा गाइने माधुर्य र प्रेमभाव भएको होली गीत गाउने मानिसको अभावको कारण लोप हुँदै गएको कतिपयको बुझाई छ। पुर्खौली बाजा मृदंग बजाई फागु गीत जोगिरा गाउन नपाएकोमा दुःखि हुँदै जनकपुरधाम उपमहानगरपालिका ७ का रामसहाय सदायले भने, ‘पहिले गाउँ–गाउँ, टोलटोल घुमेर फागुपर्वको आगमन भएकाबारे गीत गाएर जानकारी दिने परम्परा थियो। तर, अहिले गीत गाउने बूढापाकाको कमी भएका कारण न त त्यति मात्रामा ढोल मृदंग नै बज्छ। न त फागु गीत नै गाइन्छ। अब हामी पनि सक्दैनौं र कसैले चाँसोसमेत दिँदैन।’

पहिले बुढापाकाले रात परेपछि गाउँको बीचमा रहेको चौपालमा झ्याल, मृदंग, ढोल, डम्फा र तुरकी लिएर समूहगत रूपमा होली गीत जोगिरा गाउने गरेको सर्लाहीको चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतो बताउँछन। अब त्यो समय हराएर गएको बताउँदै महतोले भने, ‘अबको होली प्रेम र सद्भावको नभएर वैमनस्यता पूर्णतामा पुगेको छ।’

सहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा गाइने होली गीतमा विशुद्ध रूपमा होलीको महत्व, त्यस भेगको माटोको मन्दमन्द वासना हुने भएकाले यस्ता गीतको रक्षा गर्नु आजको आवश्यकता रहेको संस्कृतिविद् तथा मधेस प्रज्ञा प्रतिष्ठानका अध्यक्ष डा. रामभरोष कापडि ‘भ्रमर’को भनाइ छ। 
महोत्सव र रेडियोमा मात्रै सुनिन्छ गीत

मौलिक रूपमा गाउँघर र सहरमा गाउँदै हिँड्न छाडे पनि मोरङसहितका तराईका जिल्लाहरूमा हुने महोत्सव र रेडियोमा भने होली पर्व नजिकिँदै गर्दा देखिनै फागुका गीतले स्थान पाउँछन्। गाउँ घरमा ठूलो आवाजमा साउन्डबक्स नै राखेर गीत बजाइन्छ। यसमानै अहिल युवा रमाउँछन्। 

सामाजिक सद्भाव बढाउने तथा हर्ष र रंग अबिर पर्वका रूपमा रहेको होलीलाई असत्यमाथी सत्यको जितको रूपमा मनाइन्छ। यस वर्ष पहाडी क्षेत्रमा आउँदो फागुन २२ र २३ तराईका जिल्लामा होली मनाइँदैछ। विशेषगरी वसन्त पञ्चमीका दिनदेखी फागु पूर्णिमासम्म होलीका गीत र त्यससँगै जोगिराले महत्व पाउने गरेका छन्। 

होलीका गीतका क्रममा दुई बीच हुने ब्यंग्यात्मक तथा सन्देशमूलक लयपूर्ण वार्तालाई जोगिरा भन्ने गरिन्छ। अहिले ग्रामीण क्षेत्रमा पाँच सात जना भेला हुने बित्तिकै होलीका गीत सुरु हुने गरेको छ। तर, यो क्रम पातलिँदो छ। 

मिथिला संस्कृति संरक्षण एवं सम्बद्र्धनका अभियन्ता भगवान झा विगतको पुस्ता जस्तो नयाँ पुस्ताले होलीका गीत गाउनमा बढी चासो नदिएकाले गाउनेहरूको संख्यामा कमी आएको बताउँछन्। यद्यपि गाउन नआए पनि आधुनिक साधन प्रयोग गरेर पनि युवा पुस्ता होलीका गीतप्रति आर्कषित भएको मैथिली सेवा समितिका प्रवीणनारायण चौधरीले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.