परिवारै अनागरिक

परिवारै अनागरिक
नागरिकताविहीन चन्द्रबहादुर शेर्पाको दैलेख ठाटीकाँध–३ स्थित घरमा पत्नी र छोराछोरी। तस्बिर सौजन्य : विशाल सुनार
सुन्नुहोस्

नागरिकता दिलाइदिन स्थानीय सरकार र नेताहरूसमक्ष हारगुहार गर्दा पनि कसैले चासो नदिएको उनको गुनासो छ। छरछिमेकीका सन्तान उच्च शिक्षा पढ्न जाँदा आफ्नाले पढ्न नपाउँदाको पीडाले सताउने गरेको उनको भनाइ छ।

दैलेख : उमेर करिब ५५ वर्ष पुगे पनि चन्द्रबहादुर शेर्पाले नागरिकता बनाउन सकेका छैनन्। पूर्वबाट घुम्दै फिर्दै आएर ठाटीकाँध गाउँपालिका–३ भुवाखाडामा बसोबास गर्ने उनीसँग जन्मदर्ता नै छैन। श्रीमती गगनी विकको भने माइतबाट बनाएको नागरिकता छ। तर, चन्द्रबहादुरको नागरिकता नहुँदा विवाह दर्ता हुन सकेन। जसकारण उनीहरूका ६ सन्तानका न जन्मदर्ता बने न त नागरिकता। 

परिवारै अनागरिकसरह बाँच्नुपरेको गगनीले बताइन्। ‘श्रीमान्को नागरिकता र बालबच्चाको जन्मदर्ता बनाउन वर्षौंदेखि धेरै प्रयास गर्‍यौ। न श्रीमान्को नागरिकता बन्यो न त बालबच्चाको जन्मदर्ता नै’, उनले भनिन्, ‘जन्मदर्ता नहुँदा बालबच्चाको नाम स्कुलमा लेखिँदैन। बालबच्चाले पढ्न नपाएको पीडा सम्झिँदा मन भक्कानिन्छ।’ 

उनीहरू जन्मदर्ता तथा नागरिकता पाउन ३५ वर्षदेखि संघर्ष गरिरहेका छन्। वर्षांैदेखि वडादेखि पालिकासम्म पटक–पटक धाउँदा पनि आफ्नो पीडा कसैले नसुनेको उनको गुनासो छ। नागरिकता र जन्मदर्ता बनाउन विभिन्न बहानामा वडा कार्यालय नै बाधक बनेको गगनीले बताइन्।

शेर्पा दम्पतीका सन्तान विद्यालय शिक्षाबाट वञ्चित भएका छन्। दुई छोरी पवित्रा (२५) र दीपा (२३) को विवाह भइसकेको छ। तर, उनीहरूले पनि विवाह दर्ता बनाउन सकेका छैनन्। अर्की छोरी १३ वर्ष पुगिन्। छोराहरू जीवन १६, राजन १२ र सुनील १० वर्षका छन्। 
‘मेरो नागरिकता नहुँदा छोराछोरीको जन्मदर्ता बन्न सकेको छैन। उनीहरूलाई पठनपाठनमा पनि उस्तै समस्या छ’, शेर्पाले भने, ‘यतिका वर्ष अनागरिक छौं। सरकार ! अब नागरिकता माग्न कहाँ जाऊँ ?’ 

नागरिकता दिलाइदिन स्थानीय सरकार र नेताहरूसमक्ष हारगुहार गर्दा पनि कसैले चासो नदिएको उनको गुनासो छ। छरछिमेकीका सन्तान उच्च शिक्षा पढ्न जाँदा आफ्नाले पढ्न नपाउँदाको पीडाले सताउने गरेको उनको भनाइ छ। ‘नागरिकता नहुँदा रोजगारीसमेत कसैले दिँदैन। परिवारको छाक टार्नै हम्महम्मे परिरहेको छ’, उनले भने। 

उनीहरूका सन्तान सरकारी विद्यालयमा पढ्न न्यूनतम् सेवासुविधाबाट बञ्चित भएका छन्। घरनजिकै जन आधारभुत विद्यालयमा औपचारिक भर्ना नभए पनि सबैले कक्षा ५ सम्म पढेको दुधाले बताइन्। ‘आफूभन्दा सानाहरू माथिल्ला कक्षामा जाँदा आफू उही कक्षामा बसेर पढ्नुपर्दा जेठी र माइली दिदीले पढाइ छोड्नुभयो’, उनले भनिन्। 

ठाटीकाँध–३ वडाध्यक्ष भरतबहादुर बमले शेर्पाको जन्मघर कहाँ हो भनेर नखुलेको सुनाए। उनका बुबाआमा वा घरपरिवारका कुनै पनि सदस्यको पहिचान नहुँदा समस्या भइरहेको बमको भनाइ छ। यो परिवारलाई जन्मदर्ता, नागरिकता दिलाउन आफूले जिल्ला प्रशासन कार्यालय धाइरहेको उनले सुनाए। ‘जिल्ला प्रशासन कार्यालयमा जाँदा कर्मचारीले बाटोमा हिँड्ने जो कोहीलाई नागरिकता दिन नसकिने जवाफ दिए’, उनले भने।
सहायक प्रधानाध्यापक खगेन्द्रबहादुर शाहीले यी बालबालिकाको भविष्य सुनिश्चित गर्न सरकारले चन्द्रबहादुरलाई नागरिकता दिएर सन्तानको पनि जन्मदर्ता बनाउनुपर्ने बताए।

घुम्दै फिर्दै दैलेखमा

चन्द्रबहादुर सानै उमेरमा आमासँगै पूर्वी नेपालबाट भारतको हिमाञ्चल प्रदेश पुगे। त्यहाँ रहँदा आमा अन्यत्रै विवाह गरेर गएपछि परदेशमा उनी एक्लिए। त्यसपछि दैलेखकै सरुने सुजीसँग भेट भयो। सुजीकै साथमा दैलेखको भुवाखाडामा आए। 

‘शेर्पा सानै हुँदा आमा अन्तै विवाह गरेर गइछन्। त्यहाँ कसले कसरी हुर्कायो थाहा भएन्। अली ठूलो भएपछि हामीसँग भेट भयो। सँगै काम गर्‍यौँ’, सुजीले भने, ‘जाने ठाउँ कहीँ नभएपछि मैले यहाँ (दैलेख) लिएर आएको हुँ।’ 

उनले गाउँमा भतिजी गगनी विकसँग विवाह गराइदिए। विवाहपछि शेर्पा ठाटीकाँध–३ विशालास्थित भुवाखाडामा बस्न थालेका हुन्। उनीसहित परिवार वर्षौंदेखि सोही गाउँमा बसोबास गरिरहेको वडाध्यक्ष बमले बताए।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.