बिहीबारदेखि पोखराबाट चार सहरमा नियमित रात्रिकालीन उडान

बिहीबारदेखि पोखराबाट चार सहरमा नियमित रात्रिकालीन उडान
सुन्नुहोस्

पोखरा : बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबारदेखि चार सहरमा नियमित रात्रिकालीन उडान गर्ने भएको छ। 

पहिलो दिन काठमाडौं, भैरहवा, नेपालगञ्ज र भद्रपुरबाट रात्रिकालीन उडान भरेर जहाज पोखरा विमानस्थलमा अवतरण गर्ने छन्। 

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)सँग सेड्यूल पास गराएर बुद्धले पोखरा विमानस्थलबाट व्यावसायिक रूपमा पहिलो पटक रात्रिकालीन उडान सुरु गर्न लागेको हो। 

बुद्धले पोखराबाट काठमाडौं, भैरहवा, नेपालगञ्ज र भद्रपुरमा रात्रिकालीन उडान गर्ने गरी सम्पूर्ण तयारी पूरा भएको बुद्ध एयरका मार्केटिङ डाइरेक्टर रुपेश जोसीले बताए। 

बिहीबार काठमाडौंबाट दुईवटा जहाज राति ९ बजे भित्र पोखरा आइपुग्ने जोसीले बताए। काठमाडौंबाट पहिलो जहाज राति ७:३५ बजे पोखराका लागि उडान भर्ने छ। 

यसैगरी भद्रपुर, नेपालगञ्ज र भैरहवाबाट राति ८ बजेभित्र पोखरा विमानस्थलमा जहाज आएर राति यही बस्ने पनि उनले जानकारी दिए। बिहीबारदेखि पाँचवटा जहाज राति पोखरामा रहने छन्। 

जहाजमा यात्रुको चापलाई हेरेर चार सहरमा रात्रिकालीन उडान थप घट हुने पनि उनले सुनाए। पोखरा पर्यटकीय सहर भएकाले रात्रिकालीन उडानमा पनि यात्रुको चाप बढ्ने उनले विश्वास गरे। 

पोखराबाट काठमाडौं, भरतपुर, भैरहवा र नेपालगञ्ज दिउँसो मात्र उडान हुदै आएकोमा रात्रिकालीन उडान चार सहरमा हुने गरी सुरु भएको हो। 

राति आएका जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमै रहने भएकाले बिहानै उडान सुरु गर्न पनि सहज हुने छ। यस अघि काठमाडौंबाट पहिला जहाज आएपछि मात्र पोखराबाट यात्रु लिएर काठमाण्डौं उडान हुने गर्दथ्यो। 

पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले बुद्धले बिहीबारदेखि रात्रिकालीन सेड्यूल फ्लाइट गर्ने बताए। यो सँगै पोखरामा रात्रिकालीन लाईफ अझै चलयमान हुने उनले विश्वास गरे। 
पर्यटकीय सहरमा रात्रिकालीन उडान समेत हुनु खुशीको कुरा भएको पोखराका पर्यटन व्यसायीले बताएका छन्। रात्रिकालीन उडान सुरु भए सँगै पर्यटन क्षेत्र थप चलायमान हुने पोखरा पर्यटन परिषदका महासचिव संजयकान्त सिग्देलले बताए। 

भद्रपुरको उडानले सिलगुडीलगायत पश्चिमबंगालबाट धेरै पर्यटक आगमन बढ्ने उनले विश्वास गरे। यसअघि सौर्य एयरलाइन्सले दिउँसोको उडान मौसमका कारण समयमै हुन नसकेपछि राति ९:०५ मा पोखराबाट काठमाडौं उडान गरेको थियो। 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल फागुन ११ गते बिहीबारदेखि रात्रिकालीन उडान र अन्तर्राष्ट्रिय उडानका लागि तयार भएको थियो। 

विमानस्थलमा इन्स्ट्रमेन्ट प्लाइट रुल्स (आइएफआर) प्रणाली लागू भएसँगै रात्रिकालीन र अन्तर्राष्ट्रिय उडानका लागि विमानस्थल तयार भएको थियो। 

विमानस्थलमा इन्स्ट्रमेन्ट प्लाइट रुल्स लागू भएसँगै रातिको समयमा पनि सहज रुपमा उडान र अवतरण गर्न सकिने गरी तयार भएको हो। 

फ्रेब्रुवरी २३देखि यो प्रणालीबाट विमान उडान र अवतरण भइरहेको छ। आइएफआर प्रणालीको परीक्षण गरेपछि फागुन ११ गतेदेखि पूर्ण रुपमा आइएफआर प्रणालीबाट जहाजले उडान र अवतरण सुरु भएको थियो। 

यो प्रणाली लागू हुनुअघिसम्म पोखरा विमानस्थलमा बिहान मौसम अनुसार ६ बजेदेखि दिउँसो ५:३० बजेसम्म मात्र उडान हुँदै आएकोमा अब भने १८ घण्टासम्म उडान हुने गरी विमानस्थल तयार भएको छ। 

यो प्रणाली लागू भएसँगै बिहान ६ बजेदेखि राति १२ बजेसम्म १८ घण्टा जहाज उडान भर्न सक्ने गरी तयारी अवस्थामा रहेको विमानस्थलका प्रमुख गौतमले बताए। 

१८ घण्टा नै सेवा दिन सक्ने अवस्था रहे पनि जहाज उडानको चाप कम भएकाले आवश्यक्ता अनुसार बढाउने गरी अहिलेलाई भने राति ९ बजेसम्म उडान हुने विमानस्थलले जनाएको छ।

यो प्रणाली (आइएफआर) पूर्ण यान्त्रिक भएकाले भिजुअल फ्लाइट रुल्स (भिएफआर) को तुलनामा निकै सहज र सुरक्षित रहने प्राधिकरणले जनाएको छ। 

यो सेवा सुरु भएसँगै रात्रिकालीन उडान र अन्तर्राष्ट्रिय उडानका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तयार भए पनि अन्तर्राष्ट्रिय उडान कहिलेबाट सुरु हुन्छ भन्ने अझै एकीन भएको छैन।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.