त्रिशूलीमा नदीजन्य पदार्थ ओसार्न रोक
गोरखा : त्रिशुलीको बहाव छेकेर नदीजन्य पदार्थ ओसार्न सहिदलखन गाउँपालिकाले रोक लगाएको छ। आइतबार त्रियुगा निर्माण सेवालाई पत्राचार गरेर तथा सार्वजनिक विज्ञप्ति जारी गरी पालिकाले नदीको स्वतन्त्र वहाव छेकेर वडा–४ करन बगरको ढुंगा गिटी, बालुवा ओसारपोसार नगर्न आग्रह गरेको हो। ‘त्यस कम्पनीले त्रिशूलीको बहाव अवरोध हुने गरी बनाइरहेको बाटोको निर्माण तत्काल रोक्नु हुन साथै उत्खनन, संकलन र बिक्रीसम्बन्धी कार्य सम्झौताबमोजिमको सर्तको अधिनमा रही गर्नुहुनसमेत निर्देशन गरिन्छ’, निर्माण कम्पनीलाई लेखेको चिठीमा उल्लेख छ।
साथै पालिकाद्वारा प्रकाशित सार्वजनिक विज्ञप्तिमा पालिकाले असल नियतका साथ स्रोत परिचालनको कार्य अघि बढाउन खोजेको उल्लेख गरेको छ। ‘यस क्षेत्रको वातावरणीय सन्तुलन, नदीको बहाव, सञ्चालित पेसा, व्यवसाय जस्ता विषयहरूमा प्रतिकूल प्रभाव पार्ने कार्य नगर्न, नगराउन तथा प्राकृतिक दोहनको अनियन्त्रित दोहन रोक्न सहिदलखन गाउँपालिका प्रतिवद्ध रहेको कुरा स्पष्ट पार्दै स्थानीय स्रोतको उपयोगमार्फत विकास निर्माणका लागि हामी जिम्मेवार भएर लाग्नेछौं’, विज्ञप्तिमा भनिएको छ। गाउँपालिकाको विकास निर्माण र सेवा प्रवाहबारे सबैले गरेको चासो र चिन्ताको निरन्तर अपेक्षा गर्दै आगामी दिनमा पनि खबरदारी गरिरहन पालिकाले आह्वान गरेको छ।
यसअघि सो निर्माण सेवाले पालिकासँग ठेक्का सम्झौता गरेको करन बगरको छ हजार घनमिटर ढुंगा, गिटी, बालुवा ओसार्न भन्दै त्रिशूली नदीको प्रवाह छेकेर बाटो निर्माण गरिरहेको थियो। सो कार्यको सहिदलखन–४ ठेउवाटार तथा इच्छाकामना–४ कुरिनटारका बासिन्दाले विरोध गर्दै आएका थिए।
प्रतिक्रिया दिनुहोस !