मुलुक झनै आयातमुखी
![मुलुक झनै आयातमुखी](https://annapurnapost.prixacdn.net/media/albums/AAYAT-Niryal_20190314061314_TViFgc8GTn.jpg)
भारतीय सरकारको पूर्ववाणिज्य सचिव डा. अनुप वाधावनले व्यापारमा जति थोरै नियमन तथा उदार नियम हुन्छ त्यति धेरै अर्थतन्त्रले लाभ पाउने बताए। उनका अनुसार अहिले शतप्रतिशत आत्मनिर्भर असम्भव छ।
काठमाडौं : नेपाल विश्व व्यापार संगठनमा प्रवेश गरेको दुई दशकमा झनै आयातमुखी भएकोले यसका कारण पहिल्याएर उचित नीति लिनुपर्ने अर्थविद्ले सुझाएका छन्। केयू (काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट)ले मंगलबार गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा विज्ञले अर्थतन्त्रबारे राय दिएका हुन्। व्यापारमा खुलापन, आर्थिक विकास र आर्थिक दिगोपन विषयमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलन बुधबार सकिएको छ।
यसैक्रममा अर्थ विज्ञले विश्वमा शतप्रतिशत आत्मनिर्भरता असम्भव रहेको र यही कारणले गर्दा खुला व्यापारको विकल्प नरहेको बताए। इन्डियन इन्स्च्यिुट अफ म्यानेजमेन्ट एकेडेमी, बंैगलोरअन्तर्गत साउथ एसिया वोर्ड एकेडेमी अफ इन्टरनेसनल बिजिनेसका अध्यक्ष प्राध्यापक डा. रघुनाथ सुब्रमन्यमले व्यापारमा खुलापनले आफैंमा अवसर ल्याउने बताए। ‘यसले प्रतिस्पर्धी क्षमताको विकास, प्रविधिको प्रयोगले उत्पादनमा गुणस्तर बढाउने अवसर दिन्छ,’ उनले भने।
उनका अनुसार व्यापार विविधीकरण तथा निर्यात बढाउने नेपालको लक्ष्य पूरा गर्न नेपालले डिजिटल सेवा, पर्यटनलगायतका क्षेत्रमा काम गर्न सकिन्छ। भारतीय सरकारको पूर्ववाणिज्य सचिव डा. अनुप वाधावनले व्यापारमा जति थोरै नियमन तथा उदार नियम हुन्छ त्यति धेरै अर्थतन्त्रले लाभ पाउने बताए। उनका अनुसार अहिले शतप्रतिशत आत्मनिर्भर असम्भव छ।
इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट उदइपुरका बिजिनेस पोलिसी एन्ड स्ट्रेटेजीका अनुसन्धान अध्यक्ष एलिजाबेथ लुइज रोजले कुनै पनि अर्थतन्त्रको मुख्य आधार भनेकै साना तथा मझौला उद्योग हुने बताइन्। ‘आफ्नै र सिर्जनशील उत्पादन हुने यस्ता उद्योगका विकास निकै महत्त्वपूर्ण हुन्छ,’ उनले भनिन्।
त्यसैगरी, काठमाडौं विश्वविद्यालयका उपकुलपति भोला थापाले नेपालले व्यापारको क्षेत्रमा निरन्तर धक्का खाँदै आएको र देशको व्यापार उच्च व्यापार घाटा जोखिमपूर्ण रहेको बताए।
डब्लूटीओ चेयरस प्रोगामका नलेज म्यानेजमेन्ट डिभिजनका निर्देशक डा. वेर्नर जेडडौकले सदस्य राष्ट्रको व्यापारिक क्षमता विकासका लागि विश्व व्यापार संगठनले नीति निर्माणमा आवश्यक तथ्यगत अनुसन्धान, नीतिगत समीक्षा, मानव संसाधन विकासमा सहयोग गर्ने बताए। काठमाडांै विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका डिन तथा डब्लूटीओ चेयरस प्रोगाम–नेपालका अध्यक्ष प्रोफेसर डा. देवीप्रसाद बेडारीले विश्वव्यापीकरण कुनै पनि अर्थतन्त्रका लागि आफैंमा राम्रो भए पनि नेपालजस्तो मुलुकका लागि केही चुनौती पनि रहेको बताए।
काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार तथा डब्लूटीओ चेयरस प्रोगामका सहअध्यक्ष प्रोफेसर अच्युत वाग्लेले देशको ८५ प्रतिशत व्यापार दुई छिमेकी भारत र चीनसँग मात्र भइरहेकोले व्यापार विविधीकरणलाई नेपालले प्राथमिकता दिनुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)