छुट्टाछुट्टै स्थानबाट अवैध लागुऔषधसहित १० जना पक्राउ

काठमाडौं : कैलालीको कैलारी गाउँपालिका-२ उजेली सिमराबाट अवैध लागुऔषध ब्राउनसुगर १८ ग्राम ६ सय ८० मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ डेरा गरी बस्ने २१ वर्षीय आशिष चौधरी र घोडाघोडी नगरपालिका-४ बस्ने २७ वर्षीय करन रावल रहेका छन् । ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त ब्राउनसुगरसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कैलाली, गोदावरी नगरपालिका-१ भरतबपुर बस्ने २७ वर्षीय दिनेश नाथ र गोदावरी नगरपालिका-४ बुढितोला बस्ने ३६ वर्षीय शेर बहादुर तामाङलाई अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ३ सय ७० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले दिनेशको कोठाबाट ६ ग्राम १ सय ५० मिलिग्राम शेर बहादुरलाई गोदावरी नगरपालिका-२ दक्षिणकाली पेट्रोलपम्प नजिकबाट २ सय २० मिलिग्राम ब्राउनसुगरसहित फेला पारी पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका-६ मेचीपुलबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४४ ग्रामसहित ईलाम नगरपालिका-१२ बस्ने २४ वर्षीय सुजन बाला राईलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी झापा, दमक नगरपालिका-८ वालुवाटार टोलबाट अवैध लागुऔषध गाँजा १ किलो ५ सय मिलिग्रामसहित सोही ठाउँ डेरा गरी बस्ने भोजपुर पौवादुम्वा गाउँपालिका-४ घर भएका २७ वर्षीय लोकेन्द्र राई पक्राउ परेका छन्। अवैध लागुऔध विक्री भइरहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
मकवानपुर, राक्सिराङ गाउँपालिका-५ चैनपुरबाट अवैध लागुऔषध गाँजा २ किलो ३ सय ग्रामसहित भारत मोतिहारी बिस्रामपुर ग्राम बस्ने ५५ वर्षीय राजेश्वर महतोलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीले पैदल हिँडिरहेका उनलाई जाँच गर्ने क्रममा शरीरमा डोरीले बाँधी लुकाई ल्याएको उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
बाँके,नेपालगंज उपमहानगरपालिका-२० भुजइगाउँस्थित सडकबाट अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ९ ग्राम २ सय ८० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-२१ बस्ने २१ वर्षीय धमेन्द्र राज सोनी र सोही उपमहानगरपालिका-१७ बस्ने २३ वर्षीय मोमद अमिन बागवान रहेका छन् । अवैध लागूऔषध ओसारपसार भइरहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले यूपी ४० एल ३२५५ नम्बरको भारतीय मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९ माझिमटारबाट अवैध लागुऔषध गाँजा करिब २ किलोग्रामसहित कास्की माछापुच्छ्रे गाउँपालिका-७ बस्ने ४१ वर्षीय युवराज गुरुङलाई बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जोगिमाराबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.२ ख १४१० नम्बरको माईक्रोबसलाई जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी माईक्रोबसमा सवार उनलाई पक्राउ गरेको हो ।
सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-१ कोशी ब्यारेजस्थित बालुवामा गाडी राखेको अवस्थामा अवैध लागूऔषध गाँजा करिब ६० किलोग्राम प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कंचनपुर र ईलाका प्रहरी कार्यालय भारदहबाट खटिएको प्रहरीले उक्त गाँजा फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस !
