खानेपानीको निरीक्षण जीपीएसबाट गरिने
हाल योजना सञ्चालनको अवस्थाबारे तथ्यांक लिने काम भईरहेको र केही समयपछि गाउँपालिकामा वास युनिट स्थापना त्यहिँबाट योजनाको अवस्था हेर्न सकिने वास सल्लाहकार थापाले जानकारी दिए।
दैलेख : कर्णालीका १० जिल्लामा कतिवटा खानेपानी योजना सञ्चालनमा छन् ? कति योजना आंशिक तथा पूर्णरूपमा बिग्रिएका छन् ? यसबारे एकिन विवरण हालसम्म कँहिकतै छैन। कतिपय खानेपानी आयोजना सामान्य मर्मत सम्भारपछि पुनः सञ्चालन गर्न सकिने अवस्थामा छन्। तर उपभोक्ता समिति र जिम्मेवार निकायको वेवास्ताका कारण वर्षेनी करोडौं खर्चेर नयाँ खानेपानी योजना निर्माण हुने गरेको छ।
पुरानो योजनाहरू लथालिंग बनिरहेका छन्। यो अवस्थालाई मध्यनजर गरेर अब कर्णालीमा सञ्चालन हुने खानेपानी योजना सञ्चालनको अवस्थाबारे जीपीएसबाट निरीक्षण गरिने भएको छ। खानेपानी योजना निर्माण सम्पन्न भएपछि दिगोरुपमा सञ्चालनका लागि उपभोक्ता समिति तथा स्थानीय तहलाई जिम्मेवार बनाउन यो प्रविधि अपनाउन लागिएको हो। उक्त प्रविधिको दैलेखको नौमूले गाउँपालिकाबाट परीक्षण सुरु गरिएको छ।
गाउँपालिकामा योजना सञ्चालन भएको क्षेत्रका प्रत्येक खानेपानी योजनाको फेरो ट्यांकीमा जीपीएस जडित ट्यांक अर्लट जडान गरिएको छ। यो प्रविधि नेपालमै पहिलो पटक कार्यान्वयनमा ल्याइएको दिगो खानेपानी सरसफाई तथा स्वच्छता आयोजनाका वासका सल्लाहकार सूर्य थापाले बताए। ट्यांक अर्लटका लागि आयोजना, नेपाल सरकार, फिन्ल्यान्ड सरकार र युरोपियन युनियनको आर्थिक सहयोग तथा निरस परामर्शदाता कम्पनीले प्रविधिक सहयोग गरिरहेको छ। नौमुले गाउँपालिकाको ७ वटा खानेपानी योजना र एक वटा विद्यालय गरी ३५ स्थानमा जडान गरिएको छ। जडित जीपीएस ट्यांक अर्लट हाल कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट निरीक्षण हुनेछ।
हाल योजना सञ्चालनको अवस्थाबारे तथ्यांक लिने काम भईरहेको र केही समयपछि गाउँपालिकामा वास युनिट स्थापना त्यहिँबाट योजनाको अवस्था हेर्न सकिने वास सल्लाहकार थापाले जानकारी दिए। ‘ट्यांक अर्लटले ट्यांकीमा पानी झरेको छ की छैन ? ट्यांकीबाट पानी वितरण भएको छ की छैन? भन्नेबारे थाहा पाउन सकिन्छ’, उनले भने। खानेपानी योजना सञ्चालनको अवस्था पहिचान गर्न गाउँपालिकामा निर्माण सम्पन्न भएका खानेपानी योजनामा जिपिएस ट्यांक अर्लट जडान गरिएको एमआइएस सल्लाहकार छत्र चौधरीले बताए। यो प्रविधिलाई पाँच वर्षसम्म मर्मत गर्नु नपर्ने उनको भनाइ छ।
आयोजनाले कर्णालीका २१ वटा पालिकामा निर्माण सम्पन्न भएका खानेपानी योजनामा जीपीएस जडित ट्यांक अर्लट जडान गर्ने लक्ष्य लिएको छ। पुराना योजनाहरूलाई मर्मत सम्भारका लागि गाउँपालिकामा मर्मत कोषसमेत राखिने छ। उक्त कोषको रकम बन्द हुन पुगेका खानेपानी योजनालाई मर्मतसम्भार गरेर पुनः सञ्चालनमा ल्याउन खर्च गरिनेछ।
प्रतिक्रिया दिनुहोस !